२ जेष्ठ २०८१, बुधबार

 

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ …!

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै। ख्याल ख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो। कस्तो दुर्भाग्य।प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काएका थिए–

‘हे… सब मरिन्छ, त्यही अन्तिम वर्षमा
बाँचुञ्जेली बाँचम् न हर्षमा…’

जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप भएकी छन्। बाइस वर्षको अल्पायुमै उनको इहलीला सकिएको हो।

पोखराको सेतीखोंचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो। लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुपर्‍यो।

गत वर्ष उनी आफैंले गाएको गीतले भनेझैं, निराका लागि यस वर्ष (२०७९) नै अन्तिम बन्यो। न अब कतै युट्युबमा, न मेला र महोत्सवका झकिझकाउ मञ्चमा उनलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइने छ। केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनेछिन्।

बागलुङको बडिगाड गाउँपालिका ३ सिसाखानीमा जन्मेकी निराको जीवनभर नेपाली लोकसंगीतको सेवा गर्ने उत्कट अभिलाषामा पनि ठेस पुगेको छ।लोकगायक विष्णु खत्रीले नेपाली संगीत जगतले एउटा प्रतिभावान कलाकार गुमाएको प्रतिक्रिया दिए।

प्रत्यक्ष लोकदोहोरीमा उहाँको छुट्टै पहिचान बनिरहेको थियो, मञ्चीय कार्यक्रममा उहाँको प्रस्तुति आकर्षक हुने गर्थ्योु, गायक खत्रीले सम्झिए।गायक खत्री र गायिका छन्त्यालको सहकार्यमा गत वर्ष पञ्चेबाजा गीत ‘फूल केशरी’ सार्वजनिक भएको थियो।

बैनीले अर्को गीत गर्नुपर्छ है दाइ भनिरहनुभएको थियो, नयाँ शैलीको दोहोरीबारे सरसल्लाहमै थियो, अब अधुरै रहने भयोु, खत्रीले सुनाए।उनीहरूबीच बुधबार बागलुङको भीमपोखरामा हुने माघे सङ्क्रान्ति मेलामा एउटै मञ्च साझा गर्ने तय भइसकेको थियो। खत्रीकै समन्वयमा निरा भीमपोखराको मेलामा जाँदै थिइन्। स्थानीय प्रगतिशील युवा क्लबले उनीहरूलाई आमन्त्रण गरेको थियो।

गायिका निराको निधनले मर्माहत बनेका गायक खत्रीले भीमापोखराको उक्त मेलामा आफू पनि नजाने निधो गरेका छन्।बैनीको दुःखद् घटनापछि मैले पनि त्यो मञ्चमा उक्लिएर एक्लै गीत नगाउने निर्णय गरेँं, गायक खत्रीले भने, मैले नै सिफारिस गरेर निरा बैनी भीमापोखरा आउने योजना बनेको थियो।

आइतबार माघे सङ्क्रान्तिका अवसरमा पोखरामा हुने छन्त्याल समुदायको कार्यक्रममा भाग लिएर गायिका छन्त्याल मङ्गलबार म्याग्दी महोत्सवमा पुग्ने समयतालिका थियो। त्यहीँबाट बागलुङको भीमापोखरा जाने कार्यक्रम थियो।

बैनी निरासँग मञ्चीय कार्यक्रममा दर्शक, स्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियोु, गायक खत्रीले भने, त्यहीँ कारण मेला, महोत्सवमा उहाँको व्यस्तता बढ्दो थियो, धेरैतिर बोलाउँथे।
सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल चार वर्षअघि काठमाडौं छिरेकी थिइन्।

गायनमा सफल हुँदै गएपछि उनको माग पनि बढ्दै गएको थियो। शनिबारमात्र काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रस्तुति दिएकी थिइन्। सोही दिन टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटु नाच प्रदर्शनका लागि पनि उनी सक्रिय भएर लागेकी थिइन्।

छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै सिसाखानी माविमा पूरा गरेकी थिइन्।बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मेकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ। उनको शव बुझ्न वडाध्यक्षसहित आफन्त पोखरा झरेका छन्।

प्रतिक्रिया दिनुहोस्