
फाइल तस्बिर
बागलुङ– शुक्रबार बिहान मात्र बागलुङ नगरपालिका–४ उपल्ला चौरका ७८ वर्षीय व्यक्तिको कोरोनाले मृत्यु भएको छ । उनलाई कोरोनासँगै उच्च रक्तचाप, मधुमेहको समस्यासमेत रहेको धौलागिरि अस्पतालका डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए । उनलाई २० गते संक्रमण पुष्टि भएको थियो ।
कोरानाकै कारण बागलुङ नगरपालिका–११ रायडाँडाकी ६१ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा वैशाख १५ गते मृत्यु भयो । यी केही उदाहरण मात्र हुन् ।
बागलुङमा कोरोनाले ज्यान गुमाउनेहरूको सूची यसभन्दा निकै लामो भइसकेको छ ।काठेखोला गाउँपालिकाले दोस्रो लहर सुरु भएपछि आफ्ना दुई नागरिक गुमाइसक्यो । जैमिनी नगरपालिकाले पनि २२ वर्षीय युवक गुमायो ।
कोरोनाले युवादेखि ज्येष्ठ नागरिकसम्मलाई निसाना बनाइरहे पनि यसलाई नियन्त्रण गर्ने दिशामा पालिकाहरूको तयारी तथा व्यवस्थापन भद्रगोल देखिन्छ ।
प्रायः कुनै पनि पालिकाले कोरोना रोकथाम, परीक्षण र नियन्त्रणको काम प्रभावकारी बनाउन समन्वय र सहकार्य थालेका छैनन् । ‘यसले गर्दा धेरै सक्रिय संक्रमितहरू जोखिममा छन्,’ पोखरेलले नयाँ विश्वसँग भने ।
छिमेकी मुलुक भारत र देशकै विभिन्न जिल्लामा कोरोनाको दोस्रो भेरियन्ट डढेलोझैं फैलँदा यहाँका स्वास्थ्यसंस्थाले बेडसम्म थपेका छैनन् । पछिल्ला दिन बागलुङ नगरमा मात्र दैनिक ३० जनाका दरले कोरोना संक्रमित थपिइरहेका छन् ।
दोस्रो लहरपछि बागलुङमा ५ जनाले ज्यान गुमाएका छन् । सक्रिय संक्रमितको संख्या २ सय ४२ पुगेको छ । बागलुङ नगरपालिकामा १ सय १९ जना संक्रमित पुगेका छन् ।
बागलुङ बजारमा मात्रै संक्रमित ७९ जना छन् । पछिल्लो तथ्यांकअनुसार बागलुङ नगरमा दैनिक २५ जनाका दरले संक्रमित थपिइरहेका छन् ।
सोमबार ताराखोला गाउँपालिका–३ की ३० वर्षीया तेजुमाया भण्डारी परियारले कोरोनाकै कारण ज्यान गुमाइन् । कोरोना संक्रमणपछि उनका दुवै फोक्सोले काम गर्न छोडको अस्पतालले जनाएको छ ।
सातादिनसम्म पसलबाट आफूखुसी औषधि किनेर खाएकी उनी रोगले च्यापेपछि १८ गते मात्र अस्पताल पुगेकी थिइन् । स्थानीय तहमा यस्ता बिरामीलाई समयमै अस्पताल पु¥याउने संयन्त्र हुन्थ्यो त उनको ज्यान जोगिन पनि सक्थ्यो ।
पालिका स्तरमा संक्रमितप्रति गाम्भीर्य र प्रभावकारी व्यवस्थापनको अभाव दर्साउने यो एउटा प्रतिनिधि घटना हो ।अहिले बागलुङ नगरपालिकाको स्वास्थ्य शाखामा कोरोना रोकथाम र नियन्त्रणका लागि जम्मा पाँच जना खटाइएका छन् ।
तीमध्ये दुई जना काजमा ल्याइएका हुन् । कोरोनाको बढ्दो आँकडाको तुलनामा यो संख्या अत्यन्तै कम हो । तर स्वास्थ्य शाखामा जनशक्ति थप्न कुनै गृहकार्य देखिँदैन ।
