६ जेष्ठ २०८१, आईतवार

 

आईटीएफको १ सय २० पदकका लागि २ सय ५० खेलाडी भिड्दै

बागलुङ — नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागलुङमा ढिला गरी पूर्वाधार बनाइएको छ । तीन दिनदेखि यहाँ आईटीएफ तेक्वान्दो लािग पूर्वाधार निर्माणको काम भइरहेको हो । समय ढिला भएकाले रातदिन गरेर खेलस्थल निर्माण भइरहेको हो । राष्ट्रिय खेलकुद परिषद्ले आईटीएफ तेक्वान्दो सञ्चालन गर्ने निर्णय ढिला दिएपछि पूर्वाधारको काममा पनि ढिलाइ भएको हो ।

बागलुङ नगरपालिका–१ को बाङ्गेचउरस्थित राष्ट्रिय खेल खेलाइने तेक्वान्दो कबर्डहलमा पूर्वाधारको काम गरिंदै । बजेट नपाएपछि बागलुङ नगरपालिकाले पूर्वाधारको काम गरेको हो । शनिबारदेखि यहाँ आईटिएफ तेक्वान्दो प्रतियोगिता हुँदैछ ।

खेलका लागि अधिकांश प्रदेशका खेलाडी बागलुङ आइसकेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टिम बुधबारै आइसकेका थिए । अन्य खेलाडी पनि बिहीबार बेलुकीसम्म आइपुगेको आईटीएफकी महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

भवन बनेर सम्पन्न भइनसकेको बागलुङ नगरपालिका–१ को तेक्वान्दो कभर्डहललाई रंगरोगन लगाउने र बाहिरी खण्डमा खाल्डा पुर्ने र सम्याउने काम भइरहेको छ ।

नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रमेश ढकालसमेत पूर्वाधार निर्माण र व्यवस्थापनमा खटिएका छन् । राखेपबाट बजेट नआएको, जिल्ला खेलकुद विकास समितिलगायत विषयगत संघलाई समेत जानकारी नभएपछि बागलुङ नगरपालिकाले आफ्नै लगानी गरेर पूर्वाधार निर्माण गरेको हो ।

प्रतियोगिता व्यवस्थापनको जिम्मा बागलुङ नगरपालिकाले लिएर तीन दिन अघिदेखि पूर्वाधार निर्माण, व्यवस्थापनलगायत काम थालेको नगर प्रमुख श्रेष्ठले बताए ।

सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ९ वटा टिमका २ सय ५० खेलाडीले प्रतियोगितामा भाग लिनेछन् । तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कांस्य पदकका लागि प्रतिस्पर्धा हुने आईटीएफका सचिव राजु खड्काले बताए ।

उनका अनुसार प्रतियोगितामा महिलातर्फ ४५ केजीदेखि ७० केजी र पुरुषतर्फ ५० केजीदेखि ८५ केजी तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा गर्ने व्यवस्थापन मिलाइएको हो ।

पूर्वाधार निर्माणलाई सकेर असोज २९ गते उद्घाटन गर्न आईटीएफकी महासचिव अञ्जु रावतसहित केन्द्रीय पदाधिकारी, जिल्लास्थित विषयगत संघ, जिल्ला खेलकुद विकास समिति र नगरपालिकाले संयुक्त रूपमा काम गरेको हो ।

खेलाडीलाई स्वस्थ खाना खुवाउने, सुरक्षा व्यवस्था र पर्यटकीय स्थलको भ्रमण गराउनेसमेतको व्यवस्थापन भएको आईटीएफका सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्