२३ भाद्र २०८३, मंगलवार

 

पालाको देउरालीमा सहिद उद्यान

बागलुङ – जनयुद्धमा बलिदान दिने सहिदको सम्मानमा काठेखोला गाउँपालिका–१ पाला, देउरालीडाँडामा सहिद उद्यान बनिरहेको छ । वडाको लगानीमा उद्यान निर्माणले गति लिएको हो । हालसम्म झण्डै १५ लाख रुपैयाँ उद्यानमा खर्च भइसकेको वडाध्यक्ष खडकबहादुर थापाले जानकारी दिनुभयो ।

आव ०७४,०७५ देखि उद्यानका लागि वर्षेनि बजेट छुट्टिदैँ आएको छ । एकैचोटि धेरै लगानी जुटाउन नसकेपछि उद्यान निर्माणले समय लिएको वडाध्यक्ष थापाको भनाइ छ । चालु आवमा रु दुई लाख मात्र बजेट उद्यानलाई परेको छ । स्रोत जुटाएर जतिसक्दो छिटो उद्यानको योजनालाई पूर्णता दिइने वडाध्यक्ष थापाले बताउनुभयो ।

“उद्यानका सबै संरचना बनाउँदा समय अझै लाग्ने देखिएको छ”, उहाँले भन्नुभयो, “ठाउँ पनि अपुग हुने भएपछि थप चार रोपनी जग्गा व्यवस्थापनका लागि पहल गरिरहेका छौँ ।” अहिले दुई रोपनी क्षेत्रफलमा उद्यान निर्माण भइरहेको हो । पक्की घेराबार, प्रवेशद्वार, विश्रामस्थललगायतका संरचना बनिसकेका छन् ।

उद्यानको बीचमा रहेको ठूलो स्वामीको रुखलाई मौलिक ढङ्गले संरक्षण गरिएको छ । उद्यान निर्माण समितिका अध्यक्ष मीनबहादुर थापाकाअनुसार जनयुद्धका बेला शहादत प्राप्त गर्ने पालाका छ जना सहिदको सालिक राख्ने योजना छ । सभाकक्ष, अभिलेखालय, बगैँचा, चमेनागृहलगायतका संरचना बनाउन बाँकी छ ।

देउराली डाँडालाई पर्यटकीय उद्यानका रुपमा विकास गर्ने उद्देश्य लिइएको अध्यक्ष मीनबहादुरले बताउनुभयो । सो डाँडामा स्थानीयबासीको धार्मिक,सांस्कृतिक आस्थासमेत जोडिएको छ । वर्षेनि बाली पूजा हुँदा देउरालीमा फूलधजा नचढाइ पूजा चलाउन नहुने मान्यता छ । देउरालीमा चट्टानका कलात्मक रुपसमेत देख्न सकिन्छ ।

आउँदो आवमा प्रदेश र सङ्घ सरकारबाट पनि उद्यानका लागि बजेट ल्याउन पहल गर्ने वडाले जनाएको छ । “पर्यटकीय र सांस्कृतिक महत्व झल्काउने गरी उद्यान बनाउने योजनामा छौँ, सदरमुकाम नजिकै रहेकाले बाहिरी आगन्तुकका लागि पनि यो एउटा गन्तव्यस्थल बन्ने हाम्रो विश्वास छ”, वडाध्यक्ष थापाले भन्नुभयो ।

गत साता वडा भवन निर्माणका लागि जग्गा दिने दाताको सम्मान र ‘पाला दर्पण’ पुस्तकको विमोचनका बेला गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पनि उद्यान निर्माणमा सघाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
राम थापा

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung