५ जेष्ठ २०८१, शनिबार

 

‘तिमी र म’ मा फरक

सुन्दै छु तिमीले त कुर्सी बचायो रे,
बिडम्बना मैले आफन्त बचाउन सकिन ।

तिम्रामा बधाई दिनेको घुइँचो छ रे,
म तमलामी जानसम्म पाइन ।

तिम्रा घर अगाडी चिल्ला गाडीको लस्कर हुँदा
मैले बिरामी बोक्ने एम्बुलेन्स पाइन ।

साथीहरु मिलेर मीठो लडडु खादै छौ रे ,
मैले पेट भरी अन्न पाइन ।

सुन्दै छु चिसोमा हिटर गर्मीमा एसी मिलायौ रे,
मैले सास फेराउन एक मुठ्ठी अक्सिजन पाइन

आफूलाई चटक्क मिलेको दौरा सुरुवाल सिलयौं रे,
मैले लास ढाक्ने कात्रो पाइन ।

सिंहदरबारभित्र घुम्ने कुर्सीमा तिमी घुम्दै गर्दा,
मैले अस्पतालमा शय्या खोज्दा पाइन ।

आफूलाई फेरि सर्वशक्तिशाली बनयौं रे,
मैले श्रद्धाको आँसु झार्नसम्म पाइन ।

-मिना ढुंगाना

प्रतिक्रिया दिनुहोस्