७ जेष्ठ २०८१, सोमबार

 

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ आईसीजेको आयुक्तमा पुन: निर्वाचित

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स (आईसीजे)को आयुक्तमा पुन:निर्वाचित  भएका छन् । दोस्रो पटक पाँच वर्षे कार्यकालका लागि श्रेष्ठ आयुक्तमा पुन निर्वाचित भएका हुन् ।

श्रेष्ठ यसअघि २०७३ पुसमा पहिलो पटक निर्वाचित भएका थिए । उनी प्रधानन्यायाधीशबाट अवकाश पाएको नौ महिनापछि आईसीजेकोआयुक्त बनेका थिए । आईसीजे आयुक्तको कार्यकाल पाँच वर्षको हुन्छ । आईसीजे न्यायाधीश, संविधानविद् तथा कानुनविद्हरुको अन्तर्राष्ट्रिय संस्था हो । स्वीट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको आईसीजे सन् १९५२ मा स्थापित भएको थियो ।

सन् १९५२ मा स्थापित आईसीजे न्यायाधीश र वकिलहरूको स्वतन्त्रता, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सम्मान, व्यापार र मानव अधिकारको क्षेत्रमा काम गर्छ । त्यस्तै संस्थाले महिला मानव अधिकार, विश्वव्यापी सुरक्षा र कानुनको शासनलगायत क्षेत्रमा काम गर्दछ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशित गरेको ‘टावरिङ जजेज्ः अ कम्प्यारेटिभ स्टडी अफ कन्स्टिच्युसनल जजेज्’ पुस्तकमा संसारकै उत्कृष्ट न्यायाधीशहरूसँगै सूचीकृत भएका थिए ।

पुस्तकमा श्रेष्ठ नेपालको तर्फबाट परेका थिए भने अमेरिका, बेलायत, सिंगापुरलगायत देशका न्यायाधीशहरूसँगै सूचीकृत भएका थिए । पुस्तकमा हङकङकी प्राध्यापक डा. मारा मालगोडीले पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालको न्यायिक स्वतन्त्रता बचाउन ठूलो साहसका साथ संवैधानिक भूमिका र व्यावसायिक निष्ठापूर्वक काम गरेको उल्लेख गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्