१ जेष्ठ २०८१, मंगलवार

 

बागलुङका प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भक्तपुर सरुवा

बागलृुङ । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले सोमबार श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरेको हो ।

सोमबार मन्त्रालयले बागलुङ सहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित १० सहसचिवको सरुवा गरिएको छ । गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत सहसचिवसहित बागलुङ, रुपन्देही, भक्तपुर, महोत्तरी र दाङका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी श्रेष्ठ भक्तपुर सरुवा गरेपनि बागलुङमा भने नयाँ प्रजिअ खटाइएको छैन । गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरणमा कार्यरत श्रेष्ठलाई गत माघमा बागलुङको प्रजिअ बनाई पठाएको थियो । बागलुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएका श्रेष्ठले ७ महिना बागलुङको प्रमुख जिल्ला अधिकारी हुँदा विवादरहित तवरले काम गर्नु भएको छ ।

श्रेष्ठले आफ्नो कार्यकालमा विभिन्न सल्लाह सुझाव दिने राजनैतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, आम नागरिक, सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

प्रजिअ श्रेष्ठले बागलुङ बसाई फलदाई भएको र सौहार्दपूर्ण वातावरणमा ७ महिना जिल्लाको नेतृत्व गरेको नयाँ विश्वलाई बताउनु भयो । जिल्लाको शान्ति, सुरक्षा, सुशासन र सेवा प्रवाहमा आफूले राज्यले तोकेको परिधिमा रहि काम गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्