२१ बैशाख २०८१, शुक्रबार

 

स्नेहा बेलायतको पहिलो नेपाली महिला कानुन व्यवसायी

बेलायतमा पहिलो पटक नेपाली मूलकी महिला स्नेहा शाक्य श्रेष्ठ कानुन व्यवसायी बनेकी छन्। बेलायतमा भने प्राक्टिसिङ ब्यारिष्टर भन्ने गरिन्छ ।अन्तिम तालिम (प्युपिलेज) सकेपछि गएको साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत कानून व्यवसायी (ब्यारिष्टर) का रूपमा सूचीकृत भएकी हुन्। कानुन व्यवसायलाई बेलायतमा सम्मानित र उच्च तहको कमाई हुने पेशाका रुपमा लिइन्छ।

श्रेष्ठले अब अपराध, परिवारसित सम्बन्धित (बालबालिका) र अध्यागमनसँग सम्बन्धीत कानुनी अभ्यास गर्नेछिन्। युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किङ्ग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्।

बेलायतमा हाल २ नेपाली पुरूष कानुन व्यवसायी छन्। सिन्धुपाल्चोक चौतारा घर भएकी उनी परिवार सहित बेलायतमा बस्दै आएकी हुन्। उनका बुबा सुरेन्द्र श्रेष्ठ अधिवक्ता तथा नेपाली अभियन्ता हुन्। आमा मिनु शाक्य समाजसेवामा सक्रिय छिन्।

‘कडा मेहनत गरेर छोरी युकेको प्राक्टिसिङ ब्यारिष्टर बनेकोमा खुसीको कुनै सिमा छैन,’ उनका बुबा श्रेष्ठले  भने। आफूले कहिल्यै छोरीलाई वकिल बन्न दबाब नदिएको तर, इच्छा भएको पेशामा जान सुझाव दिएको उनले बताए।

बेलायतमा अध्ययनरत रहँदा शैक्षिक भ्रमणका क्रममा आफ्नो इमिग्रेसन स्टाटसकै कारण फ्रान्स जानबाट वञ्चित हुनु परेपछि स्नेहा कानुन विषयप्रति आकर्षित भएकी हुन् ।उनले कानुन विषय अध्ययनका क्रममा नेपालका विभिन्न अधिकारवादी संस्था तथा अफ्रिकामा काम समेत गरेकी छन्। प्राक्टिसिङ ब्यारिष्टरका रुपमा सूचीकृत भएपछि खुशी लागेको उनले बताइन्।

कानुनको माध्यमद्वारा मानिसको जीवनमा सुधार ल्याउन कति शक्ति हुँदो रहेछ भन्ने थाहा पाएपछि कानुनी पेशामा अझै प्रतिवद्ध भएको उनको भनाई छ।‘नेपाली तथा अन्य देशका आप्रवासीलाई कानुनी परामर्श क्षेत्रमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्छु,’ उनले भनिन् ।

बेलायतमा करिब १६ हजार सक्रिय ब्यारिष्टर छन्। जसमध्ये नेपाली मूलका  प्रा. डा. सूर्यप्रसाद सुवेदी, देवेन्द्रसिंह श्रेष्ठ र हाल स्नेहा शाक्य श्रेष्ठ मात्र हुन्।

बेलायतमा ब्यारिष्टर बन्न लामो प्रक्रिया पूरा गर्नुपर्छ साथै प्रतिस्पर्धा पनि कड़ा मानिन्छ। कानुन विषयमा स्नातक गरेपछि बार प्रोफेसनल ट्रेनिङ कोर्स गर्नुपर्छ। त्यसपछि प्युपिलेज तालिम गर्नुपर्छ। औसतमा प्युपिलेज पाउन बार स्कुल सकेपछि तीन वर्षको समयावधी लाग्छ। स्कुल सकेको पाँच वर्षभित्र प्युपिलेज नपाएमा फेरि शुरुबाट तालिम गर्नुपर्ने नियम छ।

बेलायतमा कानुन व्यवसायीलाई ब्यारिष्टर र सोलिसिटरमा वर्गीकरण गरिन्छ। ब्यारिष्टरले अदालतमा न्यायाधीशसामू बहस गर्ने गर्छन् भने सोलिसिटरले मुद्दा लिने र मुद्दा तयार गर्ने गर्छन्।

कानुन विषयमा डिग्री हासिल गरेपछि ब्यारिष्टर हुन चाहनेले बार प्रोफेसनल ट्रेनिङ कोर्स (बीपीटिसी) तालिम लिनुपर्छ ।ब्यारिष्टरहरु चेम्बर्समा काम गर्छन्। यस्तै, सोलिसिटर हुन चाहनेले लिगल प्राक्टिस कोर्स (एलपीसी) तालिम गर्ने गर्नुपर्दछ। उनीहरू सामान्यतयः ल फर्ममा हुन्छन्।

प्रतिक्रिया दिनुहोस्