४ जेष्ठ २०८१, शुक्रबार

 

शहिद हरि पौडेलको स्मृतिमा निर्माण गरिएको प्रतिक्षालय र सामुदायिक भवनको उद्घाटन

पर्वत । शहिद हरि पौडेल नविन को स्मृतिमा निर्माण गरिएको प्रतिक्षालय र सामुदायिक भवनको उद्घाटन गरिएको छ ।

शहिद हरि पौडेल नविन को २० औं स्मृति दिवसमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रतिक्षालय र सामुदायिक भवनको उद्घाटन गर्नु भएको हो । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल र शहिद हरि पौडेलका आमा मेनुका देवी पौडेलले सामुदायिक भवन आमा समूहलाई हस्तान्तरण गर्नु भएको थियो ।

पाँच लाख रुपैयाँ लागतमा प्रतिक्षालय तथा सामुदायिक भवन निर्माण भएको थियो । शहिद हरि पौडेलको बलिदानले नेपालमा राजनैतिक परिवर्तनको लागि महत्वपूर्ण उर्जा थपेको नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र पर्वतका जिल्ला संयोजक मनरुपा शर्मा, फलेवास नगरपालिकाका उपप्रमुख शोभा कुमारी क्षेत्री, हरि पौडेलका भाई नेपाल सरकारका भौतिक मन्त्रालय लेखा अधिकृत विष्णु शर्मा , नेकपा माओवादी केन्द्र कुश्मा नगरपालिकाका अध्यक्ष शंकर गिरिले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शहिद हरि पौडेलको आमा मेनुका देवी पौडेललाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र फलेवास नगर समिति वडा नं १ का सभापति पिताम्बर विकको अध्यक्षता, वडा समितिका सदस्य प्रदिप पौडेलको स्वागत र नेकपा माओवादी केन्द्र फलेवास नगर समितिका उपाध्यक्ष कमल भुषालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्