जापानले कोभ्याक्स अन्तर्गत अनुदानस्वरुप दिने अष्ट्राजेनिका खोप सरकारले सातै प्रदेशमा वितरण नगर्ने भएको छ । जापानले पहिलो चरणमा उपलब्ध गराउने खोप सरकारले तीन वटा प्रदेशमा मात्रै वितरण गर्ने भएको हो ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका व्यक्तिहरूलाई अष्ट्राजेनिकाको खोप दिने स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।
नेपालमा खोप आयात भएको दुई दिनमा तीन प्रदेशको सबै जिल्लामा पुर्याई सबैलाई खोप लगाइने महाशाखाका निर्देशका डा.तारानाथ पोख्रेलले जानकारी दिए ।
जापानले दिने १६ लाखमध्ये ८ लाख खोप दुई दिन भित्रमा आइपुग्ने डा। पोख्रेलले जानकारी दिए । दोस्रो चरणमा ल्याइने खोप बाँकी प्रदेशमा वितरण गरिने उनको भनाइ छ । ‘जापानबाट ल्याइएको खोप सुरुमा तीन प्रदेशमा लगाउने गरी प्रस्ताव लगिएको छ,’ उनले भने ।
नेपालस्थित जापानी दूतावासले बुधबार मात्र जापानबाट दुई दिनभित्रमा नेपाल खोप आइपुग्ने जनाएको थियो । सरकारी तंथ्याकअनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनको संख्या १३ लाख ६८ हजार १७६ छ । चार लाख ६० हजार ३०८ जनाले दोस्रो मात्रा लगाइसकेका छन् ।
‘जोनसन एण्ड जोनसन खोप खरिद गर्ने तयारी अघि बढिसकेको छ,’ उनले भने, ‘विश्व बैंकबाट खोप खरिद गर्न पनि ऋण लिइसकेको छ । माघसम्ममा तीन करोड २३ लाख खोप ल्याउने गरी सम्झौता भइसकेको छ ।
सरकारले खोप लगाउन खोप कार्यान्वयन समिति बनाइसकेको छ । समितिले सिफारिस गरेको आधारमा ४५ वर्ष उमेर समूहमाथिका मानिसले खोप लगाएका छन् । धमाधम खोपको आयात भएमा समितिको कार्यतालिका परिवर्तन गर्न सकिने पोख्रेलले बताए ।



















































































































































