तीमध्ये एक जना चालक रहेको र उनी पनि संक्रमित भएर होम आइसोलेसनमा रहेको नगर स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनालले बताए ।
कोरोनाले छपक्कै छोपिसक्दा बल्ल आएर नगरपालिकाको भवनमा आइसोलेसन बनाउन नगरका स्वास्थ्य संस्थाहरूमा रहेका स्वास्थ्यकर्मीलाई झिकाउने तयारी थालिएको छ ।
तर गम्भीर संक्रमितहरूको संख्या बढ्यो र धौलागिरि अस्पतालले थेगेन भने रिफर गर्नेबाहेक थप तयारी बागलुङ नगरपालिकासँग देखिँदैन ।
उदासीनता यतिसम्म बढेको छ कि छिमेकी मुलुक भारत र देशकै विभिन्न जिल्लामा कोरोनाको दोस्रो भेरियन्ट डढेलोझैं फैलँदा यहाँका स्वास्थ्यसंस्थाले बेडसम्म थपेका छैनन् ।
यस्तो विकराल र आपतकालिन अवस्थामा पनि धेरै पालिकाहरुका एम्बुलेन्ससम्म छैन भनेर कतिपय संस्थाहरु जस्ले एम्बुलेन्स संचालन ल्याएको छ त्यहाँ चालक नपाएर ठूलो समस्या आएको छ ।
पहिलो कोरोना लहरमा बागलुङ जिल्लामा ११ जनाले ज्यान गुमाएका थिए । तिनमा ४ जना बागलुङ नगरपालिकाका नागरिक थिए ।
कोरोनाविरुद्ध लड्न कस्तो छ त पालिकाहरूको तयारी ? पालिकाकै प्रतिनिधिहरूको शब्दमा :
०००
गत वर्षको अनुभवले पूर्वतयारीमा ध्यान केन्द्रीत गरेका छौं : काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा
काठेखोलामा जनचेतना र स्वाब परीक्षणलाई सँगै लगेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए ।
‘१० बेडको स्वास्थ्यकर्मी र अक्सिजनसहितको आइसोलेसन बनाएका छौं । सक्रिय संक्रमितका लागि धौलागिरि अस्पतालसँग समन्वय गरिरहेका छौं,’ उनले भने ।
पहिलो लहर आउदा कोरोनको विषयमा हामीलाई धेरै ज्ञान थिएन् तयारी पनि पुगेको थिएन् । यसपालि नागरिकको जीवन रक्षा गर्न गत वर्षको अनुभवले पूर्वतयारीमा ध्यान केन्द्रीत गरेका छौं यसका सबैको सहयोग र समन्वय जरुरी छ ।
‘संक्रमणको दोस्रो लहर आएअनुसार तयारी नपुगेको साँचो हो तर हाम्रो प्रयास जारी छ,’ : बागलुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली
बागलुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले भने नगरपालिकाले आफ्नो क्षमताअनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि कोसिस गरिरहेको बताए ।
उनका अनुसार रातमाटामा ३५ बेडको आइसोलेसन तयार भएको छ । त्यहाँ अक्सिजन र स्वास्थ्यकर्मी व्यवस्था गरिँदै छ ।गरिएको छ । शुरुमा ५ बेडमा अक्सिजनको व्यवस्था गरेका छौं अरु आवश्यकता अनुसार स्वास्थ्य शाखाले तयारी गर्दै छन् ।
