पूर्व कानुन राज्यमन्त्री तथा धवलागिरि वचत तथा ऋण सहकारी संस्था लिमिटेडका निर्वतमान अध्यक्ष राधेश्याम कमारोको स्मृतिमा धवलागिरि बचत तथा ऋण सहकारीले शनिबार काठमाडौंमा श्रद्धाञ्जलिसभा आयोजना गरेको हो ।
सभामा वक्ताहरूले कमारोले राष्ट्रलाई पु¥याएको योगदानको चर्चा गर्दै उनको निधनबाट देशलाई अपूरणीय क्षति भएको बताए ।पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बागलुङ र समग्र पश्चिमाञ्चल क्षेत्रमा शिक्षाको वातावरण बनाउन कमारोको उल्लेख्य भूमिका भएको धारणा व्यक्त गरे ।

‘जति बेला जागरणको समय थियो, त्यस बेला उहाँको उदय भयो,’ श्रेष्ठले भने, ‘उहाँले शैक्षिक, राजनीतिक, सामाजिक एवम् कानुनी हिसाबमा बिर्सनै नसक्ने गरी योगदान दिनुभएको छ ।’
कमारोले बागलुङको पूर्वाधार विकास र शिक्षामा गरेको योगदानको आलोकबाट अहिलेको पुस्ताले फाइदा लिइरहेको श्रेष्ठले बताए ।
‘उहाँबाट सिक्नुपर्ने कुरा धेरै थिए, कमारोले सिकाएका कुरा मानसपटलमा अझै ताजा छन्,’ उनले भने, ‘उहाँ बागलुङ मात्र नभई पश्चिमाञ्चलको विकासको खम्बा हो ।’
पोखरामा कानुन व्यवसायीलाई स्थापित र मर्यादित बनाउन कमारोले दक्षता प्रस्तुत गरेको जनाउँदै श्रेष्ठले कानुनमन्त्री बनेपछि पनि उनले अब्बल क्षमता देखाएको स्मरण गरे ।
सभामा पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले समाज परिवर्तनका लागि कमारोले बोकेको विचारधाराले धनी र गरिबबीचको खाडल पुरिएको बताए ।

धवलागिरि सहकारी जन्मँदा २८ जना संस्थापक सदस्यमध्ये कमारोको वैचारिकताले थप उत्साह दिएको उनले स्मरण गरे । ‘उहाँको योगदानले यहाँसम्म आएको हौं,’ श्रेष्ठले भने, ‘वैचारिक हिसाबले पनि मेरो उहाँ गुरु हनुहुन्छ ।’
यस्तै, धवलागिरि वचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष शत्रुधन श्रेष्ठले मालिक र कमारोबीच हुने द्वन्द्वलाई नाटकमा प्रस्तुत गर्दै गर्दा पछि उनले नाम नै कमारो राखेको स्मरण गरे ।

‘त्यस बेला धनी र गरिबबीच नाटक प्रदर्शन हुन्थ्यो,’ उनले भने, ‘नाटकमा कमारोका रूपमा राधेश्यामले अभिनय गर्नहुन्थ्यो ।’ ३५ वर्षको उमेरमा मन्त्री बनेका कमारोले शिर निहुरिने काम कहिल्यै नगरेको श्रेष्ठको भनाइ थियो । ‘धवलागिरि क्याम्पस स्थापना गर्दा बागलुङ, म्याग्दीसम्म चन्दा संकलन उहाँकै नेतृत्वमा भएको हो ।’
सभामा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका पूर्वअध्यक्ष तथा नयाँ विश्व डटकमका अध्यक्ष पुष्पमान श्रेष्ठले कमारो सानैदेखि समाजलाई सही दिशा दिने व्यक्तित्व भएको बताए ।

‘उहाँ मेरो सुखदुःखको साथी हुनुहन्थ्यो,’ उनले भने, ‘परीक्षा दिन जाँदा होटलमा बसेको पैसासमेत उहाँले तिरिदिनुभयो । राज्यले धनीको सेवा गर्छ, गरिबको सेवा गर्दैन, यसका विरुद्धमा लाग्नुपर्छ भनेर मलाई सिकाउनुभयो ।’
कमारोले कम्युनिस्टले शिक्षा, खानेपानी, स्वास्थ्यचौकी, बाटोघाटो निर्माण गर्छ भन्ने सिकाएकाले आफू त्यही बाटोमा लागेको श्रेष्ठले स्मरण गरे ।यस्तै, धवलागिरि वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष युक्त प्रसाद शाक्यले सहकारीलाई नयाँ ढाँचामा लैजान र सर्वसाधारणको पहुँचमा सहकारीलाई पुर्याउन कमारोले भूमिका खेलेको बताए ।
खराब ऋण उठाउन र सहकारीका समस्या समाधान गर्न कमारोको योगदान अतुलनीय रहेको उनको भनाइ थियो । ‘संस्था सबल बनाउन प्रणाली सुधार्नुपर्छ’, शाक्यले भने, ‘उहाँले त्यो प्रणाली स्थापित गरेर सहकारीलाई मार्गनिर्देश गर्नुभयो ।’

कार्यक्रममा बागलुङ कल्याण केन्द्र काठमाडौंकी उपाध्यक्ष रसुमिला श्रेष्ठ, कमारोकी धर्मपत्नी भगवती बिजुक्छेलगायतको उपस्थिति थियो ।सभामा सहकारीका अध्यक्ष युक्त प्रसाद शाक्यको अध्यक्षता, सहकारीका संस्थापक सदस्य बालकुमार शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रगतिशिल विचारबाट प्रभावित उनी बागलुङ नगरपालिका–३ नौविसे टोलमा विसं २००० सालमा जन्मिएका थिए । विसं २०१२ सालदेखि वामपन्थी आन्दोलनमा लागेका उनी विद्यामन्दिर माध्यमिक विद्यालयका चर्चित विद्यार्थी नेता मध्येका एक हुन् ।
उनले कम्युनिष्ट विचारधाराबाट प्रभावित भएर आपनो नामको पछाडि कमारो उपनाम राखेका थिए । नौविसे टोलमा रहेको कमारोको घर वामपन्थी विचारधारा र आन्दोलनको केन्द्र थियो ।
विद्यार्थीकालमा कमारोका देवेन्द्रराज अधिकारी र डा भुपेन्द्र खड्का सहपाठी हुन् ।उनीहरु तीनै जना बागलुङका चर्चित वामपन्थी नेताहरु थिए ।
तत्कालिन वामपन्थी नेताहरु निर्मल लामा, बासुदेव ढुंगानाबाट प्रभावित भएका कमारो,पुष्पमान श्रेष्ठ र काजी गाउँले श्रेष्ठ बागलुङ बजारबाट ३१ सालमा चौथों महाधिवेशनमा भाग लिन भारतको वनारस गएका थिए ।
२८ सालमा पंचायत लागू गरेको नयाँ शिक्षा नीतिको विरुद्ध बागलुङमा भएको विद्यार्थी आन्दोलनको कमारोले नेतृत्व गरेका थिए ।कमारोको राजनैतिक नेतृत्वबाट प्रभावित भएर बागलुङका धेरै युवाहरु वामपन्थी राजनीतिमा सक्रिय भएका थिए ।
उनले विद्यामन्दिर माध्यामिक विद्यालय,धौलागिरि बहु्मुखी क्याम्पस र पृथ्वीनारायण बहु्मुखी क्याम्पसमा अध्यापनसमेत गराएका थिए । तत्कालिन सत्यनारायण झा अञ्चलाधिशले कमारो र राघेवलाल वैधलाई भैरहवा जेलमा कैद गरेका थिए ।
कमारोले त्यहि जेलबाट कानूनमा स्नातक गरेका थिए । विसं २०३४ सालमा पंचायतमा प्रवेश गरेका कमारोलाई राजा वीरेन्द्रले जिल्ला पंचायतमा मनोनित गरेका थिए ।
कमारो र राघेवलाल वैधले पोखरामा ल फर्म समेत चलाएका थिए । कमारो विसं २०३७ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएर कानून राज्यमन्त्री भएका थिए ।
कमारोलाई अर्थशान्त्र र अंग्रेजी भाषाको गहिरो ज्ञान थियो । २०४८ सालमा स्थापना भएको सुस्थमनस्थिति कल्याण संस्थाको उनी संस्थापन सदस्य थिए ।
कमारोले सुस्थमनस्थिति भएका विद्यार्थीहरुको हितमा लामो समय काम गरेका थिए ।उनी धौलागिरि बचत तथा ऋण सहकारीको निर्वतमान अध्यक्ष र ग्रीन डेभलपमेन्ट बैंकको संचालक समितिको सदस्य थिए ।




याे पनि पढ्नुहाेस्



















































































































































































































