महाभारतको इतिहासमा हस्तिनापुरका पहिलो राजा भरत थिए। ब्रह्मर्षि विश्वामित्रको तपस्या भंग गर्न देवराज इन्द्रले उर्वशी नामकी अप्सरालाई धरतीमा पठाएका थिए। दुवै मायाको बन्धनमा बाँधिए। फलतस् ती दुवैबाट एक पुत्रीको जन्म भयो।
छोरी जन्मेको दुई(तीन महिनापछि देवेन्द्रको आदेशअनुसार उर्वशी स्वर्ग जानुपर्ने भयो। छोरीको जिम्मा ती दुईमध्ये कुनैले लिएनन् । मूल बाटोमा बच्चालाई बेवारिस छाडेर उनीहरू आ–आफ्नो बाटो लागे । त्यसै समय पाण्डु ऋषि र उनका चेलाहरू गङ्गास्नान गरेर फर्किरहेका थिए ।
अलिक वर आउँदा रोइरहेकी बच्ची देखे। त्यो बच्ची परमात्माबाट उपहारका रूपमा यसरी छाडिएको सम्झिई पाण्डु ऋषिले आफ्नो कुटीमा लिएर गए। सन्तानविहीन ऋषि–दम्पतीले माया–ममतासाथ लालनपालन गर्दै बच्चीलाई हुर्काए । नाम राखे– शकुन्तला ।
शकुन्तला यौवनावस्थामा पुगेपछि उनी र राजा दुष्यन्तबीच माया(प्रीति बस्यो। फलतस् शकुन्तला गर्भवती बनिन् । त्यसपछि शकुन्तलालाई दुष्यन्तको दरबारमा लगियो। तर दुष्यन्तले शकुन्तलालाई स्विकारेनन्। शकुन्तला अलाप–विलाप गर्दै एक्लै वनतिर गइन्। दुर्वाशा ऋषिले शकुन्तलालाई आफ्नो कुटीमा राखे।
शकुन्तलाबाट भरत नामका पुत्रको जन्म भयो। ऋषिले भरतलाई हर प्रकारका विद्यामा निपुण बनाइदिए।
त्यहाँ भरतसँग खेल्ने साथीहरू बाघ–भालु हुन्थे। भरत १२–१३ वर्षका हुँदा राजा दुष्यन्त शकुन्तलालाई खोज्दै वनतिर गएका थिए । त्यसै समय वनमा भरतबाट दुष्यन्त बन्दी बनाइए ।
शकुन्तला त्यहाँ आएपछि एकापसमा चिनापर्ची भयो । अनि भरत र शकुन्तला दुष्यन्तको दरबार आउँछन् ।
दुष्यन्तको शेषपछि भरत राजगद्दीमा बसे। यिनले शासन गर्ने राज्य अहिलेको भारतभन्दा धेरै ठूलो थियो। यिनी चक्रवर्ती राजा थिए। सच्चा प्रजावत्सल, न्यायप्रेमी, प्रजातान्त्रिक राजाको नाम लिँदा यिनै पहिलो पंक्तिमा आउँछन्।
उनकै नामबाट अहिलेको भारत (भारतवर्ष) भनेर त्यति बेला नामकरण गरिएको थियो। त्यति बेलाको भारतवर्षभित्र भुटान, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, नेपालजस्ता धेरै देश पर्दथे। हिन्दु परम्परामा नियमित पितृकार्यमा संकल्प–वचन भन्दाखेरि ‘भारतवर्षे, नेपाल देशे’ भन्ने गरिएको कारण पनि यही हो।
भरत अति लोकप्रिय राजा थिए। यिनको राज्यमा कहीँ(कतै अन्याय, अत्याचार, छल(कपट, दुराचार थिएन । सबै प्रजा सुख–शान्तिका साथ जीवन बिताइरहेका हुन्थे। शासनव्यवस्था अति चुस्त र दुरुस्त हुन्थ्यो । ढिलासुस्ती कतै हुँदैनथ्यो। त्यस राज्यमा प्रजा मात्र होइन, राजा पनि हरतरहले सुखशान्तिको अनुभव गरिरहन्थे।
तर एउटा कुरामा उनी सधैं चिन्तित देखिन्थे। त्यो के भने तिनका पाँच भाइ छोराको अशोभनीय आनी–बानी र बोली–व्यवहार। छोराहरूमध्ये राज्यको युवराज हुने गुण एक जनामा पनि थिएन । सबै हाइलन्ठु थिए। चरम विलासिता, महत्त्वाकांक्षा, भड्कँदो र उद्दण्डपना देखेर भरत राजा वाक्क(दिक्क थिए।
राज्यमा युवराजको घोषणा गर्ने बेला नजिक आउँदै थियो । राजा यसबारे धेरैसँग परामर्श लिए तर चित्तबुझ्दो सल्लाह कसैबाट पाउन सकेका थिएनन्। यिनी चाहन्थे– मान्छेको चुनाव जन्मका आधारमा नभई योग्यता, गुण, कर्मका आधारमा हुनुपर्छ।
