६ जेष्ठ २०८१, आईतवार

 

थप तीन ठाउँमा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकले थप तीन ठाउँमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा सेवा थपिएको हो ।

यससँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २६० पुगेको छ । इलामको देउमाई नगरपालिका–७, पञ्चमीबजारमा खोलिएको सेवाका लागि उमाकान्त खनाल, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सरदेवामा खोलिएको सेवाका लागि विमला टण्डन र मोरङको कटहरी गाउँपालिका–४, नयाँबजारमा खोलिएको सेवाका लागि दीपेन्द्रकुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, डिसहोम, सीडीएमए, यूटीएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायत सेवा प्रवाहित हुनेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्न टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटाउन ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

‘सबैका लागि बैंक’भन्ने नाराका साथ २६ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २६० शाखा रहित बैंकिङ सेवा, ४७ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्