जिल्लाकै संक्रमित थेग्न मुस्किल भइरहँदा बागलुङस्थित धौलागिरि अस्पतालमा बाहिरी जिल्ला र काठमाडौं उपत्यकाबाटसमेत कोरोनाका गम्भीर बिरामी आउन थालेका छन् ।
तर अस्पताल व्यवस्थापन समिति ती बिरामीलाई सहज उपचार दिने विकल्प खोज्नु साटो अनेक बहानाबाजी गरिरहेको छ ।
श्वासप्रश्वासको विरामीले आईसीयू पाउनै मुश्किल
मंगलबारसम्म अस्पतालमा कोरोनाका २७ जना बिरामी छन् । आइसोलेसन बेडको संख्या भने जम्मा २५ छ । आइसोलेसनमा ठाउँ नपुगेर दुई जनालाई इमरजेन्सी वार्डमा राखिएको छ ।
आईसीयूमा तीन जना रहेका छन् । श्वासप्रश्वासको समस्या भएका ६ जना गम्भीर संक्रमितलाई आइसोलेसनबाट आईसीयू लैजान सकिएको छैन ।
कोरोना कहरको बेला व्यवस्थापन समितिको ध्यान किन गएन आइसोलेसन विस्तारमा ?
आइसोलेसन विस्तार गर्न सकिने उपाय हुँदाहुँदै पनि अस्पताल प्रशासन र व्यवस्थापन समितिले उदासीनता देखाएको स्थानीयको आरोप छ । अस्पतालको क्षमता विस्तारका लागि प्रदेश सरकारले उपलब्ध गराएको सय बेड स्टोरमा थन्किएका छन् ।
तिनमा माकुराले जालो लगाइसकेको छ । अस्पतालको निर्माणाधीन भवन अझै तयार भएको छैन । अस्पताल व्यवस्थापन समिति भने आफूसँग पूर्वाधार निर्माण गर्ने क्षमता नरहेको भन्दै रकम माग गरिरहेको छ ।
निर्माणाधीन ‘सी ब्लक’ भवन अलपत्र परेकाले बेड जडान गर्न नसकिएको व्यवस्थापन समितिका अध्यक्ष केपी राना बताउँछन् । ‘सरकारले
दिएको बेड हामीसँग छ, बन्दै गरेको भवन हस्तान्तरण नहुँदा हामीले जडान गर्न सकेका छैनौं,’ उनले भने, ‘निर्माणाधीन भवनको छतमा ट्रस हालेर बेड जडान गर्ने भनेका छौं तर प्रदेश सरकारले पैसा दिएको छैन ।’
किन लागूू भएन जिल्ला कोभिड विपद् व्यवस्थापन समितिको निर्णय ?
जिल्ला कोभिड विपद् व्यवस्थापन समितिको बैठकले निर्माणाधीन अवस्थामा रहेको सोही भवनमा बेड विस्तार गरेर बिरामीको उपचार गर्ने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बिरामीको चाप बढ्दै गएपछि निर्माणाधीन भवनमा बेड जडान गरी उपचार सुरु गर्ने निर्णय भएको बताए । तर व्यवस्थापन समितिले अस्पतालको बेड भरिए के गर्ने भन्ने केही तयारी गरेको छैन ।
‘कोभिड विपद् व्यवस्थापन समितिको बैठकले बेड जडान गरी उपचार सुरु गर्ने निर्णय गरेको थियो,’ प्रजिअ कार्कीले भने, ‘पछि अस्पताल प्रशासनले त्यहाँ टेक्निकल समस्या भयो भन्दै छतमा ट्रस हाल्ने कुरा गरिरहेको छ ।’
संम्भव छ ओपीडी वार्डमै अस्थायी रूपमा थप ५० जना कोरोना विरामी राख्न
अहिले धौलागिरि अस्पतालको ओपीडी वार्डमा अक्सिजनसहितको व्यवस्थापन भए अस्थायी रूपमा थप ५० जना कोरोना बिरामीको उपचार गर्न सकिन्छ । तर अस्पतालले बिरामीको चाप थेग्न मुस्किल परेपछि संक्रमितहरूलाई घरमै बस्न आग्रह गरेको छ ।
जबकि ठेकेदारले हस्तान्तरण गरिनसकेको सी ब्लक भवनलाई पनि आपत्कालीन हिसाबले उपयोगमा ल्याउन सकिन्छ । कोरोनाले घेरिसकेको आपत्कालीन अवस्थामा पनि अस्पताल व्यवस्थापन समितिको रुचि भने पूर्वाधार निर्माण र सामान खरिदतिरै बढी देखिन्छ ।
कोरोना कहरको संगीन घडिमा अस्पताल व्यवस्थापन समितिले लाभहानी नसोचेर नागरिकको जीवन बचाउन लाग्नु पर्ने बेला आएको छ ।
किन माग गरे अध्यक्ष रानामगरले ट्रस राख्न ८० लाख ? तत्काल संम्भव छैन ट्रस बनाउन
व्यवस्थापन समिति अध्यक्ष केबी रानामगरले बन्दै गरेको भवनको छतमा शय्या विस्तारका लागि ट्रस राख्न ८० लाख रुपैयाँ माग गरेका छन् । तर त्यति ठूलो रकम पर्खिरहँदा तत्काल ट्रस बनाउन सम्भव छैन । रकम आइहाले पनि ट्रस हाल्ने काम तीन–चार महिनामा समेत सकिने देखिँदैन ।
यो अवधिमा कोरोनाका कारण ठूलै क्षति बेहोर्ने अवस्था बनिसक्छ । कोरोनाले गर्दा श्रमिकहरू पाउन मुस्किल छ भने त्यति ठूलो रकम तत्काल स्थानीय र प्रदेश सरकारबाट विनियोजित हुने अवस्था छैन ।
स्रोतका अनुसार व्यवस्थापन समितिले अक्सिजन प्लान्ट मर्मत नगरी अक्सिजन सिलिन्डर खरिदका लागि भैरहवाको एक कम्पनीलाई ५ लाख रुपैयाँ पठाएको छ । मर्मत गरेर सञ्चालन ल्याउन सकिने अक्सिजन प्लान्ट रकम अभावको कारण देखाउँदै सिलिन्डर खरिद गर्न लागिएको हो ।
छैन कोरोना व्यवस्थापन सम्बन्धी दिगो रणनीति र गतिलो कार्य योजना : अधिवक्ता शर्मा
यस्तो संकटको बेलामा अस्पताल प्रशासन र व्यवस्थापन समितिले कोरोनाको विरामी बारेमा दिगो रणनीति र गतिलो कार्य योजना नबनाएको अधिवक्ता राम शर्माले बताए ।
मानवियतालाई उच्च महत्व दिएर नागरिकको जीवन रक्षाको लागि तत्काल बेड विस्तार र थप चिकित्सक र स्वाथ्यकर्मीको व्यवस्था गनु पर्र्ने शर्माले भने ।
कमी–कमजोरी भए सच्याउन पहल गर्ने : मेयर पौडेल
‘अस्पतालमा कोरोनाका बिरामीको संख्या वृद्धि भए तत्काल दश–पन्ध्र बेड विस्तार गर्न हामीले अस्पताल प्रशासन र व्यवस्थापन समितिलाई भनेका छौं,’ बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले नयाँ विश्वलाई भने, ‘नगरपालिकाको आइसोलेसन पनि छ ।
थप जनशक्ति, स्वास्थ्य सामग्री र पूर्वाधार निर्माणका लागि प्रदेश सरकारसँग पनि माग गरेका छौं ।’ नागरिकको जीवन बचाउन धौलागिरि अस्पतालमा आवश्यक सेवासुविधाका लागि सहकार्य गर्ने र केही कमी–कमजोरी भए सच्याउन पहल गर्ने पौडेलले बताए ।
चिकित्सक र स्वास्थ्यकर्मीहरुमा मानसिक र शारीरिक तनाव र थकान उच्च
कोरोना कहरको दोश्रो लहर आएको एक महिना विति सक्दा पनि प्रमुख मेडिकल सुपरिन्टेडन शैलेन्द्र वि पोख्रेलको टिमले उच्च मनोबलका साथ कोरोना संक्रमितहरुको उपचारमा संलग्न छन् ।
गत वर्षभन्दा अहिले अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यापक कमी छ तर विरामीको चाप उच्च छ ।
निरन्तर उपचारमा समय खर्चदा चिकित्सक र स्वास्थ्यकर्मीहरुमा मानसिक र शारीरिक तनाव र थकान देखिन्छ । उनीहरुमा कामको व्यस्थता,विरामीलाई बचाउन नसकिएको तनाव,संक्रमणको डर र आरामको कमी देखिएको छ ।
यस विषयमा सरोकारवालाहरुले खासै ध्यान दिएका छैनन् भने स्थानीय पालिकाहरुमा रहेका जनशक्तिहरुलाई समेत आपतकालीन रुपमा अस्पतालमा प्रयोग गर्ने विषयमा जिम्मेवार निकायको सोच्ने बेला आएको छ ।













































































































































































































