२१ बैशाख २०८१, शुक्रबार

 

इजरेलमा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकार के गर्दै छ

इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चर्केको लडाइँका क्रममा निधन भएका १० नेपालीको शव पहिचान गर्ने काम अन्तिम चरणमा रहेको परराष्ट्र मन्त्रालयले बताएको छ।

आइतवार राति तेल अभिभस्थित नेपाली दूतावासले एउटा वक्तव्य जारी गर्दै हालसम्म इजरेलमा ज्यान गुमाउनेमध्ये १० जना नेपाली भएको गएको पुष्टि गरेको थियो।

त्यसपछि आइतवार राति नै एउटा वक्तव्य जारी गर्दै मन्त्रालयले शव पहिचानको कार्य अन्तिम चरणमा रहेको जनाएको हो।

मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरेल सरकार समक्ष अनुरोध भइसकेको छ।”

तेल अभिभस्थित नेपाली राजदूतावासका अनुसार हालसम्म इजरेलको गाजासँग सीमा जोडिएको क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकले ज्यान गुमाएका, एक जना सम्पर्कविहीन रहेका र चार जना घाइते अवस्थामा रहेका पुष्टि भएको छ।

मन्त्रालयले इजरेलबाट स्वदेश फर्कन चाहनेहरूलाई नेपाल ल्याउने पहल पनि भइरहेको जनाएको छ।

मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “‘नेपाली नागरिकहरूको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको छ।”

को हुन् मृतक ?

दूतावासका अनुसार अहिले तेल अभिभस्थित विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको र हवाई मार्गमार्फत् आवतजावत पुमः सञ्चालन भइसकेको जानकारी प्राप्त भएको छ।

मृतकहरूमा अधिकांश सूदुरपश्चिम प्रदेशका छन् भने कर्णाली, मधेश र कोशी प्रदेशका पनि रहेका छन्।ती विद्यार्थीहरू नेपालबाट ‘लर्न एन्ड अर्न’ योजना अन्तर्गत इजरेलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका थिए।

हमासको आक्रमणबाट मारिएका नेपालीहरू सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि गाजा नजिकै पर्ने दक्षिण इजरेलको किबुज अलुमिम क्षेत्रको एउटा फर्ममा कार्यरत रहेको बताइएको छ।

सरकार अरू के गर्दै छ ?

इजरेलको पछिल्लो घटनाक्रमबारे जानकारी लिन र नेपाली नागरिकहरूलाई सहायता गर्नका लागि एउटा संयन्त्र पनि बनाइएको मन्त्रालयले जनाएको छ।

उसले जारी गरेको वक्तव्यमा भनिएको छ “इजरेलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकको निर्देशनअनुसार माननीय परराष्ट्रमन्त्रीज्यूको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको र उक्त संयन्त्रले इजरेलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको छ।”

“यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ।”

“द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरूको यथाशीघ्र उद्धार गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।”

मन्त्रालयले इजरेलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

उसले भनेको छ, “यस कठिन परिस्थितिमा इजरेलमा रहेका सम्पूर्ण नेपालीलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।”

इजरेलस्थित नेपाली दूतावासले नेपाली समयानुसार आइतवार राति जारी गरेको वक्तव्यमा भनिएको छ, दक्षिण इजरेलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको दुःखद निधन भएको छ भने चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। साथै सम्पर्कविहीन रहेका एकजना नेपालीको खोजीकार्य भइरहेको छ।

शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको छ।

दूतावासले नेपाल फर्कन चाहनेका लागि पनि पहल भइरहेको जनाएको छ।

वक्तव्यमा उसले भनेको छ, नेपाल फर्कन इच्छुक हुने नेपालीहरूको स्वदेश फिर्तिको लागि राजदूतावासबाट नेपाल सरकार र इजरेल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनको लागि छिट्टै अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरिँदै छ।

निधन भएका नेपालीहरूको शव फिर्ता गर्न र इच्छुक नेपालीहरूलाई उद्धार गरी स्वदेश फिर्ता गराउन नेपाल सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ। इजरेलमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई संयम अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ।

आइतवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले गाजा क्षेत्रनजिकै रहेको एउटा कृषि फर्ममा काम गर्दै सिक्ने योजनाअन्तर्गत रहेका १७ जना नेपालीमध्ये तीन जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र दुई जना सकुशल रहेको जानकारी दिएका थिए।

उनले १२ जना नेपालीहरू भने सम्पर्कविहीन रहेको जानकारी सदनलाई गराएका थिए भने केही नेपाली हताहत भएको पनि हुनसक्ने बताएका थिए।

