बागलुङमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिरहे पनि रोकथाम, उपचार र नियन्त्रणको पहल फितलो देखिएको छ । यस्तै अवस्था रहे भयावह स्थिति निम्तिन सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् ।
कोरोनाको पहिलो चरणमा एक–दुई संक्रमित देखिँदा पूरै जिल्ला लकडाउन गरिनुका साथै स्वास्थ्य टोली परिचालन गरिएकोमा अहिले दैनिक संक्रमण र मृत्युदर पहिलेभन्दा बढे पनि जिम्मेवारी लिनुपर्ने निकायहरू सुस्ताएका छन् ।
गत वर्ष पहिलो लहरको कोरोना संक्रमण सुरु हुँदा बढीजसो ज्येष्ठ नागरिक प्रभावित थिए । अहिले युवादेखि बालबालिकासम्म चपेटामा परेका छन् ।
दैनिक औसत २० जनाका दरले संक्रमित
दोस्रो चरणको संक्रमणको सुरुमा यसलाई सामान्य रूपमा लिइएकाले अहिले नियन्त्रणभन्दा बाहिर जाने संकेत देखा पर्न थालेको सरोकारवाला बताउँछन् ।
संक्रमण नियन्त्रणमा न सरकारको तयारी देखिएको छ न त अरू जिम्मेवार निकायहरू अघि सरेका छन् । नागरिकहरू पनि संवेदनशील देखिँदैनन् ।
अहिलेसम्म कोरोनाकै कारण जिल्लामा १३ जनाले ज्यान गुमाइसकेका छन् । अहिले सक्रिय संक्रमितको संख्या १ सय ३४ पुगेको छ । तीमध्ये १५ जना अस्पताल तथा स्वास्थ्यसंस्थामा र बाँकी होम आइसोलेसनमा छन् ।
दैनिक औसत २० जनाका दरले संक्रमितको संख्या वृद्धि भएको छ । सोमबार मात्रै जिल्लामा २६ जना नयाँ संक्रमित देखा परेका छन् । यसअघि बागलुङ बजारका विभिन्न ३ ठाउँबाट शंकास्पद व्यक्तिको स्वाब संकलन गर्ने गरिएकामा अहिले जनशक्ति अभाव भएकाले यो सेवा धौलागिरि अस्पतालमा मात्रै सीमित भएको छ ।
संक्रमित राख्ने अस्प्तालको क्षमता २५ बेडको मात्र
जिल्लामा गत वैशाख १५ गते एक महिलाको तथा १७ र १८ गते दुई पुरुषको मृत्यु भएको थियो । बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा कोरोनाका बिरामीका लागि २५ बेड छुट्ट्याइएको छ । जसमा आईसीयू एक, भेन्टिलेटर तीनवटा र अक्सिजन सिलिन्डर ५० वटा छन् । अहिले स्वाब परीक्षण गर्ने किट न्यून रहेको अस्पतालले जनाएको छ ।
गम्भीर खालका बिरामीको संख्या क्षमताभन्दा बढी भए के गर्ने भन्ने विषयमा सरोकारवाला र अस्पताल विकास समितिबीच कुनै छलफल र तयारी नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले नयाँ विश्वलाई बताए ।
स्वास्थ्यकर्मी,चिकित्सक र भवनको चरम अभाव
अहिले बागलुङ नगरपालिकाको स्वास्थ्य शाखामा कोरोना रोकथाम र नियन्त्रणका लागि जम्मा पाँच जना खटाइएका छन् । तीमध्ये दुई जना काजमा ल्याइएका हुन् । चालक संक्रमित भएर होम आइसोलेसनमा रहेको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।
धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेल आफ्नो नेतृत्वमा १५ जनाले कोरोना संक्रमितको उपचार गरिरहेको बताउँछन् । तिनमा दुई जना सहयोगी, १० जना स्टाफ नर्स र २ जना विशेषज्ञ चिकित्सक छन् ।गत वर्ष १५,२० जना विशेषज्ञ चिकित्सकहरुले कोरोनाका विरामिहरुको सेवा गरि रहेको थियो ।
पहिलो चरणको संक्रमण फैलिँदा पर्याप्त जनशक्ति भए पनि दोस्रो लहर देखापरेका बेला जनशक्तिको अभाव रहेको डा पोखरेलले बताए ।‘अस्पतालमा गम्भीर खालका संक्रमितको संख्या क्षमताभन्दा बढी आए विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीले थेग्ने अवस्था छैन,’ उनले भने । धौलागिरि अस्पतालमा कोरोना संक्रमितका लागि २५ बेड छुट्ट्याइएका छन् ।
संक्रमण नियन्त्रण गर्न बागलुङ नगरपालिकामा २१ गते बिहान ६ बजेदेखि जारी हुने गरी १० दिनका लागि निषेधाज्ञा लगाइँदै छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले यस्तो निर्णय लिएको हो ।
समितिले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न आग्रह गरेको छ भने दैनिक उपभोग्य वस्तुसहित अत्यावश्यक सेवाका पसलहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
