बागलुङ । बागलुङ बजारमा तायाः मचा नाच निकाल्ने परम्परा सय वर्ष पुरानो छ । विसं १९८३ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा लक्ष्मीनारायण मन्दिर स्थापना भएपछि नारायणचोकबाट तायाः मचा निकालेर बजार परिक्रमा गराउने परम्परा सुरु भएको हो ।
नेपाल भाषा मंका: खल: बागलुङका सदस्य जयराम भारीका अनुसार विसं १९८३ अघिसम्म बागलुङ बजारमा गाईजात्रा अर्थात् तायाः मचा नाच चौधरी थरका नेवार समुदायले बानपा–३ स्थित बुद्ध विहारबाट सुरु गरी नगर परिक्रमा गराउने चलन थियो ।
पछि बागलुङका टेकनारायण भारी, बहुदप्रसाद भारी (मानकाजी भारी) र अश्विनीकुमार वझान्थाछे पाल्पामा परम्परागत रूपमा सञ्चालन हुने ऐतिहासिक तायाः मचा नाच हेरेर फर्किएपछि उनीहरूको पहलमा नारायणचोकमा लक्ष्मीनारायण मन्दिर स्थापना गरिएको थियो ।
त्यसपछि सोही स्थानबाट तायाः मचा नाच निकालेर बागलुङ बजार परिक्रमा गराउने परम्परा सुरु भएको भारीले बताउनुभयो ।
लक्ष्मीनारायणको मूर्ति भारतको बनारसमा बनाउन लगाएर बागलुङ ल्याइएको थियो । त्यसयता गाईजात्राको दिन बिहान मृतकको सम्झनामा निकालिने तायाः मचाभन्दा अगाडि लक्ष्मीनारायण भगवानको तायाः मचा बनाई नारायणस्थान मन्दिरमा पूजा गर्ने र त्यसपछि बाहिर निकाल्ने परम्परा छ ।
गाईजात्राका दिन बिहान करिब ४ बजे सबैजना लक्ष्मीनारायण मन्दिरमा भेला भएर तायाः मचा निकाल्ने, नगर परिक्रमा गराउने र पुनः सोही स्थानमा ल्याएर विसर्जन गर्ने चलन रहेको संस्कृतिकर्मी नेपाल भाषा मंकास् खलस् बागलुङका अध्यक्ष जयराम भारीले बताउनुभयो ।
बाँस र कपडाबाट बनाइन्छ तायाः मचा
बागलुङमा तायाः मचा हरियो बाँसबाट बनाउने गरिन्छ । हरियो बाँसलाई ठाडो पारेर आयाताकारमा बाँधिन्छ र कपडाले बेरेर तायाः मचा तयार गरिन्छ । मृतक पुरुष भए पुरुषले लगाउने तथा महिला भए महिलाले लगाउने कपडा झुण्डाउने चलन छ ।
बालबालिकाको मृत्यु भएको अवस्थामा भने डोकामा चाङ्ग्रा, खसीको सिङलगायत सामग्री राखेर तायाः मचा बनाउने परम्परा रहेको भारीले बताउनुभयो ।
तायाः मचाको शिरमा गाईको चित्र र मृतकको तस्बिर राखिन्छ भने चौँरीगाईको रौँसमेत प्रयोग गर्ने चलन छ । यसलाई डोकामा अडाएर मृतकका आफन्तले काँधमा बोकी नगर परिक्रमा गराउँछन् ।
तायाः मचामा राखिएको मृतकको तस्बिरबाट जात्रा हेर्न आएका मानिसले कुन व्यक्तिको सम्झनामा तायाः मचा निकालिएको हो र कति जनाको मृत्यु भएको हो भन्ने थाहा पाउँछन् ।
मृतकको सम्झनामा निकालिने तायाः मचा नाच घरका छोरी वा बुहारीले पूजा गरेपछि मात्र निकाल्ने र विसर्जन गर्दा पनि छोरी वा बुहारीले पूजा गरेपछि समापन गर्ने परम्परा रहेको भारीले बताउनुभयो ।
मध्य राती बाजा बजाएर मृतकका परिवारलाई सूचना
तायाः मचा निकाल्नुअघि मध्य राती १ देखि २ बजेको समयमा मृदंग, झ्यालीलगायत सांकेतिक बाजा बजाउँदै बजार परिक्रमा गर्ने चलन छ ।
यसरी बाजा बजाएर नगर परिक्रमा गर्नुको उद्देश्य मृतकका परिवारलाई आफ्नो तायाः मचासहित नारायणचोकमा भेला हुन सूचना दिनु रहेको भारीले बताउनुभयो ।
त्यसपछि सम्बन्धित परिवारका सदस्य बिहान ४ बजे तायाः मचासहित नारायणचोकमा भेला भएर नगर परिक्रमा गर्ने गर्छन् । दिउँसोसमेत नारायणचोकमा भेला भएर बजार परिक्रमा गर्ने परम्परा रहेको छ ।
तायाः मचा निकाल्दा सबैभन्दा अगाडि भगवान् लक्ष्मी–नारायणको नाममा बनाइएको तायाः मचा राखिन्छ । त्यसपछि मात्र दिवंगत व्यक्तिको सम्झनामा बनाइएको तायाः मचा राखेर जात्रा अघि बढाउने गरिन्छ ।
बागलुङमा सय वर्षदेखि निरन्तर चल्दै आएको तायाः मचा परम्पराले दिवंगत व्यक्तिको सम्झना गर्नुका साथै नेवार समुदायको मौलिक संस्कृति, परम्परागत बाजागाजा र सामूहिक सहभागितालाई पुस्तान्तरण गर्दै आएको छ ।
















































































































































