एक दिन यसै विषयमा परामर्श लिन भनेर भरत राजा दुर्वाशासमक्ष पुगे। ऋषिलाई आफू आउनुको तात्पर्य बताए। ऋषिले उनलाई भने– ‘तिमीले आफूमाथि विजय पाउन सकेका छैनौ भने अरूमाथि विजय कसरी पाउन सकौला ?’ ऋषिको यो भनाइ ज्यादै गहकिलो थियो। सम्भवतस् राजाको अन्तर्हृदयको मनसायलाई ऋषिको भनाइले बल पुर्यायो । त्यहाँबाट भरत राजा सरासर राजदरबारमा आएर भोलिपल्ट राजकुमारको घोषणा गर्ने उर्दी जारी गरे ।
भरतको राजदरबारमा जेठा छोरालाई नै युवराज बनाइने सबैको अपेक्षा थियो। यिनको मन्त्रिमण्डल, राजपरिषद्मा पनि यस्तै(यस्तै तर्कवितर्क हुन्थे ।
आफ्ना छोरालाई लत्याएर अरू कसैलाई युवराज बनाउलान् भन्ने कोही(कसैले सोचेका थिएन । तर राजाले युवराज छान्दा एक्कासि देवगुरु बृहस्पतिका पुत्र विरतलाई बनाएको घोषणाले दरबारभित्र तरंग उठायो । जताततै टीकाटिप्पणी हुन थाले।
आफ्ना पाँच भाइ छोरा हुँदाहुँदै भरत युवराजका लागि देवलोक पुग्नुपर्ने, कस्तो आश्चर्य ? कहीँ(कतै नभएको यस्तो निर्णय, इतिहासमै हुँदै नभएको काम भारतवर्षमा हुन गयो । यस्ता बात(चित यत्रतत्र सुनिन थाले। देवलोक एवम् अन्य लोकहरूमा भने धरतीमा पहिलोपटक यस्तो साहसी काम भयो भनेर प्रशंसा गरियो । भरत राजाको गुण–गान सर्वत्र सुनिन थाल्यो।
भरत राजाको दरबारभित्र भने चर्काचर्की हुन थाल्यो । उनका छोराहरू उग्र हुन थाले। भरतकी आमा शकुन्तलाले पनि यो काममा असहमति जनाइन् । भरतबाट आफ्नो निर्णयमा डेग चलेनन् ।
राजाले गरेको समयसापेक्ष र प्रजातान्त्रिक कार्यलाई थप विरोध गरिए कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिइयो। समयसँगै स्थिति शान्त हुँदै गयो। विरोध गर्नेहरूले पनि बिस्तारै राजाको कदमको सकारात्मक कुरा थाहा पाउन थाले ।
चारैतिरबाट भरत राजाको आँटिलो, साहसी, दूरदर्शी एवं प्रजातान्त्रिक कामको तारिफ हुन थाल्यो। विरत युवराज हुन योग्य व्यक्ति थिए। युवराजको पद समालेपछि उनले विभिन्न लोक–कल्याणकारी काम गरेर राजालाई प्रभावित पारे ।
कुशल शासन(व्यवस्थाबारे विरतले भरतबाट थुप्रै कुरा सिकिसकेका थिए। चक्रवर्ती राजा भरतको शेषपछि विरत भारतवर्षको राजसिंहासनमा बसे। यिनको १४औं पुस्तासम्मले विशाल भारतवर्षको शासनव्यवस्था सञ्चालन गरेका थिए। विरतको चौधौं पिढीपछि शान्तनुको उदय भएको कुरा भारतवर्षको इतिहासबाट अवगत हुन्छ।
आज यस धर्तीमा रहेका २५० भन्दा पनि बढी देशमा आ–आफ्नो प्रकारको शासन(व्यजस्था छ। प्रजातन्त्रको दुहाइ दिने राष्ट्रहरू पनि कति छन्। प्रजातन्त्रको खोल ओडेर निरंकुश शासन–व्यवस्था हाँक्ने देश पनि यहीँ छन्।
द्वापरयुगमा आफ्ना पाँच भाइ छोरा हुँदा–हुँदै आफ्नालाई फालेर, अन्यत्रबाट कसैलाई ल्याई आफ्नो राज्यको युवराज बनाएर देशको भावी रूपरेखा कोर्ने आँट गर्न सक्नु चानचुने कदम पक्कै थिएन।
कुनै देशको राजकुमार हुन त्यस देशका राजाको जेठो छोरा भएर मात्र हुँदैन, उपयुक्त योग्यता, गुण, असल स्वभाव पनि हुनुपर्छ भन्ने र सोही अनुसार आफैंले कार्यान्वयन गर्ने पहिलो राजा भरत थिए।
राज्यको कुनै पनि पदमा आसीन हुन जन्मबाट नभई कर्म, गुण, योग्यता, क्षमता, दक्षता आदिका आधारमा चुनाव हुनुपर्ने कुराको सूत्रपात उनैले गरेका हुन् । यसै कारण यस धरतीमा प्रजातन्त्रको बीउ रोप्ने पहिलो राजा पनि उनै हुन् । यसमा दुई मत छैन।







































































































































































































