२१ बैशाख २०८१, शुक्रबार

 

एनआरएनए समन्वय परिषद् जापानको अध्यक्षमा पौडेल

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको सन् २०२१–२०२३ को कार्यकालका लागि भएको निर्वाचनबाट शिवप्रसाद पौडेल अध्यक्ष चुनिएका छन् । शुक्रबार अनलाइन भेटिङ प्रणालीबाट भएको निर्वाचनमा अध्यक्षका पौडेलले ३ हजार ३८ मत ल्याई निकटतम प्रतिस्पर्धी अनिता गुरुङ लामालाई हराएका हुन् ।

पौडेलले खसेको मध्ये ४० प्रतिशतभन्दा बढी मत ल्याउँदा गुरुङले १ हजार ८ सय ६९ मत मात्र पाइन् । पाँच जना प्रतिस्पर्धी रहेको अध्यक्ष पदमा नरेन्द्रकुमार बस्नेतले १२ सय ६९, किरण बर्माले १२ सय ४५ र सरोजकुमार खत्रीले १ सय ९१ मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षको पदमा नवीन निउरे ३ हजार ९ सय ९३ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी छत्रबहादुर दाहालले ३ हजार २ सय १ मत ल्याए । त्यसै गरी राम थापा अनिल २ हजार ७ सय ८०, राजकुमार अधिकारी २ हजार ६ सय ५९, रामकृष्ण श्रेष्ठ २ हजार ६ सय ४९ र महेशकुमार कटवाल २ हजार १२ मत ल्याई उपाध्यक्षमा विजयी भए ।

महिला उपाध्यक्षमा संगीता अधिकारी सुवेदीले ३ हजार ८ सय २२ मत ल्याई विजयी भइन् । उनकी प्रतिस्पर्धी कालिका थापाले ३ हजार ४ सय १ मत प्राप्त गरिन् ।

निकै चासोसाथ हेरिएको महासचिव पदमा सिद्धार्थ श्रेष्ठ ३ हजार ७ सय २२ मत ल्याई विजयी भए । प्रतिस्पर्धी टीकाराम खरेलले ३ हजार ४ सय ८४ मत ल्याए । कोषाध्यक्ष पदमा ३ जनाको उम्मेदवारी रहेकोमा ३ हजार १ सय ६७ मत ल्याउँदै कुष्ण गैरे शर्माले बाजी मारे । निकटतम प्रतिस्पर्धी सचिन श्रेष्ठले २ हजार १ सय ५३ र अर्का प्रतिस्पर्धी कृष्णप्रसाद खनालले १९ सय १५ मत हासिल गरेका छन् ।

युवा संयोजक पदका प्रत्याशी राकेश लामाले निर्वाचनकै सर्वाधिक ४ हजार ६ सय ५२ मत आफ्नो पक्षमा पारे । उनका प्रतिस्पर्धी राजेश खनालले २ हजार १ सय ९७ मत मात्र ल्याए ।

७ सदस्य पदमा १८ जनाले प्रतिस्पर्धा गरेकामा प्रकाश लामिछाने ४ हजार २७, राजु भण्डारी सुनील ३ हजार ६४, भीम रायमाझी ३ हजार १२, दिलीप कँडेल २ हजार ७ सय २८, मोहनसिंह मडै २ हजार ६ सय २८, चन्द्राकुमारी केसी २ हजार ५ सय ६२ र लक्ष्मी केसी महर्जनले २ हजार २ सय ६९ मत ल्याई विजयी भए ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यका लागि भएको मतदानमा दीपक कार्कीले ४ हजार १ सय ८७, सुपेन्द्र घिसिङले ४ हजार १ सय २८, नरबहादुर थापाले ३ हजार ७ सय ४५, लक्ष्मण बानियाँले ३ हजार ६ सय ७४, श्रवणकुमार सत्यालले ३ हजार ५ सय ८१ र रोविनप्रसाद शेरचनले ३ हजार ५ सय ८ मत प्राप्त गरी विजयी भए ।

कुल ९ हजार ३ सय ९४ मतदाता रहेको निर्वाचनमा ७ हजार ७ सय ५७ अर्थात ८३ प्रतिशत मत खसेको थियो । इमेल र मोबाइल एसएमएसमार्फत पठाइएकामा ८ हजार ३ सय ३२ मतदाताले मात्र मतपत्र प्राप्त गरेका थिए ।

११ सय ६० मतदाताले मतपत्र नै पाएनन् । करिब १७ सय पञ्जीकृत सदस्यहरूको वैयक्तिक विवरणमा हेरफेर गरिएको पुष्टि भएपछि जुलाई २७ मा निर्धारित निर्वाचन शुक्रबारका लागि सारिएको थियो ।

कम्प्युटरमा सेटिङ मिलाएर मत प्रभावित पारिएको भन्दै उजुरी
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको सन् २०२१–२०२३ को निर्वाचन मताधिकार दुरुपयोग भएको भन्दै विवादित बनेको छ ।

अनलाइनमार्फत भएको मतदानमा कम्प्युटरमा सेटिङ मिलाएर मत प्रभावित पारिएको भन्दै आइटी विज्ञसहितको सहभागितामा छानबिन गर्न माग गरिएको छ ।

सात दिनभित्र छानबिन रिपोर्ट सार्वजनिक गर्न र त्यतिन्जेल निर्वाचन परिणाम घोषणा नगर्न आग्रहसमेत गरिएको छ । एनआरएनए जापानको अध्यक्ष मण्डललाई सम्बोधन गर्दै लेखिएको विज्ञप्तिमा निर्वाचन परिणाम आफ्नो पक्षमा नपर्ने देखिएपछि केही उम्मेदवारहरूले ३ हजार ६ सय १५ मत नक्कली रूपमा सेटिङमार्फत मिलाएको उल्लेख छ ।

जुलाई ३० तारिख बिहान १० बजेदेखि साँझ ८ बजेसम्म निर्वाचन भएको थियो । त्यस क्रममा प्रणालीको दुरुपयोग गरी एकै कम्प्युटरबाट ६८३ भन्दा बढी भोट योजनाबद्ध रूपमा हालिएको उजुरीकर्तामध्येका एक बलराम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठसहित २९ जनाले अध्यक्ष मण्डललाई दिएको उजुरीमा कम्प्युटरको आईपी नम्बर जाँच गर्दा एउटै कम्प्युटरबाट १० देखि ६८३ मतसम्म स्वचालित रूपमा मत राखिएको भेटिएको छ ।

त्यसमध्ये जापानबाहिर भारतको उडिसाबाट ४०२, काठमाडौँबाट २६३, पोखराबाट ११, साथै जापानको फुकुओकाबाट १०१८ मत राखिएको उल्लेख गरिएको छ ।

त्यसै गरी ओसाकाबाट ४८८, आइचीबाट १११, चिबाबाट ३४, टोकियोबाट १०५४ गरी ३ हजार ६ सय १५ मत कम्प्युटरमा सेटिङ मिलाएर हालिएको उजुरीमा आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्