‘संक्रमणको दोस्रो लहर आएअनुसार तयारी नपुगेको साँचो हो तर हाम्रो प्रयास जारी छ,’ उनले भने, ‘धौलागिरि अस्पतालको क्षमताले नभ्याउने गरी सक्रिय संक्रमित आए भने के गर्ने भन्नेबारेमा नगर प्रमुख, उपप्रमुख र जिल्लाका सरोकारवालाहरूले कसरी सोचिरहेका छन्, मलाई सबै थाहा भएन किनकि म आफैं संक्रमित भएर अहिले पोखरामा छु ।’
दैनिक मानवीय क्षति हुँदा पनि मुखैमा आएको कोरोना रोकथाम, परीक्षण र नियन्त्रणको काम प्रभावकारी ढंगले अगाडि बढाउन समन्वय, सहकार्य, व्यवस्थापनका काम नभएको व्यापक जनगुनासो छ ।
जोखिम बढिहाले थेग्न सक्ने सामग्री र जनशक्ति छैनन् : हरिप्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत, गलकोट नगरपालिका
अहिले जिल्लाभर कोरोना संक्रमण फैलिरहेको छ । हामी पनि अस्थायी कोभिड अस्पताल चलाउने तयारीमा लागेका छौं । यसकै लागि सामान व्यवस्था गर्न अहिले पोखरा आएको छु ।
गलकोट नगरपालिकासँग एम्बुलेन्स त छ तर शववाहन छैन । केही दिनदेखि स्वाब संकलन गर्ने कामलाई अघि बढाएका छौं । बुधबार ४८ जनाको स्वाब संकलन गरेर पठाएकोमा २० जनामा कोरोना देखियो ।
हाम्रोमा अहिलेसम्म गम्भीर खालका संक्रमित खासै छैनन् । तर जोखिम बढिहाले त्यसलाई थेग्न पुग्ने जनशक्ति र सामग्रीको जोहो भइसकेको छैन । जटिल बिरामीलाई सामान्य अक्सिजन दिएर राख्ने वा अन्यत्र पठाउनेभन्दा अरू उपाय छैन ।
मेयर आफैं संक्रमित भएर केही दिनअघि मात्र डिस्चार्ज हुनुभएको छ । त्यसैले अब अस्पताल बनाउने तयारीमा छौं ।
एक जनाको मृत्यु भएपछि सजगता अपनाइएको छ : प्रकाश घर्ती, अध्यक्ष, ताराखोला गाउँपालिका
हामीले कोरोनाको पहिलो लहरका बेला बनाइएका क्वारेन्टाइन फेरि सञ्चालनमा ल्याएका छौं । विदेशबाट आउनेहरूलाई अनिवार्य क्वारेन्टाइनमा राखेर हेरचाह गर्छौं ।
गाउँपालिकाको बहूद्देश्यीय सभाहललाई ५ बेडबाट थप गरी १७ बेडको अस्थायी कोभिड अस्पताल बनाएका छौं । सिकिस्त बिरामीका लागि अक्सिजनसहितका ६ वटा मेसिन छन् । प्रोटोबल मेसिन दुईवटा छन् । बिरामीका लागि एक जना डाक्टर र ३ जना स्फार्ट नर्स खटिइरहनुभएको छ ।
कोरोनाबाट कार्यपालिका सदस्यकै मृत्यु भएपछि जनतालाई पनि सजगता अपनाउनुपर्ने रहेछ भन्ने लागेको छ । गाउँपालिकाले स्वाब संकलन गर्ने कामलाई पनि तीव्रता दिएको छ ।
अहिले एक जना पोखरामा उपचार गराइरहनुभएको छ । ११ जना होम आइसोलेसनमा हुनुहुन्छ । १९ जना कोभिडको अस्थायी अस्पतालमा हुनुहुन्छ । संक्रमितलाई गाउँपालिकाले खानाखाजाको व्यवस्थासहित आवश्यक काउन्सिलिङ गरिरहेको छ । सिकिस्त बिरामीलाई अस्प्ताल लैजान एम्बुलेन्स तयारी हालतमा छ ।
