बागलुङ — बागलुङको जैमिनी नगरपालिकाले सबै सरकारी सेवा आइतबार पनि खुला गर्ने निर्णय गरेको छ । बिहीबारको कार्यपालिका बैठकले सम्पूर्ण सरकारी सेवालगायत विद्यालय र अन्य संस्था पनि आइतबार खोल्न आह्वान गरेको हो ।
सरकारले इन्धन खपत कम गर्न आइतबार बिदा दिएको थियो । जैमिनी नगरमा गाडी चढ्ने कुनै पनि कार्यालय नभएको, विद्यालयमा पनि गाडी चढेर जाने अवस्था नभएकाले इन्धन खपतमा असर नपर्ने भन्दै कार्यपालिकाले उक्त निर्णय गरेको उपप्रमुख हरिहर शर्माले बताए । ‘इन्धन खपतमा असर पर्दैनस भूगोलको जटिलताले कतिपय काम रोक्दा सेवाग्राहीलाई झनै सास्ती हुन्छस त्यसैले यो निर्णयमा पुग्यौं‚’ उनले भने, ‘बरु वडा तहमा गर्न सकिने कतिपय काम पनि सञ्चालन गर्दै जाने निर्णय भएको छ ।’
कानुनले रोक्नेबाहेक सबै काम वडा तहमा गर्ने उनले बताए । योजना सम्झौता, फरफारख तथा पञ्जीकरणसम्बन्धी सबै काम वडामा गर्न तयारी भएको हो । त्यसका लागि वडा तहमै प्राविधिक खटाएर काम थालिनेछ ।
सामाजिक सुरक्षा भत्ताका लागि मुकाम आउनुपर्ने बाध्यता पनि हटाउन नगरपालिकाले वडा तहमै वितरण प्रक्रियाका लागि काम थालेको शर्माले जानकारी दिए । गाडी चढेर ५ सय भाडा तिर्नुपर्ने बाध्यता पनि हट्नेस नगरपालिकाको भीड पनि कम हुने गरी वितरण व्यवस्थापनको गृहकार्य सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताए ।
जैमिनी नगरपालिकाले गर्भवती र सुत्केरी सेवा लिनुपर्ने महिलालाई यातायात खर्च बेहोर्ने निर्णयसमेत गरेको छ । साथै जटिल समस्या भएर रिफर गर्नुपर्ने वा तत्काल सहरी क्षेत्रमा लैजानु पर्ने भएमा हेलिकोप्टरको व्यवस्थापन गर्ने समेत निर्णय भएको छ । उक्त खर्च पालिकाले बेहोर्ने भएको हो ।
त्यस्तै बागलुङ नगरपालिकाले पनि आइतबार सबै विद्यालय खुला राख्ने निर्णय गरेको छ । अन्य सरकारी कार्यालय बन्द भए पनि नगरभित्रका शैक्षिक संस्था खोल्ने गरी बागलुङका १ सय २ वटा विद्यालयका प्रधानाध्यापकसमेतले निर्णय गरेका हुन् ।













































































































































































































