१७ श्रावण २०८३, आईतवार

 

शिक्षामन्त्री पौडेलको पहलमा अछतेदेखि नरेठाँटी सुरुङमार्गको काम अघि बढ्याे

सरकारले बागलुङको काठेखोला गाउँपालिकाको अछतेदेखि गलकोट नगरपालिका नरेठाँटीसम्म सुरुङमार्गको अध्ययन गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको पहलमा सुरुङमार्गको अध्ययन गर्ने काम सडक विभागले अघि बढेको हो ।

केही दिनअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलसँगको भेटमा मन्त्री पौडेलले सुरुङ मार्गको अध्ययनका लागि योजना समावेश गर्न आग्रह गर्नुभएको थियो ।

चालू आर्थिक वर्षमा सुरुङमार्गको अध्ययनका लागि ३० लाखदेखि ४० लाखसम्म बजेट विनियोजन भएको सडक विभागले जनाएको छ ।

‘निर्वाचन क्षेत्रसँगै बागलुङका ठूला गौरबका योजना समावेशका लागि राष्ट्रिय योजना आयोगसँग छलफल गरेर प्रक्रिया अघि बढेको छ’, मन्त्री पौडेलले भने ‘लामो बाटो भएको हुँदा धेरै समय पनि लाग्ने भएकाले सुरुङमार्ग बनाउनुपर्ने आवश्यक देखेको हुँ ।’ अध्ययनपछि थप प्रक्रिया अघि बढ्ने उनले बताए ।

चालू आर्थिक वर्ष २०७८।०७९ मा हेम्जा, नयाँपुल, कुशेपाटन–ब्याउली ढुंगा–इमिलचाखोला, बागलुङ अछते–नरेठाँटी, कुलेखानी–भिमफेदी, खुर्कोट–चियाबारी, मझिस्टार–शक्तिखोर, थानकोट–चित्लाङ , प्रवास जोर्तेको सुरुङमार्गको अध्ययको काम अघि बढेको सडक विभाग अन्गर्तको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनका इन्जिनियर सौरभ बज्राचार्यले जानकारी दिए ।

यस्तै मन्त्री पौडेलले बागलुङ ढोरपाटन नगरपालिका–९ ढोरपाटन क्षेत्र बृहद पर्यटकीय परियोजना, ढोरपाटन नगरपालिकाको अर्नाकोट विमानस्थल योजना, बागलुङ उत्तरगंगा जलाशययुक्त बृहत परियोजना, बागलुङ काठेखोला, रंगनीदेखि चरौदी, हरिचौर, मल्म, पाण्डवखानी रणसिंहकिटेनी, भिमगिठे दर्लिङ, निसीखोला हुँदै प्युठान जोड्ने सडक कालोपत्रे परियोजनालगायत १० योजना गौरबको योजनामा समावेश गर्न मन्त्रीले राष्ट्रिय योजना आयोगमा पठाएकाे थिए ।

मन्त्री पौडेलले ढोरपाटन सालझण्डी सडकको काम तीब्र रुपमा अघि बढेको बताउँदै विभागबाट रकम थप भएको बताए । योजना आयोगसँग थप ४० देखि ५० करोड रकम थप्ने विषयमा छलफल भएको बताउँदै चलिरहेको काममा रकम थप हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung