७ जेष्ठ २०८१, सोमबार

 

उपचारको नाममा महिलालाई अनुचित कार्य गर्न खोज्ने सापकोटा पुर्पक्षका लागि कारागार चलान

बागलुङ – उपचारको नाममा महिलालाई अनुचित कार्य गर्न खोज्ने बागलुङ बजारका विजया आयुर्वेदिक फर्मा संचालक रमाकान्त सापकोटालाई जिल्ला अदालत बागलुङको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर २ अदालत रोडमा सञ्चालित विजया आयुर्वेद फर्माका संचालक सापकोटालाई जिल्ला अदालतको आदेश अनुसार बिहीबार पुर्पक्षका लागि कारागार चलाउन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले बताए।

रक्तचाप परिक्षणको लागि फर्मामा आएका एक विरामी महिलालाई उपचारको बहानमा अनुचित कार्य गर्न खोजेको आरोपमा पक्राउ परेका सापकोटालाई २५ दिनको प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा पेश गरेकोमा सापकोटालाई पुर्पक्षका लागि बागलुङ कारागार चलाउन गरिएको हो ।

रक्तचाप परीक्षण गर्न आएका एक महिलालाई यौनजन्य हिंसा गर्न खोजेपछि महिलाले तत्काल प्रहरीमा उजुरी गरेपछि सापकोटा पक्राउ परेका थिए । पक्राउ परेका सापकोटालाई पीडित महिलाको जाहेरीका आधारमा पक्राउ गरी जिल्ला सहरकारी वकिल कार्यलयमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको थियोे ।

सापकोटाले यस अघि पनि फर्मामा उपचार गर्न आउने महिलालाई यौन दुव्र्यवहार गर्ने गरेको पाइएको छ । सापकोटा पक्राउ परेसँगै पीडित बनेका महिलाहरुले सापकोटाले औषधालयमा उपचारको बहानामा महिलाहरुलाई अभद्र व्यवहार गर्ने गरेका खुल्न आएको छ ।

सापकोटाले युद्वकालमा माओवादीले आफ्नो बहिनीलाई अपहरण गरि बेपत्ता बनाएको भन्दै न्यायको लागि द्वन्द पीडित समाजमा बसेर वेपत्ता परिवार भन्दै राज्यकोषबाट १ लाख रूपैयाँ लिएर राज्य र तत्कालीन विद्रोही माओवादीलाई समेत गुमराहमा राखेका थिए ।

सापकोटा स्वंयले बेपत्ता भनेकी बहिनीको आफैले गुपचुप रूपमा विवाह गरिदिएको तथ्य खुलेपछि उनलाई द्वन्द पीडित समाजबाट हटाइएको थियो । सापकोटा न्यायको लागि द्धन्द पीडित समाजमा बागलुङको कार्यसमितिमा बसेर राज्यकोषको दुरुपयोग गरेको भनि संस्थाबाट बाहिरिए पनि १ लाख रकम भने अझैसम्म फिर्ता गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्