१ जेष्ठ २०८१, मंगलवार

 

आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई गृहको निर्देशन

गृहमन्त्रालयले आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको हो ।

सरकारको निर्देशनविपरीत पूर्वस्वीकृति नलिइ यसरी कूटनीतिक नियकाका अधिकारी र दलका नेताहरुलाई भेटेमा कारबाही हुने चेतावनी गृहले दिएको छ। गृहले यो नियमको प्रभावकारी अनुगमन गर्न पनि भनेको छ। यो अनुगमन र निगरानीको व्यवस्था सम्बन्धित संगठन प्रमुहरुले गर्नुपर्ने भएको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार विभागीय स्वीकृति बिना नेता र कुटनीतिक नियोगहरुमा भेटघाट गर्ने सुरक्षा पदाधिकारीलाई कारबाही हुने छ । गृहमातहतमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन्। राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ। नेपाली सेना रक्षामन्त्रालयमातहत छ।

यसअघि सरूवा बढुवादेखि संवैधानिक निकायमा नियुक्तिका लागि सुरक्षाअधिकारीहरु दलका नेताका घरदैलोमै धाउने चलन थियो। केही सुरक्षा अधिकारीहरु काठमाडौंस्थित कूटनीतिक निकायमा पुग्दा विवाद हुने गरेको थियो। तर गृहमन्त्रीमा रवि लामिछाने आएसँगै सुरक्षाअधिकारीहरुको आफूखुसी भेटघाटमा लगाम कस्न थालेका हुन्।

प्रतिक्रिया दिनुहोस्