१७ बैशाख २०८१, सोमबार

 

न्यू एभरेष्ट एकेडेमी फुटसल कपको उपाधि आदर्श विद्यामन्दिर माविलाई

बागलुङ । न्यू एभरेष्ट एकेडेमी फुटसल प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले हात पारेको छ ।

आदर्श विद्यामन्दिर माविले शनिबार भएको फाइनल खेलमा सिद्धार्थ शिक्षा सदनलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

न्यू एभरेष्ट एकेडेमी बागलुङको वार्षिकोत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा आधारभूत तह (कक्षा ७ सम्म) विद्यालयस्तरीय फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा १४ विद्यालयका १७ टिमको सहभागिता थियो ।

रस आवर फुटसल गुठीको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा विजेता आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले १२ हजार ७ सय ७७ रुपैयाँ र उपविजेता सिद्धार्थ शिक्षा सदनले ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको न्यू एभरेष्ट एकेडेमीका खेल प्रशिक्षक रोशन लामिछानेले जानकारी दिनुभयो।

प्रतियोगितामा फ्युचर ब्राईटरका विद्यार्थी शिव थापा सर्वोत्कृष्ट खेलाडी र आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यार्थी अभिषेक बोहोरा उत्कृष्ट गोलरक्षक बनेका छन् ।

वार्षिकोत्सवको उपलक्ष्यमा नृत्य प्रतियोगिता र अन्तर माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले बताउनु भयो । वार्षिकोत्सवको मूल समारोह माघ ५ गते हुने भएको छ ।

कार्यक्रम न्यू एभरेष्ट एकेडेमीका प्रधानध्यापक कृष्ण अधिकारीको अध्यक्षता र शिक्षक भुमिराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्