नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बागलुङले यहाँका दुई व्यवसायीलाई सम्मान गरेको छ । सङ्गठनको दोस्रो जिल्ला अधिवेशनका अवसरमा पुराना व्यवसायी लालचन्द्र राजभण्डारी र रतनप्रसाद मलेपती सम्मानित भएका हुन् ।
अधिवेशनको उद्घाटन समारोहमा आज सङ्ठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठक र जिल्ला अध्यक्ष राजबहादुर थापाले उनीहरुलाई संयुक्त रुपमा दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए ।
राजभण्डारी सङ्गठनका संस्थापक अध्यक्ष र मलेपती पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य छन् । 
राजण्डारी विगत ५५ वर्षदेखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सक्रिय छन् । मलेपतीको खाद्यान्न पसल छ ।
सङ्गठन र व्यवसायिक क्षेत्रको प्रर्वद्धनमा टेवा पु¥याए बापत उनीहरुलाई सम्मान गरिएको जिल्ला अध्यक्ष थापाले बताए ।
सम्मान ग्रहणपछि बोल्दै व्यवसायी राजभण्डारीले कठिन स्थितिमा जन्मेको सङ्गठन यहाँसम्म आइपुगेको स्मरण गरे । उनले सही विचार र दृष्टिकोणले व्यावसायिक क्षेत्रलाई पनि दिशानिर्देश गर्ने हुँदा आफू सङ्गठनमा आबद्ध भएको उल्लेख गरे ।
सो अवसरमा विचार राख्दै सङ्गठनका केन्द्रीय अध्यक्ष पाठकले राष्ट्रिय अर्थतन्त्र सुदृढ नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताए । उनले सबल र स्वाधीन अर्थतन्त्र भएमा मात्र जनताको जीवनस्तर उकासिने उल्लेख गरेे ।
अधिवेशनले मुकेशचन्द्र राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । विसं २०६४ मा स्थापित सङ्गठन व्यवसायीहरुको हकहित र अधिकारका पक्षमा क्रियाशील छ ।



















































































































































































































