बागलुङमा कोरोना भाइरस नियन्त्रणका लागि परीक्षण दायरा र स्वास्थ्यसेवा बढाउन सरोकारवालाहरूले प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीसँग माग गरेका छन् । उनीहरूले प्रजिअ कार्कीकहाँ डेलिगेसन गएर कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन् ।
नागरिक समाजका जिल्ला अध्यक्ष काजी गाउँले श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वसन्तकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष तथा नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले संयुक्त रूपमा प्रजिअ कार्कीलाई भेटेका हुन् ।
त्यस क्रममा कोरोनाको दोस्रो लहरलाई रोक्ने प्रभावकारी संयन्त्र बनाउन, स्वास्थ्य संस्था, सुरक्षा निकाय, स्थानीय पालिकाहरूलाई थप जिम्मेवार बनाउन आफ्ना तर्फबाट पूरा सहयोग हुने पत्रकार महासंघ बागलुङको अध्यक्ष नरेश कँडेलले बताए ।
कोरोनाको लक्षण भएका बिरामीको वडा र स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा परीक्षण बढाउन, विदेश तथा बाहिरी जिल्लाबाट आएकाहरूको स्वाब परीक्षण गर्न र तथ्यांक राख्न, हरेक पालिकामा होल्डिङ सेन्टर र आइसोलेसन कक्षको व्यवस्था गर्न, पर्याप्त स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी तयारी हालतमा राख्न र एक हप्ता कडाइपूर्वक लकडाउन गर्न माग गरेको नागरिक समाजका अध्यक्ष श्रेष्ठले बताए ।
अहिले विवाह र भोजले कोरोना संक्रमण बढेकाले यसलाई कडाइपूर्वक परिवारमा मात्र सीमित राख्न सरोकारवालाले सुझाएका छन् ।
भेटमा आमनागरिकको बाँच्न पाउने अधिकार, स्वास्थ्य–उपचारसम्बन्धी अधिकार र गुणस्तरीय सेवा पाउने अधिकारको रक्षा गर्न–गराउनका लागि सरोकारवालाहरूले प्रजिअको गम्भीर ध्यानाकर्षण गराएको नयाँ विश्व डटकमका सम्पादक मुकेश राजभण्डारीले
बताए ।
‘लकडाउन कडाइपूर्वक लागू गराउन, यातायात, वित्तीय क्षेत्र बन्द गर्न, बिहान मात्र सीमित समयमा किनमेल गर्न र सबै वडामा कडाइ गर्नेजस्ता सबै क्षेत्रमा प्रशासनको ध्यान जानुपर्ने सुझाव दिइएको छ,’ उनले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रयोगशाला र अस्पतालले कोभिड–१९ सम्बन्धी परीक्षण निर्देशिका तथा उपचार प्रोटोकल बमोजिम कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क रूपमा गर्नरगराउनका लागि आवश्यक व्यवस्था मिलाउन र फ्रन्टलाइनमा रहेर जोखिमपूर्वक काम गर्ने सबैको जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने माग पनि सरोकारवालाले गरेका छन् ।
यसै गरी प्रयोगशाला, अक्सिजन तथा भेन्टिलेटर, रेफरल, एयरलिफ्ट र एम्बुलेन्ससमेतका लागि आवश्यक व्यवस्था मिलाउन, होमक्वारेन्टाइन र आइसोलेसनमा रहेकाहरूको निगरानी तथा अनुगमन गरी थप जाँच वा उपचार आवश्यक पर्ने देखिए प्रयोगशाला र अस्पतालसँग समन्वय गरी उक्त स्थानसम्म पुर्याउने काममा सहजीकरण गर्न, स्थानीय तह, कारागार, सुरक्षाकर्मीका ब्यारेक तथा मानव सेवा आश्रमसमेतबाट स्वाब संकलनका लागि व्यवस्था मिलाउनुपर्ने सुझाव दिइएको छ ।
कोरोना संक्रमण तत्काल नियन्त्रणमा ल्याउन नसकिए जिल्लाभर ठूलो मानवीय संकट निम्तिने भन्दै सरोकारवालाले सजग गराएका छन् । नागरिकको स्वास्थ्य अवस्थामा गम्भीर अवस्थामा पुग्न लागेकोले उनीहरुको जिवनको रक्षा गर्न आवश्यक व्यवस्था मिलाउन र आवश्यक पूर्व तयारी गर्न बागलुङ उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष बसन्त कुमार श्रेष्ठले माग गरे ।
भेटमा प्रजिअ कार्कीले बागलुङमा तीव्र रूपमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट नियन्त्रण गर्न सबैसँग सहकार्य गर्ने बताए । वैशाख १९ गते जोरबिजोर प्रणाली लागू गर्ने र बागलुङ उद्योग वाणिज्य संघ र बागलुङ नगरपालिकाको पत्र आउनासाथ एक हप्तालाई बागलुङ नगरमा लकडाउने गर्ने तयारीमा रहेको उनले प्रस्ट्याए ।
‘सर्वसाधारण नागरिक र बालबालिकाहरूको जीवन गम्भीर संकटमा परेको बेला जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले रोकथाम र नियन्त्रणको सबै उपाय अपनाउनेछन्,’ उनले भने ।
कार्कीका अनुसार शान्ति समितिको कार्यालयलाई होल्डिङ सेन्टर बनाउन लगाई त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
बागलुङ नगरपालिकाले पनि बानपा–३ रात्माटामा रहेको नगरपालिकाको भवनमा ३५ बेडको आइसोलेसन बनाउन लागेको छ । मालढुंगा र खर्वाङमा हेल्थ डेस्क र तथ्यांक राख्ने काम भएको छ ।
सबै पालिकामा कोराना नियन्त्रणका लागि समन्वय भइरहेको र स्वास्थ्यकर्मी–चिकित्सकलाई चाहिने स्वास्थ्य सामग्री र औषधिहरू तत्काल आपूर्ति गर्न प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयमा माग गरिएको प्रजिअ कार्कीको भनाइ छ ।
बागलुङमा अहिले सक्रिय संक्रमितको संख्या १ सय ९ पुगेको छ । तीमध्ये १५ जना अस्पतालमा र बाँकी होम आइसोलेसनमा छन् ।
जिल्लामा गत वैशाख १५ गते एक महिलाको र १७ र १८ गते दुई पुरुषको मृत्यु भएको थियो । बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा कोरोना भाइरसका बिरामीका लागि २५ बेड छुट्ट्याइएको छ ।
जसमा आईसीयू एउटा, भेन्टिलेटेर तीनवटा र अक्सिजन सिलिन्डर ५० वटा छन् ।स्वाब परीक्षण गर्ने कित ५०० वटा मात्र रहेका छन् ।
अस्पतालमा गम्भीर खालका कोरोृनाको विरामीको संख्या क्षमताभन्दा बढी भएमा के गर्ने भन्ने विषयमा सरोकारवालाहरु र अस्पताल विकास समितिविच कुनै छलफल र तयारी नभएको धौलागिरि अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले नयाँ विश्वलाई बताए ।
बागलुङ नगुरपालिकाको स्वास्थ्य शाखामा ५ जना जनशक्तिले कोरोना रोकथाम र नियन्त्रणको लागि काम गरी रहेका छन् । ५ जना मध्ये २ जना काजमा ल्याइएका हुन भने चालक समेत संक्रमित भएर होम आइसोलेसनमा रहेको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।
धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन डा शैलेन्द्र वि पोख्रेलले आफनो नेतृत्वमा १५ जना जनशक्तिले कोरोना संक्रमित विरामिहरुको उपचार गरी रहेको बताएका छन् । त्यसमा २ जना सहयोगी,१० जना स्टाफ नर्स र २ जना विशषज्ञ चिकित्सक रहेका छन् ।
अस्पतालमा गम्भीर खालका संक्रमितको संख्या क्षमताभन्दा बढि आएमा चिकित्सक,स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको अभाव रहेको पोख्रेलले भने ।













































































































































































































