काठमाडौंमा माघ ३ गते अर्थात् सोमबारदेखि मात्रै कोरोना भाइरस विरुद्धको खोपको तेस्रो अथवा बुस्टर डोज खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले ३ गतेदेखि मात्रै काठमाडौंमा खोप लगाइने जानकारी दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले पुस ३० गते विज्ञप्ति जारी गर्दै जिल्लाहरुलाई माघ २ गतेदेखि अग्रपङ्तिमा रहेकाहरुलाई बुस्टर डोज लगाउने गरी व्यवस्था गर्न अनुरोध गरेको थियो ।
मन्त्रालयले शुक्रबार साँझ मात्रै सूचना दिएपछि शनिबार सबै अस्पताल एवं खोप केन्द्रसँग समन्वय हुन नसकेको र कुन कुन खोप केन्द्रमा लगाउने भनेर निर्णयसमेत नभइसकेका कारण सोमबारदेखि मात्रै बुस्टर डोज खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यलय प्रमुख काफ्ले बताए ।
अहिले बालबालिका (१२ देखि १७ वर्षका) लाई फाइजर खोप अभियान चलिरहेका कारण स्वास्थ्यकर्मीहरुसमेत खाली नभएका कारण आइतबारबाट नै बुस्टर डोज खोप अभियान सञ्चालन गर्न नसकिने उनले बताए ।
अहिले काठमाडौं जिल्लामा १६ ठाउँबाट खोप लागिरहेको छ । साेही केन्द्रबाट खाेप लगाइने तयारी भइरहेकाे छ ।













































































































































































































