६ जेष्ठ २०८१, आईतवार

 

फागुण ७ देखि बागलुङ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

बागलुङ ।  आईतबारदेखि बागलुङमा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । बागलुङ नगरपालिकाले शनिबार पत्रकार भेटघाटको आयोजना गरी आइतबारबाट ३ दिनसम्म बागलुङको बाङ्गेचौर खेल मैदानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

पहिलो दिन फागुन ७ गते बागलुङको बालमन्दिर आधारभूत विद्यालयबाट बाङगेचौर खेल मैदानसम्म ¥याली सहित मार्च पास गरी उद्घाटन गर्ने तयारी गरिएको छ । पहिलो दिन छात्र छात्रा भलिबल, एथ्लेटिक्स तर्फ एक सय, दुई सय, चार सय, पन्द्र सय मिटर दौड, हाइजम्प, लमजम्प र छात्र छात्रा त्रिपल जम्प हुने नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले बताउनु भयो ।

दोश्रो दिन ३ हजार मिटर दौड, एक सय, ४ सय र आठ सय मिटर छात्र छात्रा रिले दौड प्रतियोगिता, मार्सल आट्र्स तर्फका उसु, तेक्वान्दो र कँराते, र कवड्डी, छात्र, छात्रा भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।

त्यस्तै अन्तिम दिन ९ गते कर्मचारी र जनप्रतिनिधीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सहित पुरस्कार वितरण र समापन समारोह हुने नगरपालिका शिक्षा शाखाका गौरव रानाले बताउनु भयो । प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी विद्यालयहरूले प्रतिस्पर्धामा भाग लिने भएका छन् ।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक बजेट भने नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका अनुसार गर्ने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो । खेललाई मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गर्ने दायित्व नगरबासीको रहेकोले सबैलाई सफल बनाउन नगर प्रमुख श्रेष्ठले आग्रह गर्नु भएको छ ।

विगतका वर्षहरुमा भन्दा यस वर्ष फरक र धेरै सहभागि गराई प्रतियोगिता सफल बनाउने नगरपालिकाले तयारी गरेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।खेलकुदको माध्यमबाट नगरपालिकाको पहिचान दिने गरि आफुहरु लागेको भन्दै खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएर कार्यक्रम संचालन गर्ने बताउनु भयो ।

विद्यालय स्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरूलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

सो अवसरमा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले फागुण १४ र १५ गते हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिनु भएको थियो । प्रतियोगितामा बागलुङ जिल्लाका सबै पालिकाका खेलाडीहरु सहभागि हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्