१५ बैशाख २०८१, शनिबार

 

‘लम्पसारवादी’लाई क्यास्ट्रोको शिक्षाः साना देशको स्वाभिमान सम्भव छ !

काठमाडौं । नेपालमा टी शर्टदेखि माइक्रोबससम्म क्युवाली क्रान्तिकारी चे ग्वेभाराका तस्वीर र स्टिकरहरु देख्न पाइन्छ । तिनै दाह्रीवाल क्रान्तिकारी चेका साथी थिए फिडेल क्यास्ट्रो, जसको शुक्रबार राति ९० वर्षको उमेरमा निधन भयो ।

क्युवाका चर्चित पूर्वराष्ट्रपति क्यास्ट्रोले चेग्वेभारासँग मिलेर गुरिल्लायुद्धमार्फत क्युवामा सन् १९५९ मा सत्ता कब्जा गरेका थिए ।

सत्ता कब्जापछि स्वास्थ्यमन्त्री बनेका क्युवाली क्रान्तिका करिस्म्याटिक नायक चेले केही वर्ष नबित्दै सत्ता त्यागे । र, उनी दक्षिण अमेरिकालाई ‘अमेरिकी साम्राज्य’वादबाट मुक्त पार्ने भन्दै बोलिभियामा गुरिल्ला युद्ध गर्न गए ।

अर्जेन्टिनामा जन्मेर क्युबामा क्रान्ति सफल पारेका चे ३९ वर्षको उमेरमा सन् १९६७ अक्टोबर ९ का दिन बोलिभियाको जंगलमा मारिए । तर, उनी संसारभरिका युवाहरुका माझ बाँचिरहेका छन् ।

उनै चे ग्वेभाराका साथी फिडेल क्यास्ट्रो भने ९० वर्षको उमेरसम्म जिवितै रहे । र, उनले जीवनभर पुँजीवादी मुलुक अमेरिकाको शत्रु एवं समाजवादी कम्युनिष्टहरुको मित्रका रुपमा आफूलाई उभ्याए ।

क्युवा संयुक्त राज्य अमेरिकाको नाकै मुनि रहेको देश भएता पनि उसले अमेरिकासामु कहिल्यै झुकेन र राष्ट्रिय स्वाभामिानको पाठ विश्वका उत्पीडित राष्ट्रहरुलाई सिकायो ।

क्याष्ट्रो पुजीवादीहरुका विरुद्धमा सतिसालजस्तै बनेर उभिए । र, विश्वभरिका समाजवादीहरुका लागि आदर्श पात्र बने ।

को हुन् क्यास्ट्रो ?

क्यास्ट्रोको जन्म सन् १९२६ मा क्युवाको ओरिएन्टे प्रान्तमा एक धनी किसान परिवारमा भएको थियो । उनको पूरा नाम फिडेल अलजिन्द्रा क्यास्तो रुज हो ।

उनकी आमा विवाह हुनुपूर्व क्यास्ट्रोका पिताकी सेविका थिइन् । क्यास्ट्रो जन्मिएपछि उनका आमा बुबाले बिहे गरेका थिए ।

सन् १९५३ मा उनी सरकार विरोधी असफल विद्रोहका कारण जेल परे । दुईवर्षपछि जेलबाट छुटेर उनले गुरिल्ला अभियान सुरु गरे । त्यसको एकवर्षपछि चेग्वेभाराले पनि गुरिल्ला युद्ध छेडे ।

सन् १९५९ मा क्यास्ट्रोले बाटिस्टालाई ढालेर प्रधानमन्त्रीको सपथ लिए । सन् १९६२ मा तत्कालीन सोभियत संघलाई क्युवामा मिसायल हतियार राख्ने अनुमति क्युवा सरकारले दियो । सन् १९७६ मा नेशनल एसेम्बलीले क्याष्ट्रोलाई राष्ट्रपति चुन्यो ।

सन् १९९२ मा शरणार्थी सम्बन्धमा अमेरिका र क्युबावीच सम्झौता भयो । सन् २००८ मा स्वास्थ्य खराब भएपछि क्याष्ट्रोले राष्ट्रपति पद छाडे ।

क्यास्ट्रोले करिब ५० वर्ष क्युबामा एकछत्र राज गरे । त्यहाँ उनलाई चुनौती दिने कुनै दोस्रो पार्टी थिएन ।

संसारभरि कम्युनिष्ट सत्ताहरु ढल्दा पनि क्यास्ट्रोले लाल झण्डा झुक्न दिएनन् र अमेरिकालाई चुनौती दिइरहे । क्युवाली जनता यो मान्दछन् कि क्याष्ट्रोले क्युवालीहरुलाई सैनिक शासनबाट मुक्त गरेर स्वतन्त्रता प्रदान गरे ।

तथापि पुँजीवादी विचारक एवं क्यास्ट्रोका आलोचकहरुको आरोप छ कि उनले क्युवामा विपक्षीलाई बलपूर्वक दबाए र क्युबाको अर्थ व्यवस्थालाई अपाङ्ग बनाए ।

कानूनका विद्यार्थी

क्यास्ट्रोले सान्टियागोस्थित क्याथोलिक स्कुलबाट विद्यालयस्तरको पढाइ पूरा गरे । त्यसपछि उच्च शिक्षाका लागि उनी हवाना गए ।

हवाना विश्वविद्यालयमा कानून पढ्दै गर्दा उनी राजनीतिक कार्यकर्ता बने । त्यहीबेला उनले सार्वजनिक भाषणमा आफ्नो पहिचान बनाए । मानिसहरु उनको भाषण सुन्न मन पराउँथे ।

क्यास्ट्रोले भ्रष्टाचारी सरकारको विरोध गर्न थालेपछि सरकारले उनीमाथि निगरानी बढायो । त्यसबेला क्युबामा सरकारविरोधी सडक प्रदर्शनहरु भइरहेका थिए ।
क्यास्ट्रो डोमेनिकट गणतन्त्रका दक्षिणपन्थी शासकहरुको विपक्षमा थिए । उनले दक्षिणपन्थी नेता राफेलको सत्ता पलट गर्ने प्रयास गरे । तर, अमेरिकी हस्तक्षेपका कारण त्यो असफल भयो ।

सन् १९४८ मा क्यास्ट्रोले एक धनी नेताकी छोरी मिर्ता डियाज बालार्टसँग विवाह गरे । त्यसबेला यो चर्चा चलेको थियो कि बिहेपछि क्यास्ट्रो कुलीन वर्गका प्रतिनिधि बने । तर, यसको विपरीत बिहेपछि क्यास्ट्रो झनै खरो मार्क्सवादी बने ।

क्यास्ट्रोको मान्यता थियो कि देशको दुरावस्थाको एउटैमात्र कारण बेलगाम पुँजीवाद हो । र, यसको समाधान जनक्रान्तिबाट मात्र सम्भव छ ।

कानूनको पढाइ सकेपछि क्यास्ट्रोले वकालती पेशा गर्ने प्रयास गरे । तर, उनी यसमा सफल भएनन् । उनको काँधमा जनताको जिम्मेवारी र आशा बढ्न थालिसकेको थियो । यसक्रममा उनी राजनीतिमै सक्रिय बने । र, हिंसात्मक प्रदर्शनहरुमा सरिक हुन थाले ।

सैन्य विद्रोह र बाटिस्टाको उदय

क्युबामा सन् १९५२ मा फुलन्केसियो बाटिस्टाले सैन्यविद्रोहमार्फत् सत्ता कब्जा गर्‍यो र राष्ट्रपति कार्लोस प्रियोले शासन छाड्नुपर्‍यो ।

बाटिस्टाको अमेरिकासँग साँठगाँठ थियो । उनले समाजवादी पार्टीहरुमाथि दमन गर्न थाले । यो परिस्थिति क्याष्ट्रोको राजनीतिक मान्यता विपरीत थियो । क्यास्ट्रोले ‘द मुभमेन्ट’ नामक संगठन बनाएर बाटिस्टा सरकार ढाल्नका लागि भूमिगत भएर काम गर्न थाले ।

यही क्रममा क्यास्ट्रोले सान्टियागो नजिकै मोकान्डाको सैनिक ब्यारेकमाथि हमला गरे । यो विद्रोहको उद्देश्य हतियार कब्जा गर्ने थियो । तर, यो योजना विफल भयो र केही क्रान्तिकारीहरु मारिए ।

क्यास्ट्रोलाई १५ वर्षको जेल सजायँ सुनाइएको थियो, तर, १९ महिनामै जेलमुक्त भए । जेल परेपछि क्यास्ट्रोले श्रीमतीसँग छोडपत्र गरे । र, उनी मार्क्सवादी साहित्यको अध्ययनमा लिप्त भए ।

क्यास्ट्रो जेलबाट छुटे पनि बाटिस्टा सरकारले क्रान्तिकारीहरुलाई दमन गरिरहेकै थियो । त्यसैले क्यास्ट्रो क्युबा छाडेर मेक्सिकोतिर लागे । मेक्सिकोमै उनीसँग महान क्रान्तिकारी चे ग्वेभाराको भेट भयो ।

सन् १९५६ मा क्यास्ट्रो र चे ग्वेभारा ८१ जना सशस्त्र साथीहरु लिएर क्युवा छिरे । त्यसको तीन वर्षपछि सन् १९५९ मा सशस्त्र क्रान्तिको माध्यमबाट बाटिस्टाको सैनिक सरकार ढालेर उनीहरुले क्युवामा समाजवादी सत्ता स्थापना गरे ।

