२८ बैशाख २०८१, शुक्रबार

 

लामो पुलमा आगन्तुकको भीड

बागलुङ – फुर्सद झिकेर घुमघाममा निस्केका ३० जना पोखरेलीले शनिबार बागलुङलाई गन्तव्य बनाए । छोटो दूरीको यात्राका लागि उनीहरूले बागलुङ रोजेका थिए । सुरुमा प्रसिद्ध कालिका भगवतीको दर्शन गरे । दोस्रो रोजाइमा भने ‘गण्डकी गोल्डेन ब्रिज’लाई पारे ।

पाँच सय ६७ मिटर लामो उक्त झोलुङ्गे पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्छ । पछिल्लो समय बागलुङ भित्रने जो–कोहीलाई सो पुलले लोभ्याउने गर्छ । मानिसहरू रुचिपूर्वक पुल हेर्न पुग्छन् ।

धेरैले तरेरै रमाइलो लिन्छन् । नसक्नेले चाहिँ हेरेरै चित्त बुझाउँछन् । पुल तर्दा हलुका डर लागे पनि रोमाञ्चक अनुभव भएको यात्रामा सहभागी रेश्मा ढुङ्गाना बरालले बताए। पुल छेउछाउको दृश्यले पनि आकर्षित गरेको उनको भनाइ छ ।

पवित्र कालीगण्डकी नदीमाथि बनेको उक्त पुलबाट देखिने प्राकृतिक सौन्दर्य पनि मनमोहक छ । ‘सिङ्गल स्पाम’तर्फ देशकै लामो सो झोलुङ्गे पुल एक सय ६५ मिटर अग्लो छ । पर्वतको फलेबासदेखि आएका किशोरीहरू पनि मध्याह्नपख पुलमा रमाइरहेका देखिन्थे ।

तस्वीर लिन र ‘टिकटिक’ बनाउन तँछाडमछाड थियो । नाम बताउन नचाहने पनि उनीहरूले यति लामो झोलुङ्गे पुल पहिलोपटक तरेको सुनाए । चाडबाडको बिदा पारेर घुम्न निस्केको उनीहरूको भनाइ थियो । बागलुङ–१ का वडाध्यक्ष जयबहादुर केसीले बिदा पर्दा पुलमा दैनिक सयौँ पर्यटकको भीड लाग्ने गरेको बताए ।

‘कालिका भगवतीको दर्शन गर्न आउने अधिकांश पुल पनि हेर्न आइपुग्छन्, पोखरालगायत ठूला सहर र बाहिरी जिल्लाबाट पनि पर्यटक आउन थालेका छन्’, उनले भने, ‘पुल आसपासमा सौन्दर्यीकरण गर्ने र अरु पूर्वाधार थप्न सके अझ धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’

छेउमै रहेको सहिद उद्यानले केही मात्रामा भए पनि पुलको आकर्षण बढाएको उनको भनाइ छ । पुल बनेपछि सर्वसाधारणको आउजाउ सहज हुनुका साथै पर्यटकीय गतिविधि बढेको हो । स–साना रेष्टुराँ, खाजाघर खोलेर स्थानीयवासी आयआर्जनमा जोडिएका छन् । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पुल बनेपछि बागलुङले नयाँ गन्तव्यस्थल पाएको बताए ।

‘लामो पुलले नयाँ पर्यटकीय आकर्षण थपेको छ, बाहिरबाट पर्यटक पनि आइरहेका छन्’, उनले भने, ‘पहिले रातिको समयमा पुलमा झिलीमिली बत्ती बल्थ्यो, अहिले त्यो नहुँदा सौन्दर्य केही घटेजस्तो भएको छ ।’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत रु १२ करोड २२ लाखको लागतमा उक्त पुल बनेको हो । अध्यक्ष चोखालले आन्तरिक पर्यटक बागलुङ आउने दिनभर घुम्ने र साँझ फर्कने गरेको स्थितिलाई फेर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्