१५ बैशाख २०८१, शनिबार

 

कुँडुले फेदीमा बैशाख ११ देखि शालग्राम महोत्सव हुने

बागलुङ नगरपालिका ४ कुँडुले फेदीमा शालग्राम महोत्सव हुने भएको छ । कुँडुलेमा रहेको शालग्राम संग्रहालय प्राङगणमा आममी बैशाख ११ गते देखि १५ सम्म शालग्राम महोत्सव तथा सहित्य संगीत एवं साधना संगम हुने भएको हो । कृष्ण गण्डकीको महत्व, शालग्रामको महिमाको प्रचारप्रसार एवं रङ्गवेंकटेश मुक्तिनारायण भगवानलाई नयाँ मन्दिरमा प्रतिस्थापन गरिएको प्रथम वार्षिकोत्सवको अवसरमा महोत्सव आयोजना गरेको वुधबार पत्रकार भेटघाग गरि जानकारी गराइएको छ ।

कालिगण्डकी नदीमा मात्र पाइने तथा हिन्दु धर्मावलम्बीहरुले अति पुज्य मान्ने शालग्रामको संरक्षण गर्ने उदेश्यले निर्माण गरिएको संग्रहालय थप प्रचारप्रसार, वैदिक संस्कार संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्ने उदेश्यले महामहोत्सव आयोजना गरिएको परिकल्पनाकार तथा मन्दीरका अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्यले बताउनु भयो ।

पहिलो दिन बैशाख ११ गते कालीगण्डकी र शालग्राम गौरवगाथा विषयक कविगोष्ठी सहहित समुद्घाटन, १२ गते कालीगण्डकी र शालग्राम कथाव्याथा विषयक रत्यौलीसहित आध्यात्मिक प्रवचन, १३ गते कालीगण्डकी र शालग्राम महिमा विषयक आध्यात्मिक भजन झाँक्र तृत्यसहित आध्यात्मिक प्रवचन, १४ गते कालीगण्डकी र शालग्राम कथाव्इाथा विषयक आध्यात्मिक दोहोरी र हास्यकलाकार दाह्रीबाको आध्यात्मिक प्रहसन, र १५ गते प्रवचन, पुरस्कार, सम्मानसहित समापन गरिने स्वामी ऋषी प्रपन्नाचार्यले बताउनु भयो ।

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीमा षडाचार्य स्वामी श्रीधराचार्यले २०४० सालमा स्थापना गरि संचालित रंगवेंकटेश मुक्तिनारायण मन्दीर जिर्ण भएकोले नेपाली वास्तुशैलीमा श्रीराम नाम अंकित गण्डकी शीलाद्धारा स्वदेशी सामग्री प्रयोग गरिएको विशाल कलात्मक मन्दीर एवं हालै निर्माण गरीएको अलौकिक शालग्राम संग्रहालयको प्रवर्द्धन गर्न महामहोत्सव आयोजना गरिएको हो । संग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनीकक्ष बनाइएको छ ।

एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू–बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना तयार गरिएको छ ।सङ्ग्रहालयमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् । मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उद्गमस्थल हो ।

भौगोलिक नक्साअनुसारकै नमूना तयार पार्न नेपाली सेनाले सघाएको थियो । गण्डकी सभ्यता देखाउने नक्साङ्कनलाई सिसाले घेरिएको छ । त्रिशूल आकारमा रहेको सुरुङको बाँयापट्टि धार्मिक महत्वका एक लाख २५ हजार शालिग्राम राखिएको छ । चौध वर्ष लगाएर सङ्कलन गरिएका शालिग्राम सङ्ग्रहालयमा राखिएको अध्यक्ष प्रपन्नाचार्यको भनाइ छ । सङ्ग्रहालयमा मन्दिरका संस्थापक स्वामी श्रीधराचार्यको स्मृतिकक्ष पनि बनाइएको छ ।

समुद्री अवशेषहरुलाई पनि नमूनाका रूपमा देखाइएको छ । पाठपूजा, हवनजस्ता धार्मिक कार्यमा प्रयोग हुने परम्परागत सामग्री एवं उपकरण पनि सङ्ग्रह गरिएको छ । सुरुङको दायाँपट्टि ११२ जना अट्ने प्रदर्शनीकक्ष निर्माण गरिएको छ । शालिग्राम सिलाको महत्वसँगै दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मका नदी, मठ मन्दिरका नक्सा तथा शालिग्राम र गण्डकीको महत्व र महिमामा केन्द्रीत वृत्तिचित्र समेत राख्ने तयारी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्