पछिल्ला केही दिनयता जलविद्युत क्षेत्रले सेयरबजार ततायो । बुधबार पनि जलविद्युत कम्पनीहरूको मूल्यमा उछाल आयो । लामो समयदेखि सुस्ताएको माथिल्लो तामाकोसीको सेयरमा एकाएक चमक आएपछि अन्य विद्युत कम्पनी पनि त्यसैलाई पछ्याउँदै अघि बढेका हुन् ।
दिनको सुरुमै माथिल्लो तामाकोसीको सर्किट लागेर कारोबार भएको थियो । त्यसपछि अन्य ६ वटा जलविद्युत कम्पनीको सेयर मूल्यमा सर्किट लाग्यो ।
जलविद्युतको सर्किटलाई पछ्याउँदै यसै सातादेखि कारोबार सुरु भएको युनियन लाइफ पनि मिसियो । अन्तिम समयमा एकाएक नारायणी विकास बैंक र यसै साता सुरु भएको जीवन विकास लघुवित्तको पनि सर्किट लेभलमा कारोबार भयो ।
समग्रमा बुधबार अधिकांश जलविद्युत् कम्पनीको सेयर मूल्य बढ्दा ङादी ग्रुप पावरको मूल्य भने ४८१ प्रतिशतले घट्यो ।
दोस्रो स्थानमा ङादीलाई पछि पार्दै लक्ष्मी लघुवित्तको सेयर मूल्य ४।९६ अंकले घट्यो । उच्च मूल्य घट्ने १० कम्पनी मध्ये ७ वटा लघुवित्त कम्पनी छन् । मंगलबार १०० अंकभन्दा बढीले बढेको लघुवित्त समूह सूचक बुधबार १२६ अंकले घटेको छ ।
खास गरी मौद्रिक नीति आउने हल्ला र हकप्रदका लागि केन्द्रीय बैंक लचिलो हुने हल्ला चलेपछि बढेको लघुवित्तको सेयर मूल्य त्यसमा टिक्न नसकेको हो ।
मंगलबार हालसम्मकै उच्च रेकर्ड बनाउँदै ३१११.०९ अंकमा रोकिएको नेप्से बुधबार कारोबार सुरु हुनेबित्तिकै ३१३९.३ अंकमा पुगेको थियो । बुधबार सेयर सूचक निरन्तर घटबढ भएसँगै कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ ।
मंगलबार २ करोड ११ लाख २९ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार २ करोड ८८ लाख १३ हजार कित्ता सेयर किनबेच भई १५ अर्ब ५९ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस दिन सबैभन्दा बढी अपी हाइड्रोपावरको ७९ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार उच्च १० कारोबार भएका कम्पनीहरूमा ८ वटा जलविद्युत् क्षेत्रका छन् । केही समय कमजोर कम्पनी भन्दै नियामक नेपाल धितोपत्र बोर्डले निकालेको सूचीमा रहेका कम्पनीहरूको सेयर मूल्यमा उछाल आएको छ ।
त्यति बेला बोर्डले सूची निकाल्दा प्रतिकित्ता ३०० रुपैयाँभन्दा कम रहेका कम्पनीहरूको सेयर मूल्य यति बेला सबै ४०० देखि ६०० को बीचमा छन् ।
अझ कतिपय कम्पनीको सेयर मूल्य ६०० भन्दा पनि माथि छ ।
तर,सुरक्षित भनिएको बैंकिङ समूहको सेयर मूल्यमा वृद्धि नभएकोमा लगानीकर्ता चिन्तित छन् ।
कतिपय लगानीकर्ताले बैंकिङ समूहको सेयर विक्री गरेर कमजोर भनिएका तर छिटो मूल्य अभिवृद्धि भएका कम्पनीहरूमा लगानी गरेर जोखिम मोल्न खोजिरहेका छन् ।













































































































































































































