४ श्रावण २०८३, सोमबार

 

बेनी नगरपालिकाले मजदुर सहायता कोष स्थापना गर्यो, महिला सशक्तिकरणको लागि आमा समूहसँग उपमेयर कार्यक्रम

म्याग्दी – बेनी नगरपालिकाले मजदुरको हितको लागि मजदुर डेस्क र मजदुर सहायता कोष स्थापना गरेकोछ । नगर कार्यपालिकाको पहिलो बैठकले आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने गरि डेस्क र कोष स्थापना गर्ने निर्णय गरेको हो ।

नगर कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठले नगरपालिकाभित्र रहेका मजदुरहरुको सेवा सुविधा एवं सुरक्षाको प्रत्याभुति दिलाउन मजदुरको छुट्टै डेस्क र सहायता कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

कोषमा नगरपालिकाले सुरुवातमा रु ५ लाख रकम जम्मा गर्ने र त्यसबाट आपत विपद परेका मजदुरहरुलाई राहत दिईने नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । ‘‘मजदुरहरु शिक्षा र सचेतनाको हिसाबले पछाडि परेका छन्, सामान्यदेखि शिक्षित मजदुरहरुमा समेत समस्या छन्, कम्तिमा उनीहरुको दुखः सुखमा स्थानीय सरकार सारथी बन्नुपर्छ भनेर यो अवधारण अघि बढाइएको हो’’–मेयर केसीले भन्नुभयो ।

कतिपय मजदुरहरुले उचित पारिश्रमिक नपाएको र सामाजिक सुरक्षा कोषमा समते जोडिन नपाएको गुनासाहरु आइरहेको बताउँदै दैनिक ज्याला लिनेदिने प्रचलनको सट्टामा मासिक तलबको व्यवस्था गर्न रोजगारदातालाई आग्रह गरिने बताउनुभयो ।

‘‘हरेक दिन कमाएको पैसा उहि दिन सक्ने, काम नपाउँदा खाना समेत हम्मेहम्मे पर्ने गरेको वास्तविकता छ, मजदुरहरुको समेत सोचमा परिवर्तन गरि मासिक तलब बुझ्ने, कमाएको रकमबाट बचत गर्ने वानीको विकास गराउनेतर्फ पनि हामीले जनचेतना जगाउने कोशिस गछौँ’’–मेयर केसीले भन्नुभयो ।

मजदुर डेस्कले मजदुरहरुको विवरण सुचिकृत गरी रोजगारदाताहरुका लागि आवश्यक पर्ने जनशत्तिm समन्वय गर्न समेत भूमिका खेल्ने जनाइएको छ । नगर कार्यपालिकाले विपद्जन्य घटनाहरुबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापन, उद्धार तथा प्रतिकार्यका लागि आवश्यकता अनुसार स्रोत समेत जुटाई ‘विपद्मा मेयर’ कार्यक्रम र नगरभित्रका महिला तथा आमा समूहहरुको क्षमता विकास तथा आयआर्जन लगायतका गतिविधि सञ्चालन गरी सशक्तिकरण गर्न आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

बस्ती स्तरमा बनेका आमा समूहका भवन सामाग्री भण्डारण गर्ने थलोको रुपमा मात्रै उपयोग भएकाले त्यसलाई सिप र क्षमताको विकास गरि आयआर्जन गर्ने थलोको रुपमा विकास गर्न आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गर्न लागिएको उपमेयर ज्योति लामिछाने पौडेलले बताउनुभयो ।

बैठकले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गरि विद्यार्थी संख्या समेत अभिबृद्धिका लागि आवश्यक सुझाब सहितको प्रतिवेदन पेश गर्न शिक्षा अधिकृत कमलप्रसाद ढकाल संयोजक, जामुनाखर्क माविका प्रअ सोमनाथ ढुंगाना, बेनी सामुदायिक माविका अध्यक्ष सम्मर बहादुर थापा, स्रोत व्यक्ति जयराम सुवेदी र नगरपालिकामा क्रियाशिल पेशागत संघ, संगठनका तर्फबाट ३ जना सदस्य रहेको कार्यदल समेत गठन गर्ने निर्णय गरेको छ ।

कार्यपालिकाले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र रुख कटान सम्बन्धी कार्यविधि निर्माण गर्ने, नगरपालिकाको प्रवक्तामा वडा नम्बर ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठलाई तोक्ने निर्णय समेत गरेको थियो । त्यसैगरि नगरपालिकाको बिषयगत समितिहरुलाई समेत पूर्णता दिईएको छ ।

पदमबहादुर पुनको संयोजकत्वमा आर्थिक विकास, चक्रबहादुर केसीको संयोजकत्वमा सामाजिक विकास, कृष्ण बहादुर बानियाँको संयोजकत्वमा पूर्वांधार विकास, अणबहादुर खड्काको संयोजकत्वमा वन वातावरण तथा विपद् व्यवस्थापन, उत्तम कुमार कर्माचार्यको संयोजकत्वमा सुशासन तथा संस्थागत विकास समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।

समाचार र तस्वीर म्याग्दी अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung