२२ बैशाख २०८१, शनिबार

 

कालिका साप्ताहिक १६ औं वर्षमा प्रवेश

बागलुङ । उत्तरगंगा पब्लिकेसन प्रालिद्वारा प्रकाशित कालिका साप्ताहिक पत्रिका प्रकाशनका १५ औं वर्ष पुगेर १६ वर्षमा लागेको छ ।

१५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा पत्रिकाले प्रकाशित गरेको वैभवशाली बागलुङ नामक विशेषांक पत्रिकाको विमोचन गरिएको छ ।

१५ औं वार्षिकोत्सवको अवसरमा बागलुङका १० स्थानीय तहका गतिविविध सहितको कालिका साप्ताहिकको विशेषाङ्क २२ पृष्ठ र बागलुङका धार्मिक तथा पर्यटकीय स्थल, कला संस्कृति, प्रेरणादायी व्यक्ति, कला साहित्य र अर्थतन्त्रलाई समेटेर ६४ पृष्ठको विशेष पत्रिका प्रकाशन गरिएको छ ।

वैभवशाली बागलुङ नाम राखिएको उक्त म्यागेजिनको विमोचन तथा कालिका साप्ताहिक पत्रिकाको उद्घाटन बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले गरे ।

उद्घाटन एवं विमोचनपछि बोल्दै नगरप्रमुख श्रेष्ठले पत्रकारिताले सकारात्मक उर्जा प्रवाह गर्नुपर्ने र कालिका साप्ताहिकले त्यो प्रयास गरेको बताए ।

‘पत्रकारिताले सम्भावनाको उजागर गर्नुपर्छ र सकारात्मक सन्देश दिएर उत्प्रेरित पनि गर्नुपर्छ,’उनले भने,‘आजको दिनमा तपाईहरुले प्रकाशन गरेको सामग्रीले साँच्चिकै उत्प्रेरणा दिएका दिएको छ ।

वैभवशाली बागलुङले बागलुङको वैभवहरुको उजार गरेको छ । अन्यत्रबाट आउने पाहुनाहरुलाई बागलुङको बारेमा जानकारी दिनका लागि यो वैभवशाली बागलुङ उपहार दिन मिल्ने भएको छ ।’

उनले जनप्रतिनिधिले गलत काम गर्दा झकझक्याउने र राम्रो काम गर्दा त्यसलाई नागरिक समक्ष पु¥याउने काम पत्रकारिताले गर्नुपर्ने बताए ।

‘पत्रकारिता राज्यको चौथो अंग, यसको भूमिका निकै महत्वपूर्ण छ,’उनले भने,‘हामीले गलत गर्दा सच्याउने वातावरण बनाउने र राम्रो काम गर्दा त्यसको प्रचार प्रसार गरेर नागरिक समक्ष पु¥याउने काम पनि पत्रकारले गर्नुपर्छ ।’

उनले पत्रकार र सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धनमा बागलुङ नगरपालिका सधैं साथमा रहेको उल्लेख गरे । कार्यक्रममा गलकोट नगररपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले कुनै बेला आफू पनि पत्रकारितामा आवद्ध भएको हुँदा पत्रकारिताप्रति आफ्नो गहिरो सद्भाव रहेको बताए ।

‘कुनै बेला पनि यहाँबाट कान्तिपुरका लागि समाचार लेखेको थिए पत्रकारको मर्म मैले पनि बुझ्छु,’उनले भने,‘पत्रकारिता पनि मेरो सद्भाव र सहयोग सधैं रहन्छ ।’

उनले स्थानीय सरकारले गरेका सकारात्मक अभ्यासहरुलाई उजागर गरेर बढ्दो निरासा मेटाउन पत्रकारिताले सहयोग गर्नुपर्ने बताए ।

‘जनतामा निरासा बढेको छ, केही पनि भएन भन्ने नकारात्मक कुरा मात्रै धेरै भएका छन्,’उनले भने,‘जनतामा आशा र भरोसा जगाउने काम सञ्चारमाध्यमले गर्नुपर्छ ।’

बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले अन्तको तुलनामा बागलुङको पत्रकारिताले सकारात्मक पक्षमा बढि कलम चलाएको बताईन् ।

‘कतिपय गलत तरिकाले पत्रकारिता गर्नेहरु पनि छन्, तर बागलुङमा बसेर पत्रकारिता गर्ने साथीहरुले सधैं सकारात्मक पक्षलाई उजागर गर्ने र गलत कुरालाई सचेत बनाउने गरि कलम चलाएको पाउँछु,’उनले भनिन्,‘पत्रकारिता क्षेत्रलाई नै बदनाम गर्ने पनि कतिपय पात्रहरु छन् । उनीहरुलाई पत्रकार महासंघले पनि सेचत गराउन जरुरी छ ।’

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बागलुङमा अथाह सम्भावनाहरु भएको भन्दै त्यस प्रकारका सम्भावनाको उजागर गर्नका लागि पत्रकारिता क्षेत्रले कलम निरन्तर चलाउनुपर्ने बताए ।

‘हामीसँग लेख्न बाँकी रहेका कैयन कुराहरु छन्, यही केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने प्रेरणा दायक व्यक्तित्वहरुको बारेमा धेरै लेख्नपर्ने छन्,’उनले भने,‘वैभवशाली बागलुङले एउटा राम्रो सुरुवात गरेको छ । यसलाई आगामी दिनमा अझै निरन्तरता दिएर अगाडि बढनुपर्छ ।’

कार्यक्रमा राजनीतिक दलहरुको तर्फबाट प्रतिनिधित्व गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना, जिल्लाबाट प्रकाशित प्रसारित सञ्चार माध्यमहरुको तर्फबाट धौलागिरि जागरण दैनिक पत्रिकाका सम्पादक रामबहादुर जिसीले मोफसलको पत्रकारिताले झेलिरहेको समस्या र स्थानीय सरकारले खेल्नुपर्ने भूमिका बारे बोलेका थिए । वार्षिकोत्सवको अवसरमा कालिका साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक गणेशप्रसाद शर्मालाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा पत्रिकाका कार्यकारी सम्पादक संगम घर्तीमगर, प्रवन्धक नवराज परियार, प्रेस अपरेटर राजेन्द्र रिजाल, पूर्व कर्मचारी कृष्ण माझी, शोभा भुलेललाई सम्मान गरिएको थियो ।

विज्ञापनदाताको तर्फबाट चिल्ड्रन लाईफ इङ्लिस बोर्डिङ स्कुललाई पनि सम्मान गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा प्रकाशित गरिएको विशेष म्यागेजिन वैभवशाली बागलुङ प्रकाशनमा महत्वपूर्ण सहयोग पु¥याउने पत्रकारहरु दिल शिरीष, राम थापा ‘अविरल’, प्रकाश बराल, विजय राना, तारानाथ आचार्य, सिर्जना पन्त, खेमराज गौतम सुवास, डम्मर बुढामगर, अर्जुन कार्की र नारायण रिजाललाई पनि सम्मान गरिएको थियो ।

उत्तरगंगा पव्लिकेसन प्रा।लि। बागलुङका अध्यक्ष श्रीधर कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यकारी सम्पादक संगम घर्तीमगर र सञ्चालन कालिका साप्ताहिक पत्रिकाका सम्पादक नरेश कँडेलले गरेका थिए ।

१५ औं वार्षिकोत्सवको अवसरमा पत्रिकाले आगामी दिनमा नागरिक आवाज बुलन्द गर्दै प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा निरन्तर वकालत गर्ने प्रण गरेको छ ।

विशेषाङ्कको रुपमा प्रकाशित वैभवशाली बागलुङमा बागलुङका धार्मिक र पर्यटकीय क्षेत्र, कला संस्कृति, साहित्य, संगित तथा प्रेरक व्यक्तित्वको जीवनी लेखिएको विशेषाङ्कका सम्पादक संगम घर्तीमगरले बताए ।

आर्दशसंचारबाट

 

 

प्रतिक्रिया दिनुहोस्