११ कार्तिक २०८३, मंगलवार

 

हरितालिका तीज : महिलाहरूकाे बेदना पोख्ने पर्व

विश्व मानचित्रमा नेपाल एक सानो देश भएपनि प्राकृतिक सम्पदा, धार्मिक, सांस्कृतिक, पौराणिक हिसावले यो गौरवशाली छ । सगरमाथाको देश, बुद्ध जन्मेको देश, सीता जन्मेको देश, देबभूमि, तपोभूमि, ऋषिमुनीहरुको देश, प्राकृतिकले हराभरा देश, आदि भनेर विश्वमा चिनिएको छ।

विभिन्न जात–जाती, भेषभुषा, धर्म, सस्कृतिले ओतपोत देशमा परम्परागत रिति–रिवाज, चाल–चलन, चार्डपर्वहरु पनि अनेक छन् । जसमध्ये हरितालिका (तीज) पनि एक हो।

नेपालमा यसबेला भूमी हरियाली भएको हुनाले यसलाई हरितालिका भनेर नामाकरण गरिएको हो । यो पर्व नेपाली पात्रोअनुसार सधै भाद्र शुक्ल द्वितिया तिथिका दिन पर्दछ । यो पर्व विशेषगरी महिलाहरुको लागि मात्र हो भनेर भन्ने पनि गरिन्छ।

यो दिन नेपाल, भारतका विभिन्न राज्यहरु, भुटान, सिक्किम, दार्जलिङ्ग, पाकिस्तान, बंगलादेश जस्ता हिन्दु एवम् बौद्ध धर्मालम्बीहरुको वसोवास भएका ठाउँहरुमा महिलाहरुले भगवती पार्वतीका नाममा ब्रत उपासना गरी तीज मनाउने गर्दछन्।

पहिलेको नेपाली समाजमा छोरी जातिको विवाहबारी अभिभावकको तजविजले गर्ने गरिन्थ्यो। छोरीको उमेर ७ वर्ष पुगेपछि विवाह योग्य मानिन्थ्यो । महिनावारी (रजस्वला) नहुँदै विवाह गरिदिएर छोरीलाई पराईको घरमा सुम्पिन्थ्यो । छोरीलाई पढाए बिग्रन्छन् भन्ने त्यति बेलाको सामाजिक धारणा भएको हुनाले उनीहरुलाई पढाइदैन्थ्यो ।

सात डाँडा कटाएर विवाह गरेर दिने परम्परा हुनाले माइती र छोरीबीचको सम्पर्कको सम्भावना थिएन । बाबुले दिएको घरमा गएपछि दिएको खानी, दिएको लगाउने भनेको काम गर्ने शिवाय बुहारीले कुनै प्रकारको टिप्पणी गर्न पाउने अवस्था थिएन ।

माइत जान तीजबाहेक अरु बेला विरलै पाइन्थ्यो । त्यति बेलाका बुहारीहरुको जीबन निकै कष्टकर थियो । तीजको समयमा कारणवश माइतीबाट लिन गएनन् भने चेलिवेटी भक्कानिएर रुने गर्दथे । छोरीलाई तीजमा लिन नजाने माइती माइती नै होइनन् भनेर भनिन्थ्यो । तथापी छोरी एक बुहारी हुन पुगेपछि जस्तो परेपनि सहेर बस्नु पथ्र्यो ।

पुरुषप्रधान देश भएको हुनाले उनीहरुको लागि अधिक स्वतन्त्रता र चरम दमन थियो । दुःख त यीनिहरुले मात्र गर्ने हो भन्ने महिला प्रति पुरुषको भावना हुन्थ्यो । इच्छाएको खान, लाउन, मनमा लागेको कुरा भन्न, बोल्न, महिलाहरुले विल्कुल पाउँदैन्थे । यिनको जीवन केवल दाउरा, घाँस, कुटोकोदालो, ढिकी, जातो, खेतीपातीमा वित्थ्यो ।

यस्तो जीवन गाथा बोकेका महिलाहरु आ–आफ्ना माइतमा तीजमा आएपछि मात्र पेटभरी खान, आराम गर्न, मनको बह गीतमार्फत पोख्न बल्ल मौका पाउँथे । चेलीवेटीलाई कुशें औंसी अघिदेखि नै प्रत्येकले आ–आफ्ना घरमा बोलाउँथे ।

तीजको अघिल्लो दिनलाई दरखाने भनिन्छ । यस दिन घरमा बनाएका विभिन्न मीठामिठा खानाका परिकारहरु जस्तै, घ्यू, दूध, दहीसहितको भात, दाल, तरकाली, अचार, खीरआदी चेलीबेटीलाई खुवाउने र खाने गरिन्छ।

तीजको दिन निराहार भोकै ब्रत बस्ने परम्परगत चलन भएको हुनाले दरखाँदाका दिन विहान, दिउँसो, बेलुका गरी तीन पटक राति पनि एक पटक गरी चार पटकसम्म चेलीबेटीलाई खाना खुवाउने गरिन्छ।

तीजको दिन सवै नारीहरु पानी पनि नखाएर निराहार ब्रत बस्ने गर्दछन्। अविविवाहित नारीले योग्य बर पाउने अभिलाशा राख्छन् भने, विवाहित नारीले आ–आफ्ना पतिको अटल शौभाग्य र सन्तति प्राप्तिको अपेक्षामा यो दिन ब्रत बस्ने चलन छ ।
तीजको दिन सवै चेलीबेटीले धकछाडेर समूहमा गाउँने, नाचने गरि दिन बिताउँछन्। यस दिन यीनले गाएको गीतले माईंत पट्टि बा–आमा, दाजु–भाई, भाउजू, बुहारी र घर पट्टि सासु, ससुरा, देवर, जेठाजु, देउरानी, जेठानीसँग सम्बन्धित बानी, व्यवहारको प्रतिविम्ब गरेको हुन्छ।

महिलाले स्वतन्त्र रुपले आ–आफ्नो मनको बह–व्यथा गीतको माध्यमबाट पोख्न पाउने अवसर यही तीज हो । यिनका गीतका टुक्काले देशका नेता, शासन व्यवस्था, सामाजिक मूल्य र मान्यताको उजागर गरेको हुन्छ । महिलाहरुले स्वतन्त्र रुपले मनोरञ्जन गर्ने र आफ्नो जीवन गाथा, कथा पोख्न पाउने अर्को सामाजिक अवसर रतेली पनि हो । यी दुई अवस्थाबाहेक त्यति बेलाका नारीहरुको जीवन दाम्लोमा बाँधेका गाइवस्तुहरु सरह थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung