४ जेष्ठ २०८१, शुक्रबार

 

कोरोना संक्रमितलाई अस्पताल लैजान बेनीका मेयरले आफ्ना दुई गाडीलाई एम्बुलेन्स बनाए

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले कोरोना संक्रमितलाई अस्पताल पुर्याउन आफ्ना दुईवटा निजी गाडी उपलब्ध गराएका छन् ।

नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि श्रेष्ठले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएका हुन् ।

मेयर श्रेष्ठले बिहीबार एक चालकको खर्चसमेत व्यक्तिगत रूपमा बेहोर्ने गरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई गाडीको चाबी हस्तान्तरण गरे ।

श्रेष्ठले उपलब्ध गराएको ग १ ज ७०६२ र ग १ ज६७६३ नम्बरको ९ सिटे जिप संक्रमितलाई स्वास्थ्य संस्था र घरसम्म पुर्याउन प्रयोग गरिने नगरपालिकाले जनाएको छ । सवारीसाधनमा लाग्ने इन्धन नगरपालिका र एक सवारी चालकको खर्च भने नगरप्रमुख श्रेष्ठले बेहोर्नेछन् ।

‘कोरोनाको लक्षण देखिएका बिरामीको उपचारमा कुनै पनि कमी हुँदैन, चौबीसै घण्टा सवारीसाधन तयारी अवस्थामा हुन्छ,’ नगरप्रमुख श्रेष्ठले भने ।

उनले नगरपालिकाभित्र कोरोना संक्रमण अन्त्य नहुँदासम्म सवारीसाधन नगरपालिकाले प्रयोग गर्ने बताए ।

दुवै सवारीमा बिरामीका लागि आवश्यक अक्सिजनको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । उनले संक्रमितसँगै सवार भएकालाई संक्रमण फैलिन नदिने गरी संरचनासमेत थप गर्न सकिने बताए ।

नगरपालिकाले वडास्तरमै पुगेर स्वाब संकलनसहित चेतनामूलक कार्यक्रम गरिरहेको छ । जिल्लामा रहेका २ सय ८ जना कोरोना संक्रमितमध्ये बेनी नगरभित्रै १ सय ३० जनाजति छन् ।

प्रतिक्रिया दिनुहोस्