१९ बैशाख २०८१, बुधबार

 

प्रशिक्षक अलमुताइरी भारतसँगको फाइनल खेल दौरान मैदानमा बस्न नपाउने

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेल मैदानमा बसेर हेर्न नपाउने भएका छन् ।

श्रीलंका र बंगलादेशसँगका खेलमा दुईवटा पहेँलो कार्ड पाएको भन्दै अलमुताइरी फाइनल खेलका लागि निलम्बित भएको साफले जनाएको छ । अलमुताइरीले भने साफको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । आफूमाथि व्यक्तिगत रिसइबी साँधिएको उनको आरोप छ ।

‘मलाई कारबाही गर्नकै लागि नियम परिवर्तन गरियो । यो निष्पक्ष र न्यायपूर्ण देखिएन,’ उनले भने, ‘नेपाली फुटबललाई गरिएको कारबाही हो ।’साफको नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएका खेलाडीमाथि मात्र अर्को खेलमा निलम्बन हुने नियम रहेको उनको भनाइ छ । यो नियम अफिसियलको हकमा रातो कार्ड खाएको अवस्थामा लागू हुने उनले जनाए ।

माल्दिभ्सविरुद्धको खेलमा भारतीय प्रशिक्षकले रातो कार्ड खाएर फाइनलमा उपस्थित हुन नपाउने भएपछि नेपालका प्रशिक्षकलाई पनि बाहिर राख्नका लागि यस्तो षड्यन्त्र गरिएको आरोप अलमुताइरीले लगाए ।

‘साफलाई सायद नेपालले निकालेको नतिजा मनपरेको छैन । र, यदि म मैदानमा भएँ भने नेपालले उपाधिका लागि अन्तिमसँग लड्छ भनेर यो गरेको हुन सक्छ,’ उनले भने । नेपालले निलम्बनविरुद्ध एएफसीलाई पुनः मूल्यांकनका लागि पत्र पठाए पनि एएफसीले पनि साफकै नियम लागू हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्