१७ कार्तिक २०८३, सोमबार

 

श्रमजीवि पत्रकारहरुको अवस्था, चुनौती र भावी रणनीति विषयक अन्तरक्रिया सम्पन्न

बागलुङ । श्रमजीवि पत्रकारहरुको अवस्था, चुनौती र भावी रणनीति विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा भएको कार्यक्रममा पत्रकारहरुले जिल्लाको अवस्था, पत्रकारहरुको अगाडि उभिएको चुनौती र समस्याहरुको बारेमा आफनो धारणा राखेका थिए ।

कार्यक्रममा पत्रकारहरु किरण आचार्य, प्रकाश बराल, सुभाष गौतम, प्रदिप पन्त, घनश्याम गौतम, सृजना पन्त, अनिष खाती, संगम घर्तीले न्यूनतम पारिश्रमिक निर्धारण समितिको भूमिका र औचित्यमाथि प्रश्न उठाउदै कोभिड र युक्रेन रुस युद्धले अर्थतन्त्रमा पारेको प्रभाव र नेपाली विज्ञापनको बजारमा देखिएको संकटले संचार माध्यम र पत्रकारहरुको जिविकामा पारेको गम्भीर असरको बारेमा खुलेरै चर्चा र विमर्श गरेका थिए ।

 

 

न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यहरु शान्ता अधिकारी र माधव पनेरुले श्रमजीवि पत्रकारहरुको अवस्था र बदलिदो चुनौती बारे प्रकाश पार्नु भएको थियो ।

पत्रकारहरुले पाउने न्युनतम पारिश्रमिकदेखि अन्य सेवा सुविधाहरुको बारेमा सबै सरोकारवालाहरुले संगठित रुपमा एक भएर यसको समाधान खोज्नु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले विश्वमा देखिएको नयाँ नयाँ चुनौतीका कारण पत्रकारहरुले आफूलाई थप सृजनशिल बनाउदै अगाडि बढ्नु पर्ने बताउनु भयो । पत्रकारहरु अध्ययनशिल हुनु पर्ने, खोजमुलक विषयमा जिज्ञासु र आफनो भाषा शैलीमा पनि निखार ल्याउन सके बल्ल आर्थिक रुपले सबल संचार माध्यमले भने जस्तो सुविधा दिएर राख्ने राजभण्डारीले भन्नु भयो ।

बागलुङ जिल्लामा भिन्न भिन्न भूगोलमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुको फरक फरक अवस्था र चुनौती भएको र धेरै पत्रकारहरुले न्यूनतम पारिश्रमिक पनि पाउन नसकेकोले यस्तो विषयमा संचालकहरुसंग पनि बसेर यसको समाधान खोज्नु पर्ने नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यवाहक अध्यक्ष सरिता खत्रीले बताइन् ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यवाहक अध्यक्ष सरिता खत्रीको अध्यक्षता र सचिव विजया रानाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung