२६ बैशाख २०८१, बुधबार

 

अब हिमालपारिका ध्येय र टुकुचेमा पनि टेलिकमको मोबाइल सेवा

नेपाल टेलिकमले मुस्ताङका ध्येय र टुकुचेमा पहिलोपटक मोबाइल सेवा पुर्‍याएको छ । दूरदराजका बस्तीमा सेवा विस्तार गर्ने लक्ष्यअनुरूप हिमालपारिको जिल्लाका दुई स्थानमा बीटीयस टावर स्थापना गरिएको नेपाल टेलिकम बागलुङका वरिष्ठ इन्जिनियर तथा कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।

मुस्ताङ पर्यटकीय र धार्मिक महत्त्व बोकेको ठाउँ भएको हुँदा त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयको दैनिक जीवनलाई मोबाइल सेवाले सहज बनाउने उनको भनाइ छ ।

‘यसभन्दा अगाडि त्यस स्थानमा मोबाइल सेवा थिएन, सञ्चारको पहुँच नहुँदा स्थानीयले कठिनाइ भोग्दै आउनुभएको थियो । अब मोबाइल सेवा सञ्चालनमा आएसँगै सहजता भएको छ,’ उनले भने ।

भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुद टेलिकमले त्यहाँका जनप्रतिनिधि, स्थानीयको सहकार्यमा सेवा पुर्‍याउन सफल भएको शर्माको भनाइ छ ।

‘निकट भविष्यमा चौथो पुस्ताको उच्च गतिको इन्टरनेटसहित गुणस्तरीय आवाज उपलब्ध हुने फोरजी मोबाइल सेवा पुर्‍याउने गृहकार्यमा छौं,’उनले भने, ‘विकट भूगोल भए पनि हामी हाम्रो जिम्मेवारीमा दृढ छौँ । ’

सेवा विस्तारसँगै हाल उपलब्ध सेवाको गुणस्तर बढाउने काममा पनि टेलिकमले गृहकार्य अगाडि बढाइरहेको नेपाल टेलिकम मुस्ताङका प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।

गुणस्तरीय भ्वाइस र तीव्र गतिको इन्टरनेट मोबाइल डाटा प्रयोगकर्तालाई उपलब्ध गराउन टावरहरूमा नयाँ प्रविधि जडान गर्ने काम भइरहेको उनले बताए ।

अहिलेको जमाना प्रविधिको भएकाले यसलाई मध्यनजर गरेर टेलिकमसँगको आवश्यक समन्वयमा यहाँ मोबाइल सेवा पुर्‍याइएको मुस्ताङका प्रदेश सांसद चन्द्रमोहन गौचनले बताए ।

त्यस क्षेत्रमा पहिलोपटक जीएसएम र थ्रिजी मोबाइल सेवा पुगेपछि दुर्गमका ग्राहकले डाटा र भ्वाइस दुवैमा सेवा लिएको उनले जनाए ।

गाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि वडा, गाउँपालिकाका कामकाज र स्थानीयको दैनिकी सजिलो बनाएको लोघेकर दामोदर कुण्ड गाउँपालिका–५ का वडा सदस्य पासाङ गुरुङले बताए ।

‘समुद्री सतहदेखि झन्डै ४ हजार ३ सय मिटरको उचाइमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि जिल्लाको पर्यटकीय एवं धार्मिक स्थल दामोदर कुण्डसम्म पुग्ने पर्यटकले सेवा प्राप्त गर्ने भएका छन्,’ उनले भने ।

मुस्ताङका अधिकांश मोबाइल टावरमा अहिले पनि विद्युत् सेवा नहुँदा टेलिकमले सोलार–सेट जडान गरी सेवा प्रवाह गरिरहेको छ । अहिले नेपाल विद्युत् प्राधिकरणले पनि मुस्ताङ जिल्लाभर विद्युतीकरण कार्यलाई अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्