३ श्रावण २०८३, आईतवार

 

धौलागिरि अस्पतालमा भेन्टिलेटर नपाएपछि ४ लाख ३० हजार तिरेर कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत पोखरा लगियो

फाइल फाेटाे

धौलागिरि अस्पतालमा रहेको सघन उपचार कक्षा र भेण्टिलेटर खाली नभएपछि कोरोना संक्रमितलाई हेलिकप्टरमाफर्त पोखरा लगिएको छ ।

बुधबार बडिगाड गाउँपालिका–६ का ४० वर्षीय पुरुषलाई अक्सिजनको मात्रा निकै कम भएपछि मनाङ एयरको हेलिकप्टरमाफर्त पोखरा लगिएको हो ।

‘यहाँ आईसियू र भेन्टिलेटर खालि छैन्, त्यहाँ रहनुभएका सबैको अवस्था उस्तै छ’ अस्पतालका मेसु डा. शैलेन्द्र बिक पोखरेलले भने ‘अवस्था गम्भिर भएकाले परिवारले लैजान्छु भन्नुभयो, हामीले पठायौं ।’

होम आइसोलेसनमा उपचार गराइरहेका उनको श्वासप्रश्वासमा ठूलो समस्या रहेको अस्पतालले जनाएको छ ।

स्रोतका अनुसार मनाङ एयरको हेलिकप्टरले ४ लाख ३० हजारमा बागलुङबाट विरामीलाई पोखरा लगेको हो । एक स्वास्थ्यकर्मीका अनुसार विरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने देखियो, तर यहाँ खाली नहुँदा परिवारले ४ लाख ३० हजार तिरेर हेलिकप्टरमार्फत पोखरा लगेका हुन् ।

संक्रमितलाई लिन काठमाडाैंबाट हेलिकप्टर बागलुङ पुगेकाे थियाे ।मणिपाल शिक्षण अस्पताल पोखराले भेन्टिलेटर उपलव्ध गराउने भएपछि उनलाई पोखरा पठाइएको हो ।

पोखरामा हेलिकप्टर नपाएपछि हेलिकप्टर काठमाडौंबाट झिकाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung