१ जेष्ठ २०८१, मंगलवार

 

सेवाग्राहीको चाप हुने बागलुङका सरकारी कार्यालय सार्वजनिक विदाका दिन पनि खुल्ने

बागलुङ जिल्ला प्रशासन कार्यालयसहित १३ सरकारी कार्यालयले सार्वजनिक विदाको दिन पनि सेवा दिने भएको छ । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह हुने सबै खाले सेवा दिइने बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यालयका अनुसार यो वर्ष सार्वजनिक बिदा दिइएको १६ दिन पनि कार्यालय खुल्ने छन् । वैशाख २२ गते (उभौली पर्व, बुद्ध जयन्ती), जेठ १५ गते (गणतन्त्र दिवस), भदौ १४ गते (रक्षाबन्धन), भदौ २० गते (श्रीकृष्ण जन्माष्टमी), असोज २८ गते (घटस्थापना) र पुस ९ गते (क्रिसमस डे) को दिनमा सेवा प्रवाह हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यी सबै दिन सार्वजनिक बिदा छन् ।

त्यस्तै पुस १० गते किराँत समुदायको उभौली पर्व, योमरी पुन्ही र पुस १५ को तमु ल्होसारका दिनमा पनि कार्यालय खुल्नेछ । पुस २७ गतेको पृथ्वी जयन्ती र माघ १ गतेको माघी पर्वका दिन पनि कार्यालय खुल्ने बरालले जानकारी दिए । फागुन १ गते (जनयुद्ध दिवस), फागुन ७ (प्रजातन्त्र दिवस), फागुन २५ (महाशिवरात्री), फागुन २८ (ग्लोल्पो ल्होसार/बकर इद) को दिन पनि प्रशासन कार्यालयबाट नियमित रुपमा सेवा प्रवाह हुनेछ ।

जिल्ला प्रशासन, प्रहरी, आन्तरीक राजश्व, पर्यटन, मालपोत, नापी र जिल्लामा रहेका सबै स्थानीय तहका कार्यालय, भेटेरीनरी अस्पताल, खानेपानी डिभिजन, विद्युत वितरण केन्द्र र यातायात व्यवस्था कार्यालयलाई शनिबार बाहेकका सार्वजनिक बिदाका दिन समेत सेवा प्रवाहका लागि निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनु भयो ।

बैंक तथा बित्तिय संस्थाहरु, अस्पताल तथा क्वारेन्टाईनहरु र अन्य अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयलाई सरकारले गरेको निर्णय अनुसार गर्न भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्