१६ बैशाख २०८१, आईतवार

 

जलजला गाउँपालिकाका स्काभेटर चालक शर्मा कुटिए, कुटपिट गर्ने थापालाई प्रहरीले कारवाही गरेन

बागलुङ । पर्वतको जलजला गाउँपालिकाका स्काभेटर चालक कुटिएका छन् । तिहारको समयमा बाटो सरसफाई गर्न जलजला गाउँपालिका ८ नाग्लीवाङ गएका पालिकाका स्काभेटर चालक नारायण शर्मामाथि कुटपिट भएको हो ।

सडक सरसफाई गर्न गएका चालक शर्मालाई नाग्लीवाङ ओडारेका ४३ वर्षिय भूपेन्द्र थापाले कुटपिट गरेका हुन् । बिहिबार साँझ थापाको कुटाईबाट चालक शर्माको देव्रे हातको कुमको हड्डी भाचिएको छ ।

आफूले सडक सरसफाई गरेको समयमा एक्कासी मदिरा सेवन गरेर आएका थापाले ढुङगा वर्षाउदै स्केभेर रोकेर आफूलाई कुटपिट गरेको चालक शर्माले बताए । आफूमाथि कुटपिट हुँदा केही स्थानीय पनि त्यहाँ भए पनि स्थानीयले थापालाई रोक्न नसकेपछि प्रहरी आएपछि मात्र आफू स्काभेटरबाट बाहिर निस्कन सकेको पीडित चालक शर्माले बताए ।

प्रहरीले घाइते शर्मालाई उपचारको लागि बेनी लगेको भएपनि कुटपिट गर्ने थापालाई नियन्त्रण नलिइ छाडेको थियो । पछि शुक्रबार थापालाई जिल्ला प्रहरी कार्यालय पर्वत उपस्थित गराएपनि छाडेको छ । पीडित पक्षले जाहेरी नदिएको बहानामा प्रहरीले कुटपिट गर्ने थापालाई छाडेको हो ।

थापाको कुटपिटबाट घाइते भएको शर्माको बेनी अस्पतालमा उपचार हुन नसकेपछि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको भएपनि तिहारको समयमा चिकित्सक नभएको भन्दै ३० गते अप्रेशन गर्ने अस्पताल प्रशासनले बताएको घाइते शर्माकी श्रीमती शुशिला शर्माले जानकारी दिनु भयो ।

आफूहरु उपचारमा पोखरा रहेको समयमा प्रहरीले परिवारको तर्फबाट प्रहरीमा जाहेरी नआएको भन्दै प्रहरीले छाडेको पीडितको गुनासो छ । उता गाउँपालिका अध्यक्ष राजु आचार्यले स्काभेटर चालकमाथि कुटपिट गर्ने चालक प्रहरीले छोड्न नहुने भन्दै कुटपिट गर्नेलाई कारवाही हुनुपर्ने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्