२६ बैशाख २०८१, बुधबार

 

न्यून चापीय र पश्चिमी वायु प्रणालीको प्रभाव : यी प्रदेशमा भारी वर्षा र हिमपात

हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका एक– दुई स्थानहरूमा मेघ गर्जन–चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ।

सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरू मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा प्रदेश न २ का थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्