बर्दियाको राजापुर नगरपालिका मेयर दिपेश थारुले दलको कार्यकारिणी पदमा रहेका शिक्षक र कर्मचारीलाई राजीनामा दिन निर्देशन दिएका छन् । नगरपालिकाले नगरको सबै विद्यालयलाई पत्राचार गर्दै दलको कार्यकारिणी पदमा बसेका शिक्षक र कर्मचारीलाई राजीनामाको दिन भनेको हो ।
दलको शिक्षक र कर्मचारी संगठनमा बस्दा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुने, शिक्षकको जवाफदेहिता र जिम्मेवारी विद्यालय तर्फ नभइ दल प्रति हुने भएकोले नगरले सो निर्णय गरेको पत्रमा उल्लेख छ ।
निर्णयमा भनिएको छ ‘शिक्षा ऐनको व्यवस्था उल्लङ्घन हुने गरी शिक्षक,कर्मचारीको आचरणविपरीत कार्य गर्ने यस राजापुर नगरपालिकाअन्र्तगत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र नगरपालिकाको कार्यलयमा पेस गर्न हुन जानकारी गरिन्छ,’।













































































































































































































