४ जेष्ठ २०८१, शुक्रबार

 

पर्वतमा जिप बगाउँदा बेपत्तामध्ये १ जनाको शव फेला, चालक प्रहरी नियन्त्रणमा

बागलुङ । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जिपलाई तमादीखोलामा आएको बाढीले बगाउँदा जिपसहित बेपत्ता भएका तीन जना यात्रुमध्ये १ जना पुरुषको शव फेला परेको छ ।

कुश्मा नगरपालिका ८ को मोलीखोला र तमादीखोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले नयाँ विश्वलाई बताउनु भयो ।

जिपमा सवार भनिएका ३ जना्मध्ये २ जनाको पहिचान भएको तर शव कस्का हो पुष्टि हुन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिपमा सवार मध्ये रुपन्देही घर भएका गोपाल वस्नेत र कास्की घर भएका विजय पौडेलको पहिचान भएको छ । उनीहरुको पारिवारिसँग प्रहरीले सम्पर्क गर्न लागेको प्रहरीले जनाएको छ । थप १ जनाको पहिचान हुन बाँकी रहेको छ ।

उनीहरु दुई जना लोकतान्त्रिक चोकबाट र एक जना ट्राफिक चोकबाट जिपमा चढेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख मिनबहादुर खड्काले जानकारी दिनु भयो।

बेपत्तामध्ये दुई जना शनिबार विहान सोहि जिप चढे्र पोखराबाट बागलुङ आएको र साँझ सोही जिपमा फर्किएको जनाइएको छ ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने मध्य पहाडी लोकमार्गको तमादीखोलामा आएको बाढीले बगाएको जिप टुक्रा टुक्रा परेको अवस्थामा ५ सय मिटर तलसम्म बगेको अवस्थामा फेला परेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्