४ जेष्ठ २०८१, शुक्रबार

 

बागलुङ नगरपालिकाले जित्यो ११ औं राष्ट्रपति रनिङ शिल्ड

बागलुङ —  एघारौं राष्ट्रपति कप खेलकुद प्रतियोगिताको शिल्ड बागलुङ नगरपालिकाले उचालेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा १८ स्वर्ण पदक, १३ रजत पदक र १० कास्य पदक गरी ४१ पदकसहित पहिलो भएको हो ।

दसवटा पालिकाले भाग लिएको प्रतियोगिताको शिल्ड बागलुङ नगरले लगातार तीन पटक जितेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठलाई शिल्ड हस्तान्तरण गरे ।

प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र १७ कास्य गरी ३१ पदक जितेर बडिगाड गाउँपालिका दोश्रो तथा ६ स्वर्ण, ७ रजत र ५ कास्य १८ पदक जितेर गलकोट नगरपालिका तेस्रो भयो । ९८ स्वर्ण, ९८ रजत र १ सय १० कास्य पदकका लागि खेल भएको थियो ।

खेलको आर्कषणको रुपमा रहेको पुरुष भलिबलको उपाधि गलकोटले उचालेको छ । महिलातर्फको उपाधि भने बरेङ गाउँपालिकाले उचाल्यो । मंगलबार भएको पुरुषतर्फको फाइनल खेलमा गलकोटले जैमिनी नगरपालिकालाई २३–२५, २५–१५ र २५–१८ को सेटमा जित हात पारेको थियो ।

फाइनल प्रवेशका लागि भने सोमबार भएको खेलमा गलकोटले बडिगाड गाउँपालिकालाई २५–२० र २५–२० को सेटमा पराजित गरेको थियो । जैमिनीले फाइनल यात्राका लागि निसीखोला गाउँपालिकालाई २०–२५, २५–१५ र २५–१९ ले पराजित गरेको थियो । तेस्रो स्थानको खेलमा भने बडिगाड गाउँपालिकाले निसीखोलालाई पराजित गरेर स्थान सुरक्षित बनायो । बडिगाडले २५–१६, २५–१६ र २५–२२ को सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा ३ हजार मिटर दौड प्रतियोगितामा छात्रतर्फ काठेखोला गाउँपालिकाका बादल कार्की प्रथम भएका छन् । उनले ३ हजार मिटरको दूरी १० मीनेट १० सेकेन्डमा पार गरे । त्यस्तै निसीखोलाका ध्रुव घर्तीमगर द्वितीय र बडिगाडका मनिष पुनले तृतीय भए । घर्तीमगरले १० मिनेट ३४ सेकेन्ड र पुनले १० मीनेट ४० सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए ।

छात्रातर्फको ३ हजार मिटर दौड प्रतियोगिता निसिखोलाकै शर्मिला विकले जितेकी छिन् । उक्त दूरी विकले १३ मिनेट १० सेकेन्डमा पार गरिन् । प्रतियोगितामा बरेङकी कोपिला क्षेत्री द्वितीय र बडिगाडकी बेदना पुन तृतीय भइन् । सोही दूरी क्षेत्रीले १३ मिनेट ३३ सेकेन्ड र पुनले १४ मिनेट १२ सेकेन्डमा पार गरिन् ।

२ सय मिटर छात्रा दौड गलकोटकी देवी दर्जी प्रथम जैमिनीकी स्मृति हमाल द्वितीय र बागलुङ नगरपालिकाकी पूजा खत्री तृतीय भइन् । ४ सय मिटर दौडमा गलकोटकी इन्दिरा पौडेल, बडिगाडकी सिर्जना खत्री र जैमिनीकी स्वस्तिका परियार प्रथम, द्वितीय र तृतीय भए ।

तस्वीर खबरवेबाट

प्रतिक्रिया दिनुहोस्