कोभिडकै लागि डाक्टरसहित सात जनाको टिम खटाएका छौं : चुडामणि कँडेल, जनस्वास्थ्य निरीक्षक, बडीगाड गाउँपालिका
गुल्मी जिल्लासँग सिधा जोडिएको नाका हो बडिगाड गाउँपालिका । अहिले यहाँका प्रत्येक समुदायमा संक्रमित छन् भन्ने हाम्रो बुझाइ छ । त्यसैले स्वाब संकलन गर्ने कामलाई तीव्रता दिएका छौं । खर्बाङसँग जोडिएको नाकामा हेल्प डेस्कसहित प्रहरीलाई बाहिरबाट आउने नागरिकको अनुगमन गर्न जिम्मा दिएका छौं ।
गाउँपालिकाले १० बेडको आइसोलेसन वार्ड निर्माण गर्दै छ । तर हामीसँग अक्सिजन पर्याप्त छैन । विदेशबाट आएकालाई घरमा छुट्टै बस्नुस् भनेका छौं तर निगरानी गर्ने संयन्त्र छैन । सरकारले २० दिनअघि नै लकडाउन गरिदिएको भए हामीलाई सहज हुने थियो । संक्रमण फैलिसकेकाले अहिले केही गाह्रो परिस्थिति छ ।
स्वाब संकलन गरेर परीक्षण गर्दा ४२ जनामा पोजिटिभ देखिएको छ । उहाँहरू अहिले होम आइसोलेसनमा हुनुहुन्छ । एक जनाको मृत्यु भइसकेको छ ।
दुई जनाको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार धौलागिरि अस्पताल पु¥याएका छौं । कोभिडकै लागि अहिले एक जना डाक्टरसहित ७ जना खटाएका छौं । अब गाउँपालिकाले निर्माण गरेको आइसोलेसनमै उपचार सुरु गर्ने तयारीमा छौं ।
२५ बेडको आईसीयू बेड बनाउँदै छौं : डिल्लीराम भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, ढोरपाटन नगरपालिका
ढोरपाटन नगरपालिकामा अहिले निषेधाज्ञा रहेकाले मान्छेहरू बाहिर कमै निस्किएका छन् । ५ बेडको आईसीयू तयारी अवस्थामा राखेका छौं ।
अब २५ बेडको आईसीयूसहित ५० बेडको आइसोलेसन बार्ड निर्माण गर्दै छौं । भीटीएम अभाव रहेकाले स्वाब परीक्षणको काम सुरु भइसकेको छैन । गम्भीर खालका बिरामी आए अरू ठाउँ पठाउन दुईवटा एम्बुलेन्स तयारी अवस्थामा छन् ।
विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न भनेका छौं । त्यसको अनुगमन जिम्मा वडाका जनप्रतिनिधिलाई दिएका छौं । अहिलेसम्म कोभिडका बिरामी देखिएका छैनन् । तयार भएका बेडहरू खाली नै छन् ।
हामीकहाँ समुदायमा फैलिसकेको छैनजस्तो लाग्छ : जोकलाल बुढा, अध्यक्ष, तमानखोला गाउँपालिका
कोभिडका बिरामीका लागि १० बेडको अक्सिजनसहितको आइसोलेसन कक्ष तयारी अवस्थामा छ । विदेशबाट मानिसहरू आउने क्रम चलिरहे पनि यकिन डाटा छैन ।
यद्यपि वडामा रहेको विपद् व्यवस्थापन समितिले त्यसको निगरानी गरिरहेको छ । गाउँपालिकामा डाक्टर नभएकाले अन्य स्वास्थ्यकर्मीकै भरमा चलाइरहेका छौं ।
यहाँ पहिलो चरणमा गरिएको पीसीआर परीक्षणमा दुई जनालाई कोरोना पोजिटिभ देखिएको छ । शंकास्पद अन्य व्यक्तिहरूको पनि परीक्षणको तयारी भइरहेको छ ।