नयाँ भेरियन्ट नियन्त्रण गर्न सबैसँग सहकार्य गछौं : प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की
तर समितिले गरेको निर्णय प्रभावकारी नभएको नागरिक स्तरबाट गुनासो आउन थालेको छ । बंैक तथा वित्तीय संस्था खोल्न दिइने भएकाले बजारमा भिडभाड पहिलेजस्तै हुन सक्ने भन्दै उनीहरूले लकडाउन फितलो बन्न दिन नहुनेमा जोड दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बागलुङमा तीव्र रूपमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट नियन्त्रण गर्न सबैसँग सहकार्य गर्ने बताए । वैशाख १९ गतेबाट जोरबिजोर प्रणाली लागू गरिएको जनाउँदै उनले बागलुङ उद्योग वाणिज्य संघ र बागलुङ नगरपालिकाको आग्रहमा १० दिनका लागि बागलुङ नगरमा लकडाउने गर्ने तयारी गरिएको बताए ।
‘सर्वसाधारण नागरिक र बालबालिकाको जीवन गम्भीर संकटमा परेको बेला जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले रोकथाम र नियन्त्रणका सबै उपाय अपनाउनेछन्,’ उनले भने ।
पूर्व तयारी छैन् रोकथामको काम झन सुस्थ
कार्कीका अनुसार बाङेचौरको खेलकुद भवनमा होल्डिङ सेन्टर बनाउन लगाई त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने भने पनि सो को कुनै तयारी भएको छैन् ।
बागलुङ नगरपालिकाले पनि बानपा–३ रातमाटामा रहेको नगरपालिकाको भवनमा ३५ बेडको आइसोलेसन बनाउने भने पनि तयारी सारै सुस्थ देखिएको छ ।
बागलुङ नगरपालिका वडा नं १ मालढुंगामा हेल्थ डेस्क छैन् यस विषयमा नगर स्वास्स्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भने गत कोरोनाको समयमा हेल्थ डेस्कले प्रभावकारी काम गर्न नसकेकोले अहिले नराखिएको जानकारी दिए ।
बडिगाड गाउँपालिका वडा नं २ हाडिखोला बजारमा हेल्थ डेस्क राख्ने र तथ्याक राख्ने काम भएको छैन् ।गुल्मी,पाल्पा,रुपन्देही र भारतबाट नेपालीहरु आउने मुख्य व्यस्त नाका भए पनि यस विषयमा आजसम्म बडिगाउँ गाउँपालिकाले कुनै पहल गरेको छैन् ।
हामीले यस विषयमा तयारी गरी रहेको छौं, छिटटै हेल्थ डेस्क राख्न लागेको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले नयाँ विश्वलाई बताए ।संक्रमण फैलिन लाएको भनि बडिगाड गाउँपालिका वैशाख २१ गतेदेखि २८ गतेसम्मको लागि निषेधज्ञा हुने भएको छ ।
गत वर्ष स्वाब लिने काम बागलुङ नगरपालिका वडा नं १ रामरेखाको रामरेखा प्राथमिक विद्यालय,धौलागिरि बहुमुखी क्याम्पस र धौलागिरि अस्पतालबाट स्वाब संकलन हुने गरेकोमा अहिले स्वास्थ्यकर्मीको र स्वास्थ्य सामग्रीको अभावमा धौलागिरि अस्पतालबाटै मात्र स्वाब संकलनको काम भएको छ ।
स्थानीय सरकार र जनप्रतिनिधि झन जिम्मेवार बन्नु पर्ने बेला
संक्रमणको नयाँ लहर आउँदा पनि बागलुङको दशवटै स्थानीय पालिका मात्र हैन म्याग्दी,मुस्ताङ र पर्वत जिल्लाले समेत मिलेर कोरोनालाई परास्त गर्न उच्च व्यवस्थापन र राम्रो पूर्वतयारी गर्नु पर्नेमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणको जिम्मा जनस्वास्थ्य कार्यालय,अस्पताल,स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाहरुको मात्र जिम्मा लगाउनु गम्भीर भुल हुने नागरिक समाज र विशेषज्ञहरुको सुझाव रहेको छ ।
जनसमुदायलाई सचेत र सबै सरोकारवालाहरुसँग सहकार्य गरेर नागरिकको स्वास्थ्यको रक्षा गर्नु पर्ने काममा सरकार,प्रदेश सरकार र पालिकाका जनप्रतिनिधिहरु झन जिम्मेवार हुनु पर्ने बेला आएको छ ।













































































































































































