त्यसअघि परराष्ट्रमन्त्रालयले शनिवार साँझ एउटा विज्ञप्ति जारी गर्दै १४ जना कामदार कार्यरत एउटा कृषि फर्ममा आक्रमण भएको र त्यसमा नौ जना घाइते भएका विवरण आएको जनाएको थियो।

मृतकको सङ्ख्या १,००० नाघ्यो

उसले गाजा क्षेत्रनजिकै रहेका नेपाली नागरिकहरूको उद्धारका लागि आवश्यक समन्वय भइरहेको जनाएको थियो।

“घाइतेहरूको औषधोपचार, उद्धार र सुरक्षाका लागि नेपाली दूतावासले इजरेली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको छ,” मन्त्रालयले वक्तव्यमा उल्लेख गरेको थियो।

शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ सुरु भएको थियो। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।

दुवैतिर गरी सोमवार बिहानसम्म १,१०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

गम्भीर रूपमा घाइते भएका मानिसको सङ्ख्या उच्च रहेकाले मृतकको सङ्ख्या अझै बढ्ने इजरेली सुरक्षा निकायहरूले जनाएका छन्।

इजरेलले गरेको हवाई आक्रमणका कारण गाजा क्षेत्रबाट १,२३,००० मानिस विस्थापित भएका छन्।

इजरेलमा कति नेपाली छन् ?

प्रतिनिधिसभाको आइतवारको बठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरेलमा नेपालीहरूको अवस्थाबारे जानकारी दिएका थिएका थिए।

परराष्ट्रमन्त्रीले नेपाल सरकार नेपालीहरूलाई आवश्यक पर्ने सबै सहयोग गर्न र उद्धार गर्नुपर्ने भएमा त्यो पनि गर्ने अवस्थामा रहेको जानकारी सदनलाई गराए।

उनले त्यसका लागि सरकारले एउटा उच्चस्तरीय संयन्त्र बनाइसकेको र आवश्यकता अनुसार त्यसले काम गर्ने बताए।

साउदले भने, “दक्षिणी इजरेलमा रहेका नेपालीको सुरक्षाको प्रत्याभूति गर्न नेपाली दूतावासलाई निर्देशन दिइएको छ र त्यहाँ उद्धार गर्नु परेमा त्यसको व्यवस्था मिलाइने छ।”

हाल इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत रहेको र २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा रहेको पनि उनले जानकारी दिए।

परराष्ट्रमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा घाइते नेपालको उपचार र उद्धारबारे पनि छलफल भएको उल्लेख छ।

परराष्ट्र मन्त्रालयको आग्रह

यसैबीच आइतवार साँझ परराष्ट्र मन्त्रालयले एउटा सूचना प्रकाशित गर्दै इजरेलमा उत्पन्न परिस्थितिूका कारण अलपत्र परेका नेपालीहरूका लागि सम्पर्क व्यक्ति तोकेको जनाएको छ।

त्यसमा भनिएको छ, ।।। विकसित पछिल्लो घटनाक्रमका कारण अलपत्र पर्नुभएका नेपालीहरुलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका लागि देहायबमोजिमका व्यक्तिहरुलाई सम्पर्क व्यक्ति तोकिएको जानकारी गराइन्छ।ू

गाजा आसपासका विद्यार्थी उद्धारको पर्खाइमा

गैरआवासीय नेपाली सङ्घ इजरेलका अध्यक्ष श्रीकृष्ण भण्डारीले केही नेपाली विद्यार्थीको मृत्यु भएसँगै गाजा आसपासको इजरेली क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूलाई सम्पर्क गरेर सुरक्षित स्थानमा जान चाहेको बताएको जानकारी दिए।

उनले गाजा क्षेत्र आसपासमा रहेका नेपालीहरूलाई तेल अभिभलगायतका सुरक्षित स्थानमा ल्याउनका लागि नेपाली दूतावासलाई आफूहरूले आग्रह गरेको पनि बताए।

उनले भने, गाजा क्षेत्रको आसपास रहेका नेपाली विद्यार्थीहरूलाई हामीले तत्काल सुरक्षित स्थानमा ल्याउनुपर्छ भनेर दूतावासलाई दबाब दिइरहेका छौँ। र, दूतावासले उनीहरूलाई बसोबासको प्रबन्ध मिलाउने आश्वासन हामीलाई दिएको छ।

आवश्यक परेका बखतमा यहाँ रहेका नेपालीहरूलाई सहयोग गर्न हामी तत्पर भएर बसेका छौँ र दूतावाससँग पनि समन्वयमा हामी आवश्यक सहयोग गर्न तत्पर छौँ।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्