६ जेष्ठ २०८१, आईतवार

 

बागलुङमा नेवार समुदायको रोपाईं नाचको रौनक ( फोटो फिचर )

बागलुङ । बागलुङ बजारमा बसोबास गर्ने नेवार समुदायले आईतबार रोपाईं जात्रा प्रर्दशन गरेका छन् । गाईजात्रा सप्ताहको अवसरमा यहाँका नेवार समुदायले विगतदेखि नै रापाईं जात्रा मनाउँदै आएका हुन् ।

जात्रामा रोपाईंका बेला धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । नेवार युवाहरुको संस्था नेवा ल्याम पुचको आयोजना र नेपाल भाषा मंका खलको समन्वयमा रोपाई नाच प्रदर्शन गरिएको हो ।बागलुङ बजारको नारायणचोकबाट सुरु गरिएको रोपाईंनाच बजारका मुख्य चोकहरुमा प्रदर्शन गरिएको थियो ।

रोपाइ जात्रा मनाउन बाउसे तथा खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ असारे गीत गाउँदै र नाँच्दै रमाईलो गरिएको थियो । रोपाईं जात्रा धानको रोपाइ सकेपछि मनाउने विगतदेखिकै चलन हो ।

यो नेवार संस्कृति हो । रोपाईं जात्रामा सहभागि कलाकारहरूले समूह गत रूपमा विभिन्न भावभंगीमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । खेतमा धान रोपेको खुशीयालीमा रमाईलो गर्दै यो जात्रा मनाउने चलन रहेको छ ।

असारे मासको डबडबे हिलो, छुनलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा ,छ बिसे रिन लाग्यो

उकाली लाग्यो आरालो लाग्यो, हिउदे सिमिलाई
जहिले म आउछु सुतेको देख्छु, के भयो तिमिलाई

जालहारी दाईले जाल हान्यो ,जाल परयो दोभान
अर्काकी छोरी नभन्दो रहेछ ,यो पापी जोवन

सानोमा सानो बोकाको पाठो ,भैरवलाई भाकेको
पन्ध्र्रमा पुगि सोह्रमा लागे, हजुरलाई ताकेको

बागलुङ बजारमा हिजो नेवा ल्याम पुचले कटुवाल नाच निकालेको हो । यस नाचमा पनि युवा विभिन्न रूपका मुखुन्डो धारण गरेर मृदङ्गको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ । हली, बाउसे, खेताल्नीलाई भोलिपल्ट हुने रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने चलन रहेको नेवा ल्याम पुचका अध्यक्ष जय राजभण्डारीले बताउनु भयो ।

कटुवाल नाचको यस्ता रोचक गीतले सबैले मनोरन्जन दिनुको साथै सास्कृतिक विविधतालाई झल्काउछ।

श्रीमा श्री

धौलागिरि
अक्षर जम्मै
किरि र मिरि
म जस्तो कटुवाल
तिमी जस्तो कटुवाल्नि
आउने छैन
फेरिमा फेरि
भोलि
नाडि बजेर भुत्ला मिनेट जादा
फलानोको
छैन मुरी खेत
रोप्ने भएकोले
घर घरबाट
टोल टोलबाट
एक एक जना खेताल्नी
खेताल्नी कस्तो भने
हात नभएको
आखा नभएको
लाटि
पठाई दिनु होला
पठायो भने पठायो
पठाएन भने
एउटा फर्सी दण्ड

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्