५० वर्षे शासन

नयाँ सरकारले गरीव जनतालाई जग्गा दिने र गरीबको अधिकारको रक्षा गर्ने प्रतिवद्धता जनायो ।

तर, सरकारले चाँडै नै एकदलीय व्यवस्था लागू गर्‍यो । दलमाथि प्रतिबन्ध लगाएर कैयौंलाई जेल हालियो, कैयौंलाई श्रम शिविरमा पठाइयो । मध्यमवर्गका हजारौं क्युवालीहरु निर्वासित भए ।

क्यास्ट्रोले आफ्नो भाषणमा बारम्बार आग्रह गर्थे कि देशमा साम्यावाद वा मार्क्सवाद होइन, यस्तो लोकतन्त्र छ कि जसमा सबैलाई स्वतन्त्रता प्राप्त छ ।

सन् १९६० मा क्यास्ट्रोले क्युवामा अमेरिकी स्वामित्वमा रहेका सबै व्यवसायलाई राष्ट्रियकरण गरे । जवाफमा वाशिंटनले क्युवामाथि व्यापारिक प्रतिबन्ध लगायो ।

तत्कालीन सोभियत संघ र अमेरिकावीच चर्केको शीतयुद्धका बेला क्युवा शीतयुद्धको मैदानजस्तै बन्यो ।

अमेरिकाको छेवैमा रहेको क्युवाले सोभियत संघलाई समर्थन गर्‍यो । त्यसबेला अमेरिकाले क्यास्ट्रोको सत्ता ढाल्नका लागि केही कैदीहरुसँग मिलेर सेनासमेत बनाउन थालेको थियो ।

यसैवीच सीआइएले क्यास्ट्रोको हत्या गर्ने योजना बनायो, जुन योजना वीचैमा ‘लिक’ भयो । र, सफल हुन पाएन ।

क्यास्ट्रोले आफ्नो देशमा आर्थिक स्थिति कमजोर भइरहेकै अवस्थामा अफ्रिकी देश अंगोला र मोजाम्बिकमा त्यहाँका माक्सवादी छापामार लडाकूहरुलाई सहयोग गरे ।

तर, सन् १९८० को मध्यतिर आइपुग्दा विश्व राजनीतिमा परिवर्तन आयो र क्यास्ट्रोको योजना आत्मघाती बन्न पुग्यो । मस्कोले पनि क्याष्ट्रोलाई चाहिएजति सहयोग गर्न सकेन ।

सन् १९९० को मध्यसम्म आइपुग्दा क्युवाको घरेलु स्थितिमा धेरै परिवर्तनहरु आए । देशमा स्वास्थ्य क्षेत्र निशुल्क भयो । शिशु मृत्युदर घटेर विकसित देशको हाराहारीमा पुग्यो ।

विस्तारै क्यास्ट्रो विनम्र हुन पुगे । विश्व राजनीतिक परिवेश पनि बदलिइसकेको थियो । उसलाई सहयोग गर्ने पूर्वसोभियत संघ टुक्रिइसकेको थियो ।

सन् २००८ मा क्यास्ट्रोले स्वास्थ्यका कारण राष्ट्रपति पद त्यागे । र, सो पदमा उनका भाइ राहुल क्यास्ट्रो आसीन भए । राहुल पनि बंशानुगत नभएर क्रान्तिकारी राजनीतिक पृष्ठभूमिबाटै राजनीतिमा आएका हुन् ।

क्यास्ट्रोले भारतसँग राम्रो सम्बन्ध बनाएका थिए । सन् १९८३ मा असंलग्न राष्ट्रहरुको सम्मेलनमा क्याष्ट्रोले भारतीय प्रधानमन्त्री इन्दिरागान्धीसँग अंकमाल गरेको प्रशंग विश्वमा निकै चर्चित बनेको थियो ।

गान्धीले हात मिलाउन खोजेकी थिइन्, तर क्याष्ट्रोले उनलाई अँगालोमा बेरेका थिए ।

केही महिनाअघि मात्रै अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युवाको भ्रमण गरेर ५० वर्ष पुरानो अमेरिका क्युवा सम्बन्धमा नयाँ तरंगको सृष्टि गरिसकेका छन् ।

र, यी महान् राष्ट्रवादी क्रान्तिकारी नेताको निधनसँगै क्युवाको राजनीति सम्भवतः अब नयाँ अध्यायतर्फ अघि बढ्ने छ ।

तर, क्याष्ट्रो र चेले दिएको सन्देश यो हो कि शक्तिराष्ट्रको नाकैमुनि रहेका साना देशहरुको पनि मुक्ति सम्भव छ । राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता सम्भव छ । खाँचो एउटैमात्र छ, नेताहरु ‘लम्पसारवादी’ बनिदिनुभएन ।

अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस्