७ जेष्ठ २०८१, सोमबार

 

मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

बागलुङ । बागलुङमा शुक्रबारबाट मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिमको सुरु भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जनअधिकार संरक्षण मञ्च पिपिआर नेपालको संयोजनमा तालिम संचालन गरिएको हो ।

वडास्तरमै मेलमिलापकर्ताको उत्पादन गरी न्याय सम्पादनलाई सहज बनाउनका लागि नगरका १४ वटा वडाका सहजकर्ता सहभागि गराई तालिम संचालन गरिएको छ ।

तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले स्थानीय तहका ससाना समस्या समाधान गर्नका लागि मेलमिलाप केन्द्रले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । न्याय नपाएर पीडित भएका नागरिकलाई सहज रुपमा न्याय दिलाउनका लागि मेलमिलापकर्ताको भूमिका महत्वपुर्ण हुने जोड दिनुभयो ।

कार्यक्रममा नवआगन्तुक सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंत बराल, जिल्ला अदालतका श्रेस्तेदार सूर्य भण्डारी र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक राजाराम खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बागलुङ नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक राजु खड्काको अध्यक्षता, वडा नम्वर ११ का अध्यक्षता तथा न्यायिक समितिका सदस्य ज्ञानेन्द्र गौतमको स्वागत र नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिका अन्र्तगतका ८ वटा वडामा मेलमिलाप केन्द्र स्थापना भईसकेको र अब ६ वटा केन्द्रमा स्थापना गर्ने तयारी रहेको बागलुङ नगरपालिकाले जनाएको छ ।

८ दिनसम्म संचालन हुने तालिममा बागलुङ नगरपालिका अन्र्तगतका २५ जनाले सहभागिता जनाएका छन् ।तालिमको सहजिकरण अधिवक्ता ममता देवी शर्मा र अधिकारकर्मी गिता श्रीस लगायतले गर्ने जनाएको छ ।

मेलमिलापकर्ताले वडा स्तरमा रहेका मेलमिलाप केन्द्रमा रहेर मेलमिलापको काम गर्ने छन् । गाउँका समस्या स्थानीय स्तरमा नै समाधानको निमित्त योग्य व्यक्ति बनाउन तालिम आयोजना गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्