४ जेष्ठ २०८१, शुक्रबार

 

भूकम्प पीडितलाई कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङद्वारा १२ लाखको लत्ताकपडा सहयोग

बागलुङ । भूकम्पका कारण जाजरकोट र रुकुममा भएको मानवीय र भौतिक क्षतिपछि भूकम्प पीडितहरुको लागि बागलुङमा सहयोग संकलन सुरु भएको छ ।

कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङले भूकम्प पीडितको लागि लत्ताकपडा र जुत्ता सहयोग गरेका छन्।

पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले बागलुङ बजारका फेन्सी व्यवसायीहरुबाट संकलन गरिएको लत्ताकपडा र जुत्ता कपडा तथा फेन्सी व्यावसायी समिति बागलुङका अध्यक्ष रामचन्द्र शर्माले बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यलाई हस्तान्तरण गर्नु भएको छ ।

आइतबार करिव १२ लाख मूल्य बरावरका ७ बोरा लत्ताकपडा र जुत्ता हस्तान्तरण गरिएको कपडा तथा फेन्सी व्यावसायी समिति बागलुङका कोषाध्यक्ष गोकुल कँडेलले जानकारी दिनु भयो । जाजरकोट तथा रुकुमपश्चिममा गएको भूकम्पका कारण थुप्रै नागरिकले ज्यान गुमाएको र थुप्रै परिवार घरबारविहीन भएका छन् ।

यस दुःखद् परिस्थितिमा सबै नेपालीले हातेमालो तथा सहयोग गर्न समितिले आग्रह समेत गरेको छ । भूकम्प पीडितहरुलाई तत्काल राहत र पुनर्स्थापनामा सहयोग गर्न सोमबार नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यको नेतृत्वमा उद्योगी, स्वास्थ्यकर्मी र पत्रकारको टोली जाजरकोट जान लागेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनु भयो ।

टोलीमा बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य, महासचिव ऋषि गौतम, सदस्य राजु गौतम, पूर्वकोषाध्यक्ष शिव कँडेल, बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दिनेश जिसी, पत्रकार प्रकाश बराल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्