पालिकाभित्र अहिले रुघाखोकी, ज्वरोका बिरामी भए पनि परीक्षण गर्दा मौसमी फ्लु भएको पाइएको छ । स्रोत–साधनको अभाव रहेकाले गम्भीर समस्या आए हेरेर बस्नुको विकल्प छैन । बिरामी बोक्नका लागि एम्बुलेन्स नभए पनि गाडी भने स्ट्यान्डबाई राखेका छौं ।
पाँच बेडको आइसोलेसन बनायौं तर डाक्टर छैनन् : ईश्वरलाल शाक्य, प्रमुख प्रशासकीय अधिकृत, निसीखोला गाउँपालिका
पालिकामा अहिलेसम्म चार जनामा कोरोना पोजिटिभ देखिएको छ । तर उनीहरूको बाहिरै परीक्षण भएको हो । पालिकामा गरिएको पहिलो चरणको परीक्षणमा भने कसैलाई पोजिटिभ देखिएको छैन ।
आज २० जनाको स्वाब संकलन गरेर बागलुङ पठाएका छौं । कोभिड अस्थायी अस्पताल भनेर पाँच बेडको आइसोलेसन निर्माण गरेका छौं । तर अहिलेसम्म डाक्टर छैनन् । स्टाफ नर्स मात्र छन् । विदेशबाट १२ जना आएका छन् ।
उनीहरूलाई होम आइसोलेसनमा रहने व्यवस्था गरी अनुगमनका लागि प्रत्येक वडालाई निर्देशन दिइएको छ । एम्बुलेन्स खरिद गर्ने तयारी भइरहेको छ । त्यसअघिलाई भाडाको गाडीले काम चलाइरहेका छौं ।
१२ बेडको आइसोलेसन र स्वास्थ्यकर्मी तयारी हालतमा छन् : ज्ञानराज कोइराला प्रमुख प्रशासकिय अधिकृत जैमिनी नगरपालिका
हामीले कुश्मिशेराको प्राथमिक स्वास्थ्य केन्द्रमा १२ बेडको आइसोलेसन बनाएका छौ । ४ जना होमआइसोलेसनमा छन् । स्वास्थ्य सामग्री र एम्बुलेन्स तयारी हालतमा राखेका छौ ।
गत वर्षको कोरोनोबाट सिक्दै पूर्वतयारीमा ध्यान केन्द्रीत गरेपनि भने जस्तो भएको छैन् तर हाम्रो प्रयास जारी छ । स्वास्थ्य सामग्रीको प्रयाप्त जोहो गरेका छौ ।
संक्रमण नफैलियोस भनेर आज मात्र विनामारेमा स्वाब संकलनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएका छौ ।एक जना युवालाई हामीले गुमाएका छौ । यस घटनालाई हामीले गम्भीरता पूर्वक लिएका छौ ।
नागरिकको जीवन रक्षा नै हाम्रो पहिलो प्राथमिकता : कृष्ण प्रसाद शर्मा अध्यक्ष बरेङ गाउँपालिका
हामीले विद्यालयका प्रधानाध्यापकहरुलाई संयोजनक तोकेर वडा र टोलमा जनचेतनामुलक कार्याक्रम चलाएका छौं । हुग्दीशिर स्वास्थ्य चौकी ५ बेड आइसोलेसन बनाएका छौ र त्यहाँ ३ जना संक्रमितको उपचार भइ रहेको छ ।
हामीले धौलागिरि अस्पतालसँग समन्वय भएको छ । बरेङ बजारको सामुदायिक भवन र कर्भर हलमा आइसोलेसन बनाउने काम अगाडि बढेको छ र स्वाब परीक्षण र तथ्याक संकलनको कामलाई त्रीबता दिएका छौ तर संक्रमण छिटो फैलिएको कारण हामी धेरै चिन्तित छौं । यस आपतकालको बेलामा नागरिकको जीवन रक्षा नै हाम्रो पहिलो प्राथमिकता हो ।