७ जेष्ठ २०८१, सोमबार

 

बागलुङ नगरपालिकाका पूर्वजनप्रतिनिधि र कर्मचारीसहित पाँच जना बिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै बागलुङ नगरपालिकाका तत्कालीन उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष सहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका निवर्तमान उपप्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर कुँवर, वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हिमालय जिवि उपाध्याय र राजस्व शाखाका सदस्य सचिव काशिराम शर्माले नेपाल सरकारलाई १७ लाख भन्दा बढी हानिनोक्सानी पु¥याएको आरोप अख्तियारले लगाएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९को दफा ७ को खण्ड (ख)बमोजिमको कसुरमा भ्रष्टाचार निवरण ऐन २०५९ को दफा ३ बमोजिम उनीहरुलाई बिगोको आधारमा सोही ऐनको दफा ३ को उपदफा १ को खण्ड (च) बमोजिम सजाए र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजश्वको दोब्बर जरिबाना समेत मागदावी गरिएको हो ।

नगरपालिकाले प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलन गर्दा कम कर उठाई मिलेमतो गरी नगरपालिकालाई हानिनोक्सानी पुर्‍याएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बागलुङ नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखेर नदीजन्य बस्तुको कर संकलन गर्दा मिलेमतोमा राजश्व छली गरेको पुष्टी भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्