५ जेष्ठ २०८१, शनिबार

 

डा. बुद्धिबहादुर थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्र श्रेष्ठलाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार

कास्की । नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्रा. डा. बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ अर्पण गरिने भएको छ । यस्तै, पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गरेकोमा दीपेन्द्र श्रेष्ठलाई ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ अर्पण गरिने भएको छ ।

स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील युआरएल फाउन्डेसनद्धारा गठित प्रतिभा छनोट समितिको बैठकले यस्तो निर्णय गरेको हो । गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी९युआरएल०ले सामाजिक सेवाकालागि स्थापना र प्रवद्र्धन गरेको फाउन्डेसनले पहिलो पटक लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागेको हो ।

युआरएलको १० औं वार्षिकोत्सवमा आयोजित समारोहमा अवार्ड र पुरस्कार अर्पण गरिनेछ । प्रा.डा. थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति हुनुहुन्छ । थापाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संस्थापक उपकुलपति भई स्वास्थ्य क्षेत्रमा नेतृत्व, सेवा, लोकप्रियता र जनस्वास्थ्यको सवाललाई सम्बोधन गरेकाले अवार्ड अर्पण गर्न लागिएको हो ।

पोखरा विश्वविद्यालयको संस्थापक सिनेटर रहेका प्राडा थापा सेतीगंगा सामुदायिक अस्पतालको दुई कार्यकाल अध्यक्ष हुनुहुन्थ्यो । उहाँ जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका बोर्ड डाइरेक्टर हुनुहुन्छ । थापा तनहुँ रत्नसहित विभिन्न सम्मानबाट विभूषित हुनुभएको छ ।

पत्रकारिता पुरस्कार यसअघि प्रादेशिक स्तरमा प्रदान गरिँदै आएको थियो । यसपालिदेखि फाउन्डेसनमार्फत् पुरस्कारलाई राष्ट्रिय स्तरको बनाई प्रदान गर्न लागिएको हो । पुरस्कार राशि ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र छ ।

पुरस्कृत हुन लाग्नुभएका पत्रकार श्रेष्ठ एभरेस्ट एफएममा आवद्ध हुनुहुन्छ । समाचार र समसामयिक संवादमूलक कार्यक्रमकालागि परिचित श्रेष्ठ स्वास्थ्य कार्यक्रम ‘हेल्थ इज वेल्थ’मार्फत् स्वास्थ्य सचेतना अभियानमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

श्रेष्ठको सो कार्यक्रम एभरेस्ट एफएम ९३ मेगाहर्जमा दैनिक राति ८.४५ बजे प्रशारण हुन्छ । श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्कीका निर्वतमान अध्यक्ष हुनुहुन्छ ।

पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनका लागि प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र लाइफ टाइम एचिभमेन्ट अवार्डका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नारायण ओझाको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो ।

आठ सदस्यीय छनोट समितिमा स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापा, समाजसेवी पूर्व प्रशासक नरहरि बराल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला र पत्रकार फडिन्द्र अकिञ्चन हुनुहुन्थ्यो ।

हिमालीआवाजबाट

प्रतिक्रिया दिनुहोस्